पाहुना पर्खंदै बागलुङको मारुनी घरबास

हिमाल प्रेस १६ मंसिर २०७९ १८:५४
16
SHARES
पाहुना पर्खंदै बागलुङको मारुनी घरबास सांकेतिक तस्बिर।

बाग्लुङ– बागलुङको जैमिनी नगरपालिका-३ कालापातलमा मारुनी सामुदायिक घरबास पाहुनाको पर्खाइमा रहेका छन्। जैमिनी-३ कालापातालमा ०७५ सालमा स्थापना भएको मारुनी घरबास सुरुवाती चरणमा छ।

सञ्चालनको सुरुवाती चरणमा रहेको मारुनी घरबासलाई कोरोनाले थला पारेको थियो।

आवश्यक मात्रामा प्रचार-प्रसार नहुँदा घरबासमा आउने पाहुनाको संख्यामा वृद्धि हुन नसकेको हो। घरबासको प्रचारप्रसार, घरबास सञ्चालकलाई तालिमको व्यवस्था गरेमा घरबास पर्यटन फष्टाउनेमा स्थानीय घरबास सञ्चालक आशावादी छन्।

घरबासलाई पाहुनामैत्री बनाउन सकेमा स्थानीय महिलाको आयआर्जन वृद्धि हुनेछ। यस गाउँमा पाहुनाघर स्थापना भएपछि यहाँका महिलाको सोचमा समेत परिवर्तन आएको देखिन्छ।

घरबास स्थापना भएपछि गाउँकै परिवेशमा आफूले खाने गरेको खाना पाहुनालाई खुवाएर र आफ्नो संस्कृति देखाएर आम्दानी गर्न सकिन्छ भन्ने चेतना उनीहरूमा विकास भएको छ।

‘०७५ सालअघि घरबास के हो कुनै पत्तो थिएन, जब घरबासका लागि आमा समूह बनाएर एकजुट भयौँ, पाँच घरबाट घरबास सञ्चालन सुरु भयो,’ मारुनी घरबासका सञ्चालक समितिका अध्यक्ष भविकला थापाले भनिन्, ‘कोरोनापछि राम्रै चलेको थियो, बर्खा लागेपछि पाहुना आउन छाडे, अहिले हामी व्यवस्थापनमै छौँ, पहुनाको पर्खाइ नै हो हाम्रो घरबासमा, निर्माणाधीन सामुदायिक भवनसमेत बजेट अभावमा सकिएको छैन।’

थापाका अनुसार घरबासको सामुदायिक भवन निर्माणमा ४० लाख रुपैयाँ खर्च भएको छ।

नाचगान र सांस्कृतिक कार्यक्रम तथा सामूहिक भोजका लागि सामुदायिक घर अनिवार्य आवश्यक रहेको घरबास सञ्चालिका बताउँछन्।

अहिले पाँच घर दर्ता गरेर सञ्चालनमा आएको घरबास पाहुनाको आवश्यकताअनुसार १२ घरसम्म विस्तार गर्न सकिने र एकै रातमा २५ जनासम्म पाहुना राख्न सकिने अध्यक्ष थापाको भनाइ छ।

पछिल्लो समय बागलुङमा घरबास व्यवसाय फष्टाउन थालेको छ।

मारुनी सामुदायिक घरबासमा कोदोको सेल रोटी, जौको आटो, सिस्नोको परिकार, साग, गुन्द्रुक, मकैबाट बन्ने विभिन्न परिकारहरू उपलब्ध रहेका सञ्चालकहरू बताउँछन्।

यस्तै भटमास र स्थानीय खसीबोका तथा कुखुराको मासुका परिकारको पनि स्वाद लिन सकिने घरबास सञ्चालकहरूको भनाइ छ।

गण्डकी प्रदेश सरकारले घरबास प्रवर्द्धनका लागि १० लाख रूपैयाँ उपलब्ध गराएको छ भने नगरपालिकाले १ लाख ५० हजार, पूर्वाधार विकास कार्यालय र निर्वतमान गण्डकी प्रदेशसभा सदस्य सावित्रा रानाको संसद् विकास कोषबाट ४० लाख रुपैयाँको लागतमा दुईतले पक्की सामुदायिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ।

भवन निर्माण पूरा हुन थप १० लाख रुपैयाँ बजेट आवश्यक पर्ने घरबास सञ्चालक समिति अध्यक्ष थापाको भनाइ छ।

प्रकाशित: १६ मंसिर २०७९ १८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eleven =