गठबन्धनको साझा उम्मेदवार बनेर पनि हार बेहोर्ने यी हुन् कांग्रेसका चार सहमहामन्त्री

हिमाल प्रेस १८ मंसिर २०७९ १५:०६
942
SHARES
गठबन्धनको साझा उम्मेदवार बनेर पनि हार बेहोर्ने यी हुन् कांग्रेसका चार सहमहामन्त्री

काठमाडौँ- मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका ११ पदाधिकारी प्रत्यक्षतर्फ चुनावी मैदानमा थिए भने दुई जना समानुपातिकको बन्दसूचीमा। अहिलेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये १६४ क्षेत्रको मतपरिणाम पनि सार्वजनिक भइसकेको छ। कांग्रेसले सत्ता गठबन्धनको साझा उम्मेदवार बनाएर ९१ ठाउँमा आफ्ना उम्मेदवार उठाएको थियो। चुनावमा होमिएका कांग्रेसका पदाधिकारी पनि गठबन्धनको साझा उम्मेदवार बनेका थिए। तर चुनावी मैदानमा गएका ११ मध्ये ४ जनाले हार बेहोरे। यसपटक कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको थियो।

सभापति शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचित भए। पार्टी उपसभापतिद्वय पूर्णबहादुर खड्का सुर्खेत १ र धनराज गुरुङ स्याङ्जा २ बाट निर्वाचित भए। त्यस्तै महामन्त्रीद्वय गगनकुमार थापा काठमाडौँ ४  र विश्वप्रकाश शर्मा झापा १ बाट निर्वाचित भए। चुनावमा होमिएका कांग्रेसका ८ सहमहामन्त्रीमध्ये ६ जना प्रत्यक्षतर्फको उम्मेदवार थिए। तर दुई जनाले मात्रै चुनाव जिते।

सहमहामन्त्रीहरू बाँके ३ बाट किशोरसिंह राठोर, बाजुराबाट बद्री पाण्डेले नेकपा एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरसहित चुनाव जिते। पाँचथर १ बाट उम्मेदवार बनेका सहमहामन्त्री भीष्मराज आङ्देम्बे पराजित भए। उनलाई एमालेका उम्मेदवार वसन्तकुमार नेम्बाङले पराजित गरे। मकवानपुर १ बाट उम्मेदवार बनेकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहसँग पराजित हुन पुगिन्।

अर्का सहमहामन्त्री उमाकान्त चौधरीले पनि बारा ४ मा हार बेहोरे। उनलाई नेकपा एमालेका अच्युतप्रसाद मैनालीले हराए। धनुषा ४ मा उम्मेदवार रहेका सहमहामन्त्री महेन्द्र यादवले पनि एमाले नेता रघुवीर महासेठसँग हार बेहोरे। कांग्रेसका दुई सहमहामन्त्रीहरू जीवन परियार र फरमुल्लाह मन्सुरको नाम प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्दसूचीमा छ । चुनाव हार्नेहरूले पार्टीभित्रको अन्तर्घात र गठबन्धन दलको भोट ‘ट्रान्सफर’ नभएको बताउँदै आएका छन्।

प्रकाशित: १८ मंसिर २०७९ १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 17 =