चितवनका माछा किसानलाई सरकारले अनुदान दिने

हिमाल प्रेस १७ मंसिर २०७९ १६:०९
12
SHARES
चितवनका माछा किसानलाई सरकारले अनुदान दिने

भरतपुर– भरतपुर महानगरपालिकाले व्यावसायिक रूपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ।

आर्थिक वर्ष ०७९/८० को पशु सेवा विकास कार्यक्रम स्वीकृत भएसँगै महानगरले व्यावसायिक मत्स्य फर्मको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको हो।

महानगरले आफ्नो नीति तथा कार्यक्रममा अनुदानले यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको छ।

विद्युत् महसुलमा अनुदानका लागि आवेदन पेस गर्न भरतपुर महानगरपालिकाको वेबसाइट वा कृषि महाशाखामा सम्पर्क गर्न किसानलाई अनुरोध गरिएको महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन शाखा प्रमुख मेघराज ढकालले बताए।

यो कार्यक्रमले मत्स्य कृषकलाई प्रोत्साहन गर्न सहयोग पुर्‍याउने महानगरले अपेक्षा लिइएको उनको भनाइ छ।

अनुदानका लागि किसानले माछापोखरीमा पानी भर्नका लागि प्रयोग भएको विद्युत् मिटरमा उठेको रकम र विद्युत् कार्यालयमा तिरेर रसिद महानगरपालिकामा पेस गर्नुपर्ने हुन्छ।

यस्तै व्यावसायिक फर्म महानगरको वडा कार्यालयमा दर्ता गरेको हुनुपर्ने र मिटर फर्मको नाममा दर्ता गरेको हुनुपर्ने प्रमुख ढकालले जानकारी दिए।

यस्तै फर्म महानगरपालिका अथवा सेवा केन्द्रमा सूचीकरणसमेत गरेको हुनुपर्ने उनले बताए।

महानगरपालिकाका १८, २०, २२, २३, २६ लगायतका वडामा व्यावसायिक माछापालन गरिएको छ।

महानगरपालिकाले माछासँगै र दूधमा पनि अनुदान दिइरहेको छ। दूधमा प्रतिलिटर तीन रुपयाँ अनुदान दिने कार्यक्रम महानगरपालिकाले सञ्चालन गरिरहेको छ।

प्रकाशित: १७ मंसिर २०७९ १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =