देश अब देउवा पुस्ताले चलाउन सक्दैन : डा. अमरेशकुमार सिंह [अन्तर्वार्ता]

हिमाल प्रेस १८ मंसिर २०७९ १०:१०
11.1k
SHARES
देश अब देउवा पुस्ताले चलाउन सक्दैन : डा. अमरेशकुमार सिंह [अन्तर्वार्ता]

डा. अमरेशकुमार सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा सदस्यमा निर्वाचित भएका छन्। यसअघि कांग्रेस क्षेत्रीय अधिवेशनमा पराजित भएका उनलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले टिकट दिएन। त्यसपछि उनी स्वतन्त्र लडेका थिए। कांग्रेसका सर्लाही सभापति एवं गठबन्धनका उम्मेदवारलाई हराएर उनले संसद् यात्रा सुनिश्चित गरेका हुन्। आफूलाई हराउन कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेता विमलेन्द्र निधि नै लागे पनि सफल हुन नसकेको उनी बताउँछन्। वडादेखि नै योजना बनाएर पार्टीमा हराए पनि संसद् छिर्न भने कसैले रोक लगाउनको नसकेको उनी बताउँछन्। हाल भारतमा रहेका सिंहसँग हिमालप्रेसले गरेको संक्षिप्त कुराकानी :

तपाईँ स्वतन्त्र उम्मेदवार भएर निर्वाचित हुनुभयो। एकाथरी भने माओवादी समर्थनमा जितेको भनिरहेका छन्। खास कुरा के हो?

जसलाई जे भन्न पनि छुट छ। चुनावमा मलाई हराउन पार्टी सभापति शेरबहादुर नै लाग्नुभएको थियो। निधि पनि सक्रिय हुनुहुन्थ्यो। उहाँहरू सफल हुनुभएन। किनकि मसँग आममतदाता हुनुहुन्छ। उहाँहरूको सुखदुःखको साथी मै हुँ भन्नेमा स्पष्ट थिएँ। त्यसैले पार्टी नेतृत्वले गरेको गलत निर्णय लत्याएर निर्वाचनमा होमिएँ अनि जितेँ। पार्टी नेतृत्वले मलाई दुःख दिनुसम्म दिएको छ। कांग्रेसको अधिवेशनमा मलाई वडादेखि नै घेराबन्दी गरिएको हो। अनावश्यक सक्रिय सदस्य थपेर मलाई पार्टीभित्र हराइयो पनि। टिकटमा पनि मलाई वञ्चित गरियो। नागरिक आफ्नो पक्षमा भएपछि कसैको केही लाग्दो रहेनछ।

तपाईँले टिकट नपाउनुको कारणचाहिँ के थियो?

पहिलो कुरा त उहाँले गठबन्धन गरेर आफ्नो सिट कम बनाउनुभयो। दोस्रो कुरा गठबन्धन गरेपछि जित्ने स्थानमा आफ्ना मानिसलाई टिकट दिन लाग्नुभयो। हामी त्यसको विरोधमा लाग्यौँ। केही सच्चिए पनि उहाँ पेलेर जान थाल्नुभयो। सोही कारण मलाई टिकट दिन इन्कार गर्नुभयो। म लगातार लागिरहेँ तर सफल भइनँ। अनि म स्वतन्त्र उठेको हुँ।

मेरो मनभित्र कांग्रेस छ। आस्था त कुनै नेताले दिएर दिने वा लिएर लिने होइन। अब म संसद्‌बाट मुलुक र नागरिकका पक्षमा वकालत गर्नेछु। देखेको कुरा बोल्छु। कसैको लम्पट भएर हिँड्नेछैन। बाहिर एउटा भित्र अर्को कुरा गर्नेछैन। नेतृत्वले दोहोरो चरित्र देखाएर मुलुक अहिलेको अवस्थामा पुगेको हो। कांग्रेसले बहुमत ल्याउने मौसम थियो। त्यसमा शेरबहादुरजी चुक्नुभएको छ।

तपाईँले टिकट नपाउनुमा सभापति देउवा नै बाधक हो?

मैले टिकट नपाउनुमा मात्र होइन पार्टी र मुलुकको विकासको बाधक पनि देउवा नै हो। उहाँले अहिलेसम्म के काम गर्नुभयो? नियमित हुनुपर्ने कामसमेत भएको छैन। आमनागरिकमा एमालेले मतको दुरुपयोग गरेको सन्देश थियो। देउवाबाट त्यसलाई क्यास गर्ने काम भएन। केही व्यक्ति माथि उकास्न पार्टीलाई बरबादीतर्फ लैजाने व्यक्ति शेरबहादुर देउवा नै हो। आफू शक्तिमा बस्न पाएपछि मुलुकलाई जेजस्तो असर परे पनि परोस् भनेर हिँड्ने व्यक्ति हो उहाँ।

हामी सबै मिलेर यस्ताको खबरदारी गर्नैपर्छ। मिलेर जाँदा केके गर्न सकिन्छ अनुमान गनुहोस् न। हामीले सबै क्षेत्रमा आफ्नो उमेदवारी दिएर, सहकार्य गर्न सकेको भए के हुन्थ्यो र? कति सिटमा हामी पुग्थ्यौँ। मिलाएर लगेको भए देशभर कांग्रेसको लहर आउने थियो। अहिले किन हामीलाई समानुपातिकमा घाटा लाग्यो भन्ने विश्लेषण हुनुपर्दैन? हामी कहाँ कमजोर थियौँ र? अहिलेको नेतृत्वबाट दल चल्दैन, मुलुक त परको कुरा। कांग्रेस भएर आफ्नो तरिकाले चलेको मात्र हो। अन्यथा निकै गाह्रो थियो।

अघिल्लो निर्वाचनमा खुम्चेको पार्टीलाई यहाँसम्म त ल्याउनुभयो नि देउवाले, होइन?

त्यस्तो कहाँ हुन्छ? अघिल्लो निर्वाचनमा पनि उहाँले आफू केन्द्रित हुँदा पार्टीलाई खुम्च्याएकै हो। त्यसमा कुनै शंका छैन। अहिले पनि उहाँकै कारणले कांग्रेसका पक्षमा मत आएको होइन। सबैको मेहनत र कम्युनिस्टमा पनि एमालेको कार्यशैलीले नागरिक वाक्क भएर कांग्रेस रोजेका हुन्। अहिले अर्को फोर्स नआएको भए कांग्रेसलाई गाह्रो हुने थियो। समानुपातिकमा अझै कांग्रेस पछाडि छ। कांग्रेसका अन्य नेता र युवाको मुहार हेरेर लहर आएको हो। सभापति हेरेर आउने भए उहाँले पहिले नै गर्नुहुन्थ्यो।

देउवाबाट पार्टीलाई बेहाल अवस्थामा पुर्‍याउने काम भएको छ। समानुपातिकमा राखेको सूचीबाट आमनागरिकमा के सन्देश गएको होला भनेर सोच्नुपर्दैन सभापतिले? तर उहाँले सुधार्नै जान्नु भएन। उहाँमा म नेता हुँ। मैले गरेको सोह्रैआना ठिक हुन्छ भन्ने दम्भ छ।

तपाईँ अब कांग्रेसलाई सहयोग गरेर अघि बढ्नुहुन्छ कि?

म अन्यायमा परेकाले नागरिकमाझ न्याय माग्न गएको थिएँ। न्याय मिलेको छ। मैले आममतदाताको मन जितेर आएको छु। मैले मेरो क्षेत्रमा निकै काम गरेको छु। अनि न मेरा आमाबुवा, दाजुभाइ, दिदीबहिनीले मलाई भोट दिएर जिताउनुभयो। क्षेत्रको विकासमा थप केन्द्रित हुनेछु।

राजनीति सधैँ कांग्रेसमा बसेर गरेँ। म त्यहाँबाट दायाँबायाँ हुन सक्ने अवस्था छैन। तर त्यहाँ के कस्तो हुन्छ हेर्छु। स्वतन्त्र रूपमा रहन्छु तर अन्तरस्करणबाट आखिर म कांग्रेस नै हुँ। शेरबहादुर र उनका केही हनुमानले खोस्दैमा पार्टीबाट मलाई बाहिर राख्न सक्दैनन्।

पार्टीभित्रबाट कुनै जिम्मेवारी दिने प्रस्ताव आयो भने स्वीकार गर्नुहुन्छ त?

पक्कै। स्वीकार गर्नेछु। मलाई पार्टीबाट निकालिए पनि आमनागरिकको मनबाट निकाल्न सकेनन्। त्यसैले सायद मलाई पार्टीमा स्थान दिएर राख्लान्। म पनि आफ्नो मनदेखिको पार्टीमा रहेर काम गर्नेछु। तर पार्टीभित्र यति धेरै व्यवस्थापन गर्नुपर्ने अवस्था छ। अहिले म स्वतन्त्र भूमिकामा अडेर पनि काम गर्न सक्छु। म नेपाली कांग्रेसको स्कुलिङबाट बाहिर हुन सक्दिनँ। नेपाल अब शेरबहादुरको पुस्ताबाट चल्दैन। त्यसैले त्यो पुस्तालाई हामीले अभिभावकीय रुपमा बाहिर राख्न सक्नुपर्छ।

निर्वाचनपछि सबै शीर्ष नेतालाई भेटिसक्नुभएको हो?

निर्वाचन जितेलगत्तै सबै मतदाताकहाँ गएर धन्यवाद दिएँ। खुसी साटेँ। क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छु। क्षेत्रमा समस्या परेकालाई सघाउनेछु। म पूर्णतः सामाजिक रुपमा काम गर्नेछु। त्यसका लागि मैले आफ्नो सबै तहमा छलफल चलाइहेको छु। त्यसपछि काठमाडौँ आएर आफ्नो नेतृत्व सबैलाई भेटेँ। नेताहरुसँग सरसल्लाह गरेर अहिले दिल्ली आएको छु। म मिसौरीमा रहेको छोरो लिन जान लागेको हुँ। त्यसपछि दिल्ली आएर केही दिन रहनेछु। भेटघाट गरेर फर्कनेछु। दिल्लीमा अन्तर्राष्ट्रिय परिवेश बुझ्न पनि सकिन्छ। नेपाललाई अधिक मुलुकले दिल्लीको आँखाबाट हेर्ने भएकाले त्यहाँको परिवेश बुझ्न आवशयक हुन्छ। हामी दिल्ली भनेपछि भारतीय सरकार र नेतामात्र बुझ्छौँ। तर दिल्लीमा विश्व रहेको भुल्छौँ।

सत्तामा जाने तयारी छ कि?

म स्वतन्त्र सांसद छु अहिले। कसरी तयारी गर्ने? यद्यपि कतैबाट कुनै पदको कुरा आएमा सोच्नेछु। संसद्‌मा चाहिँ आफ्नो भूमिका देखिने गरी जिम्मवारी निर्वाह गर्नेछु। जुन पहिले पनि गर्दै आएको हुँ। म अन्तर्राष्ट्रिय मामिलाको विद्यार्थी भएकाले त्यस क्षेत्रबाट मुलुकको हितका लागि आवश्यक पर्ने सहयोग जारी राख्नेछु। फेरि पनि देउवाकै सरकार बनेमा उनी आफूले भन्दा पनि श्रीमती आरजुबाट दल र मुलुक चल्नेछ। त्यस विषयलाई हामीले संसद्मा उजागर गर्नुपर्छ। म अन्य दलबाट पनि मन्त्रिपरिषद्‌मा जान सक्छु। त्यसका लागि केही समय पर्खनुपर्छ।


प्रतिक्रिया

2 thoughts on “देश अब देउवा पुस्ताले चलाउन सक्दैन : डा. अमरेशकुमार सिंह [अन्तर्वार्ता]

  1. आफ्ना लाई काखा राम्रा लाई पाखा को परिणाम जनता ले राम्रो प्रतिनिधि रोजे।

  2. जमिनि स्तर बाट उठेर गएका हुन अमरेस कुमार सिंह ।वहां को सवभन्दा राम्रो कुरा कि अरु जस्तो वहाँ झुठ वोल्नु हुन्न एकदम सिधा सपाट वोल्नु हुन्छ र जनता कोदिलमा राज गर्नु हुन्छ ।

Leave a Reply to राम प्रसाद ढुंगाना Cancel reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =