चितवनमा सुस्तायो पर्यटन व्यवसाय

हिमाल प्रेस १८ मंसिर २०७९ १५:५१
14
SHARES
चितवनमा सुस्तायो पर्यटन व्यवसाय फाइल तस्बिर।

चितवन– चितवन चितवन राष्ट्रिय निकुञ्जकम पर्यटन व्यवसाय सुस्ताउँदै गएको छ। निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जंगल सफारीबाहेकका थप पर्यटकीय गतिविधि बढाउन नसक्दा यहाँ आउने पर्यटकको संख्यामा कमी आएको हो।

एकपटक जंगल सफारी गर्नेलाई दोस्रो पटक आउँदा नयाँपन दिनसक्ने गरी नयाँ ‘प्रडक्ट’ दिन नसक्दा यहाँको पर्यटन गतिविधि चलायमान हुन नसकेको हो।

राप्ती नदी किनारमा ठूला होटल सञ्चालनमा आए पनि पर्यटक भित्र्याउनका लागि कुनै योजना नहुँदा यहाँको पर्यटन व्यवसाय खस्कँदो अवस्थामा पुगेको व्यवसायीको भनाइ छ।

अस्वस्थ प्रतिस्पर्धा, प्रचारप्रसारमा कमी, पर्यटन पूर्वाधारमा लगानी नहुनु, स्थानीय तहसँगको कमजोर समन्वय, महँगो शुल्क, कमजोर आतिथ्यतालगायतका कारण पर्यटक आकर्षित गर्न नसकिएको पर्यटन व्यवसायीको तर्क छ।

चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका ठूला होटल बन्द भएपछि अन्तर्राष्ट्रिय जगतमा यहाँको प्रचार हुन नसक्दा पनि पर्यटन आगमनमा प्रभाव परेको हो।

चितवनलाई मुलुकको तेस्रो पर्यटकीय गन्तव्य भनिए पनि काठमाडौँ, पोखरा, लुम्बिनीका साथै हिमाली पर्यटकीय गन्तव्यको तुलनामा निकै न्यून पर्यटकमात्रै यहाँ आउने गरेको तथ्यांकले देखाएको छ।

विषेशगरी चितवन राष्ट्रिय निकुञ्ज, सौराहा, पटिहानी र मघौली गोलाघाटमा पर्यटक आउने गर्दछन्। काठमाडौँबाट पोखराभन्दा नजिकको दूरीमा रहेको चितवनमा पर्यटक खासै आकर्षित बनेको पाइँदैन।

चितवन राष्ट्रिय निकुञ्ज र त्यस वरपरका मध्यवर्ती क्षेत्रमा हात्तीसफारी, जिप सफारीका माध्यमबाट विश्वकै दुर्लभ एकसिंगे गैँडा, बाघ, जरायो मृग, चित्तल, कालिज, मयूरलगायत वन्यजन्तु, चराचुरुंगी, सरिसृप, जलचर हेर्नका लागि पर्यटक यहाँ आउने गरेका छन्।

पर्यटन विज्ञ डा. विश्वसुवेदीले संगठित रूपमा पर्यटन प्रवर्द्धनका लागि काम गर्न नसकिएको बताए।

‘यहाँका सरोकारवाला संगठित भएर अभियान सञ्चालन गर्न सकिएन.’ उनले भने, ‘एकापसमा समन्वय नहुनु पालिकाले पनि पर्यटनलाई प्राथमिकतामा राखेर नगर्दा पर्यटकको संख्यामा कमी आएको हो।’

पर्यटन गतिविधि परम्परागत मात्रै भएको, नयाँ पर्यटकीय क्रियाकलाप हुन नसकेको भन्दै उनले कुनै प्याकेज नहुँदा समस्या भएको बताए।

क्षेत्रीय होटल संघ सौराहाका पूर्वध्यक्ष सुमन घिमिरे पर्यटकका लागि विविधता दिन नसकेको स्वीकार गर्छन्। जंगलसँग सम्बन्धितबाहेक अन्य गतिविधि दिन नसक्दा व्यवसाय उठ्न नसकेको उनको भनाइ छ।

प्रकाशित: १८ मंसिर २०७९ १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =