झलनाथको संसदीय यात्रामा पूर्णविराम लगाइदिने महेश को हुन्?

किरण पौडेल १६ मंसिर २०७९ १५:०४
3.0k
SHARES
झलनाथको संसदीय यात्रामा पूर्णविराम लगाइदिने महेश को हुन्? नेता खनालसँग एक कार्यक्रममा महेश बस्नेत र सुवास नेम्बाङ। फाइल तस्बिर

काठमाडौँ– यसपटकको निर्वाचनमा एउटा नामले मिडियालाई नमज्जाले चिप्ल्यायो। झुक्याउने नाम हो, महेश बस्नेत। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एमालेबाट महेश बस्नेत नामका दुई उम्मेदवार मैदानमा थिए। एकजना भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ र अर्का इलाम निर्वाचन क्षेत्र १ बाट।

केही मिडियाले इलाम १ का महेशको तस्बिर भन्दै भक्तपुरका महेशको तस्बिर प्रकाशन गरेपछि आलोचित भए। महेश बस्नेत नामले मिडियालाई मात्र छक्याएन। राजनीतिक दलकै नेता र उनकै शुभेच्छुुक चकित भए। चुनावमा भक्तपुर २ का महेशले हारे भने इलाम १ का महेश सानदार मतसहित निर्वाचित भए। ‘भीआईपी’ उम्मेदवारलाई पाखा लगाएका कारण यति बेला इलामका महेशको चर्चा चुलिएको छ।

महेशले एकीकृत समाजवादीका सम्मानित नेता मात्र नभई आफ्नै पूर्वअभिभावक झनलाथ खनाललाई चुनाव हराएका छन्। त्यसमा पनि खनालले पटकपटक जितेको क्षेत्रमा।

खनाल पार्टीको केन्द्रीय अध्यक्ष हुँदा बस्नेत जिल्लास्तरीय कार्यकर्ता थिए। खनालकै कार्यकर्ता भएर राजनीतिमा लागेका महेशले अन्ततः उनलाई नै हराएर संसद् यात्रा आरम्भ गरेका छन्। निर्वाचनमा हारेपछि धाँधली भएको आरोप लगाउँदै विज्ञप्ति निकाले खनालको संसदीय यात्रामा सम्भवतः पूर्णविराम लागेको छ।

निर्वाचन लडेका पूर्वप्रधानमन्त्रीमध्ये पराजित हुनेमा खनाल मात्रै भएकाले पनि महेश बस्नेतप्रति सबैले चासो दिएका छन्।

पहिलोपल्ट प्रतिनिधिसभा सदस्यमा चुनिएर महेशले झलनाथको २५ वर्षे विरासत उल्ट्याएका छन्। ‘अन्तिम पटक चुनाव लड्ने’ भन्दै मतदाताका घरघरमा पुग्दा पनि झलनाथलाई इलामे जनताले पत्याएनन्।  ७३ वर्षीय खनालले अब चुनाव नलड्दै भन्दै भोट मागेका थिए। उनलाई धेरैपटक जिताउँदा अपेक्षा गरेअनुसार काम नगरेपछि मतदाताको रोजाइमा बस्नेत परेको एमाले कार्यकर्ता बताउँछन्।

उनीहरूको आरोप छ– झलनाथ सधैँ नौला सपना देखाउँछन्। तर पूरा गर्दैनन्। खनाल उम्मेदवार चुनिँदै गर्दा इलामेको मुख्य प्रश्न थियो, ‘झलनाथलाई प्रधानमन्त्री बनायौँ। तर हामीले के पायौरु’ यो विषय चुनावभर सामाजिक सञ्जालमा चर्चामा रह्यो। हुन पनि हो, खनाल पटकपटक मन्त्री बने भने एकपटक प्रधानमन्त्री भए। उनको क्षेत्र विकासमा पछि परेकै छ। बाह्रमासे सडक भन्दै बनाइएका सडकमा तीन महिनाभन्दा बढी सवारी चल्न सक्दैनन् भने अन्य विकासमा पनि पछि थियो।

