कांग्रेस उपसभापति खड्का दौडधुपको राजनीतिक अर्थ

हिमाल प्रेस १८ मंसिर २०७९ १२:३९
3.5k
SHARES
कांग्रेस उपसभापति खड्का दौडधुपको राजनीतिक अर्थ फाइल तस्बिर

काठमाडौँ- कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनका नेताहरूसँगको भेट तीव्र बनाएका छन्। सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जितेर राजधानी फर्किएपछि उनी सक्रिय भएका हुन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बिहीबार भेट गरेका खड्काले शनिबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरे। दुवै नेतासँगको भेटमा खड्काले सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा कुराकानी गरेको उनको सचिवालयले जनाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन दलसँग सत्ता साझेदारका विषयमा छलफल गर्न खड्कालाई खटाएको बताइएको छ। सरकारको नेतृत्व, मन्त्रालयको भागबण्डा, राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख-उपसभामुख, संसद्का विभिन्न समितिका सभापतिलगायतका विषयमा खड्काले गठबन्धनका नेताहरूसँग छलफल गरेका हुन्।

उपसभापति खड्काले शीर्ष नेताहरूको भेटमा निर्वाचनको समीक्षाका साथै वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ। यस्तै सत्ता गठबन्धनमा अन्य दललाई पनि सहभागी गराउने विषयमा छलफल भएको छ।

‘मलाई मेरा बारेमा कुनै चिन्ता छैन। म देश र जनताका लागि सक्रिय हुँदै आएको थिएँ, भइरहेको छु र सकुन्जेल रहिरहनेछु।’

खड्का देउवा ‘किचेन क्याबिनेट’ का चार हस्तीमध्ये एक हुन्। सत्ता साझेदारीका विषयमा अन्य दलसँग वार्ता गर्न देउवाले उनलाई अघि सारेको विषयलाई अर्थपूर्ण मानिएको छ।

देउवा क्याबिनेटका अर्का हस्ती गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाणले चुनाव हारेका छन्। त्यसैले उनी सत्तासाझेदारीका विषयमा जारी छलफलमा सक्रिय छैनन्। अर्का दुई हस्ती ज्ञानेन्द्रबहादुर कार्की र प्रकाशशरण महत अन्य दलसँग कुराकानी गरेर सहमति गर्नुभन्दा पनि देउवा नजिकै रहेर गुटबन्दी बढाउन रुचाउने नेता हुन्। त्यसैले पार्टी उपसभापतिसमेत रहेका खड्कालाई देउवाले अघि सारेका हुन्।

खड्का कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईका अत्यन्त प्रिय पात्र हुन्। उनी कांग्रेसमा विवादमा नपर्ने नेतामध्ये पर्छन्। भट्टराईलाई आदर्श मान्ने उनी पार्टीभित्र निष्ठावान् नेताका रूपमा परिचित छन्। त्यसैले उनी ललितपुरको बाडेगाउँस्थित भट्टराईको आश्रममा पुगिरहन्छन्।

भट्टराई प्रधानमन्त्री भएका बेला खड्काले महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउँथे। भट्टराईको निधनपछि पूर्णबहादुरको निकटता कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्कासँग थियो। त्यसैले उनलाई खुमबहादुरकै कोटाबाट कांग्रेसको केन्द्रीय राजनीतिमा उदाएका नेताका रूपमा लिइन्छ।

यद्यपि पूर्णबहादुरले २०४० को दशकदेखि नै सुर्खेतको पार्टी नेतृत्वमा जिम्मेवारी सम्हालेका थिए। उनी ०७५ मा कांग्रेस महामन्त्रीमा मनोनीत भएका थिए। चौधौँ महाधिवेशनबाट पार्टीको उपसभापतिमा निर्वाचित खड्का देउवाले लिने सबैजसो निर्णयमा मुख्य भूमिकामा रहँदै आएका छन्। त्यसैले खड्का देउवाका रणनीतिक योजनाकार मानिन्छन्। सत्ता गठबन्धनलाई कसिलो बनाउन पनि उनको भूमिका रहँदै आएको छ।

तपाईंलाई पार्टी सभापतिले आफ्नो उत्तराधिकारीका रूपमा अघि बढाउन खोज्नुभएको हो भन्ने जिज्ञासामा खड्का भन्छन्, ‘मलाई अगाडि बढाएको भन्ने कुरा गलत हो। मैले त पार्टीको जिम्मेवार पदाधिकारीको हैसियतले आफ्नो उत्तरदायित्व निर्वाह गरेको हुँ।’

पार्टीको जिम्मेवार तहमा रहेपछि नेतृत्वले दिएको काम गर्नु आफ्नो दायित्व रहेको उनी बताउँछन्। खड्काले कुनै पद पाइएला भनेर सक्रिय नभएको पनि स्पष्ट पारे। उनले हिमालप्रेससँग भने, ‘मलाई मेरा बारेमा कुनै चिन्ता छैन। म देश र जनताका लागि सक्रिय हुँदै आएको थिएँ, भइरहेको छु र सकुन्जेल रहिरहनेछु।’

उनले आफूलाई कुनै पदको लोभलालच नभएको पनि बताए। उनले भने, ‘म अचेल सबैजसो वार्तामा संलग्न छु। कहिले कोसित भेट्छु, कहिले कोसित भेटेको हुन्छु। जे आइलाग्छ, त्यही गर्ने हो।’

गठबन्धन निर्माणको सूत्राधार मानिएका देउवाका कमान्डर खड्काले अब पनि गठबन्धनलाई सुदृढ बनाउने जिम्मेवारी पाएका छन्। देउवा निकट स्रोतका अनुसार देउवा प्रधानमन्त्री भएमा खड्का गृह तथा उपप्रधानमन्त्री बन्ने सम्भावना बलियो छ।

प्रकाशित: १८ मंसिर २०७९ १२:३९

प्रतिक्रिया

One thought on “कांग्रेस उपसभापति खड्का दौडधुपको राजनीतिक अर्थ

  1. युवा नेता गगन थापालाई प्रधानमन्त्री बनाउनु नेपाली कांग्रेसको हित हुने छ सेर बहादुर देउवालाई नै प्रधानमन्त्री बनाउने हो भने नेपाली कांग्रेसको दुर्भाग्य हुने छ जय नेपाल

Leave a Reply to Debilal Upadhyay Cancel reply

Your email address will not be published. Required fields are marked *

10 − 1 =