काठमाडौँ– महिला पत्रकारहरूले आफ्नो व्यवसायिक क्षेत्रमा विभिन्न प्रकारका साइबर हिंसा भएको बताएका छन्। सोमबार काठमाडौँमा सञ्चारिका समुहले आयोजना गरेको ‘पत्रकार महिलाका लागि अनलाइन सुरक्षा निर्देशिका’सम्बन्धी अन्तर्क्रियामा सहभागीहरूले यस्तो बताएका हुन्।
आफूहरूमाथि विभिन्न माध्यमबाट अनलाइन हिंसा हुने गरेकोले साइबर सुरक्षासम्बन्धी सशक्त कानुन आवश्यक भएको उनीहरूको भनाइ छ। सामाजिक सञ्जालका विभिन्न माध्यममध्ये फेसबुक र फेसबुक म्यासेन्जरबाट सबैभन्दा बढी हिंसा हुने गरेको सहभागीहरूले जनाएका छन्।
यस्ता प्रकारका हिंसाबाट जोगिन साइबर अपराधविरुद्धको छुट्टै कानुन र महिला पत्रकारहरूका लागि विशेष निर्देशिका आवश्यक रहेको उनीहरूको धारणा छ।
कार्यक्रममा मानव अधिकार आयोगका सदस्य मनोज दवाडीले समाज रूपान्तरण गर्ने पत्रकारले भयरहित वातावरणमा काम गर्न पाउनुपर्नेमा जोड दिए। पत्रकारमाथि हुने कुनै पनि प्रकारको हिंसा व्यक्तिगत नभएर समाजकै एजेन्डा भएको उनले बताए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले महिलामाथि हुने साइबर हिंसा न्युनीकरण गर्न गहन अनुसन्धानमा आधारित निर्देशिकाको खाँचो औंल्याए।
विभिन्न संघ संस्थामा तयार रहेका सुरक्षा निर्देशिकाका आधारलाई हेरेर निर्देशिका बनाउने उनले प्रतिबद्धतासमेत व्यक्त गरे।
यस्तै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले हिंसामा परेका कारण पत्रकारले दिने कामको गुणस्तरमा असर परेको, जिम्मेवारी हेरफेर हुने गरेको, सहकर्मी र साथीभाइले आफूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको, जागिर नै छोड्नु परेको र त्यसको असर दीर्घकालीन हुने गरेको बताइन्।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले फरक-फरक निर्देशिका बनाउँदै थन्क्याएर मात्र नहुने भन्दै मूल निर्देशिका कार्यान्वयनमा जोड दिनुपर्ने स्पष्ट पारे।
यस्तै पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्भयका साथ पत्रकारिता गर्न राज्यले भरपुर सुरक्षा प्रत्याभूत गर्नेमा आफू विश्वस्त रहेको बताए। पोखरेलले महिला पत्रकारमाथि हुने यस्ता हिंसालाई निरुत्साहित गर्न नीतिगत सुधार, स्पष्ट कानुनी व्यवस्था र सम्मुन्नत निर्देशिका आवश्यक रहेको उल्लेख गरे।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्र कुबेर खापुङले निर्देशकामा अनलाइन सुरक्षाका लागि कानुनी कारबाहीलाई कडा बनाउनु पर्ने र विशेष किसिमको सजाय उल्लेख हुनुपर्ने बताए।
समुहकी निवर्तमान अध्यक्ष नितु पण्डितले प्रविधिले दिएको सुविधा उपयोग गर्दा अनावश्यक विषयहरूको प्रयोगले महिला पत्रकारले डिजिटल हिंसा भोग्नु परेको भनाइ राखिन्।
डिजिटल साक्षरता र व्यावसायिक पत्रकारिताको अभावका कारण महिलामाथि यस्तो प्रकारको हिंसा बढेको उनले बताइन्।
पत्रकार अनिता गुरुङले निर्देशिका तयार गरेर कार्यान्वयनको पाटोमा विशेष जोड दिनुपर्ने धारणा राखिन्।
छलफलमा सहभागिहरूले अनलाइन हिंसाको उजुरी गर्नका लागि सजिलो प्रक्रिया हुनुपर्ने, दर्ता गर्ने निकायमा रहेका प्रहरी र अन्य कर्मचारीको क्षमता बढाउनुपर्ने, कार्यस्थलमा यस्ता प्रकारका हिंसा रोक्न गुनासो सुनुवाइ संयन्त्र स्थापना र फोकल पर्सन तोक्नुपर्नेलगायतका सुझाव दिएका छन्।