‘मतदाता खनालसँग रिसाएका थिए। किनकि उहाँबाट अब इलामको विकास सम्भव छैन भन्ने मतदातालाई लागेको थियो,’ एमाले इलामका उपसचिव रबिन्द्र सुवेदी भन्छन्। सुवेदीले भनेजस्तै खनाललाई सहज थिएन।

उनी विभाजित पार्टीबाट चुनाव लड्दै थिए भने इलामे जनताले ‘टुरिस्ट’ उम्मेदवार भनेर चिन्थे। बस्नेतले भने ‘विकासे’ नेताका रूपमा पहिचान बनाइसकेका थिए। भौतिक विकास र कानुन निर्माणमा काम गरेका कारण पनि बस्नेतसँग जनता आकर्षित भएका हुन्।

सहज थिएन जित

खनालको विरासत तोड्न बस्नेतलाई सहज थिएन। स्थानीय तहको मतकै आधारमा पनि सत्ता गठबन्धन अगाडि थियो। गठबन्धनको मत ३४ हजार हाराहारीमा थियो भने एमालेको २४ हजार मात्र। बस्नेत १ नम्बर क्षेत्रका नागरिक थिएनन्। उनी २ नम्बर क्षेत्रमा पर्ने इलाम नगरपालिकाका हुन्।

‘जनताको विकास र समृद्धिका लागि पुरानो उम्मेदवारबाट काम चल्ने थिएन। त्यही कारण म उम्मेदवार बनेको थिएँ,’ नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बस्नेतले भने।
एकातिर एमाले र अर्कातिर सत्ता गठबन्धन दल हुँदा बस्नेत सकसमा थिए। तर आफ्नै रणनीति र खनालको कमजोरी पहिचान गर्दै उनले जित निकाले।

सत्तापक्षीय नेता भएका कारण खनालले राज्यसत्ता प्रभावित पारेर जित निकाल्न पनि सक्थे। एमालेको आरोप पनि यही छ। ‘इलामका विभिन्न ठाउँमा खनालले सत्ताको दुरुपयोगले फोन ट्रयापिङ गरे। जनतालाई असुरक्षा दिए,’ एमाले उपसचिव  सुवेदीले भने, ‘विभिन्न ठाउँमा बम पड्काउने काम पनि खनालबाट भयो।’

चुनावमा भने खनालले २३ हजार ४५ मत पाउँदा बस्नेतले २५ हजार ६९९ मत ल्याएका हुन्। खनाल २०४८ सालयताको निर्वाचनमा इलामबाट निर्वाचित हुँदै आएका थिए। २०५१, २०६४, २०७० र २०७४ गरी पाँचपटक इलाम १ बाटै प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

बस्नेतका जित्ने आधार

लामो समयदेखि वामपन्थी राजनीतिमा संलग्न व्यक्ति हुन् बस्नेत। उनी विद्यार्थी रहँदा २०३०/३१ सालदेखि कम्युनिस्ट पार्टीको सम्पर्कमा पुगे। उनी २०३६ सालमा अनेरास्ववियुुबाट महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको स्ववियु सदस्यमा निर्वाचित भएका थिए।

बस्नेतले २०४७ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरे। त्यसै बेला प्ररायुुसंघको इलाम नगर सचिव हुँदै उनी नगरको पार्टी सचिव भएका छन्। बस्नेत २०५४ को निर्वाचनमा इलाम नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। उनले मेयरमा कांग्रेसका हिमालय कर्मचार्यलाई हराएका थिए। २०५९ देखि नेकपा एमालेको जिल्ला कमिटी सदस्य भएका उनी २०६३ देखि जिल्ला सचिवालय सदस्यको रूपमा क्रियाशील रहे।

२०७३ मा नेकपा एमालेको जिल्ला सचिवमा निर्वाचित भएका बस्नेत हाल एमालेको जिल्ला कमिटी अध्यक्षको जिम्मेवारीमा छन्। इतिहासमा स्नाकोत्तर उनले २०५१ देखि २०५४ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पसमा प्राध्यापन गरेका थिए। त्यसअघि पनि उनी सोही क्याम्पसमा आंशिक प्राध्यापकका रूपमा कार्यरत थिए।

बस्नेतको एउटा कविता संग्रह र सुनुवार जातको परिचय नामको पुस्तक प्रकाशित छन्। इलामको भूगोल, बसोबास, नागरिकको सामाजिक र आर्थिक अवस्थाबारे गहिरो जानकारी राख्ने बस्नेतकै प्रस्तावमा स्थानीय तहको खाका बनेको थियो।

राजनीतिक रूपमा चतुर र चुनावी रणनीतिमा माहिर महेश बस्नेत जिल्लामा दूरदर्शी नेताका रूपमा परिचित छन्। दृढ इच्छाशक्ति भए एकै कार्यकालमा पनि धेरै गर्न सकिन्छ भनेर पुष्टि गर्ने नेताका रुपमा चिनिन्छन् बस्नेत।
‘उहाँ इलामका लागि परिचित नाम हो। यसैकारण जित्नुभएको हो,’ एमाले जिल्ला सचिव उमेश गुरुङले भने, ‘खनालको विकल्पमा कसैको नाम आउनुपथ्र्यो भने जनतालाई आवश्यक पर्ने नाम महेश बस्नेत नै हो। यही कारण जित हासिल भयो।’

बस्नेत २०७४ सालमा पनि इलाम नगरपालिकाकै मेयरमा निर्वाचित भए। उनले पुरानै प्रतिस्पर्धी हिमालय कर्माचार्यलाई हराउँदै दोस्रो पटक मेयर बनेका थिए।

इलाम नगरपालिकाकोे पछिल्लो पाँचवर्षे कार्यकालमा बस्नेतले स्थानीय तहलाई सरकारको हैसियतमा स्थापना गर्न विधि निर्माण, भौतिक पूर्वाधार, सामाजिक सुरक्षाका कार्यक्रम, खेलकुद, पर्यटनको क्षेत्रमा दीर्घकालीन काम गरेर आफूलाई सफल साबित गरिसकेका छन्।

बस्नेतको नेतृत्वमा इलाम नगरपालिकाको सर्वाधिक २१९ वटा ऐन, कानुन बनिएका छन्। इलाम नगरपालिका कानुन निर्माणमा अन्य पालिकाको तुलनामा निकै अगाडि छ।

बस्नेतले पूर्वी पहाडी क्षेत्रमैै पहिलो पटक स्नातक तह पढाइ हुने कृषि क्याम्पस स्थापना गरेका छन्। क्याम्पसमा कृषि प्राविधिक अथवा बीएसी एजीको पठनपाठन भइरहेको छ। उनकै नेतृत्वमा इलाम सामुदायिक आँखा अस्पताल स्थापना भएको छ।

आँखाका रोगीहरुले अहिले घरआँगनमै सेवा पाइरहेका छन्। उनकै कार्यकालमा निर्माण सुरु भएको चलचित्र हलसहितको बहुतले पार्किङ निर्माण अन्तिम चरणमा पुगेको छ।
स्थानीय तहले सार्वजनिक निजी साझेदारी ऐन बनाएर बस्नेतकै अगुवाइमा नेपालमै पहिलोपटक सिटी मार्ट बनेको छ। उनकै कार्यकालमा बालबालिकाको लागि फन पार्क निर्माण भएको छ।

जनक देव, पारिजात, शंखधर साख्वा, राष्ट्रिय विभूति फाल्गुनन्द, गजराजसिङ थापा लगायतको सालिक स्थापना भएको छ भने मजदुरको सम्मानका लागि चोकबजारमा चिया मजदुुरको प्रतिमा स्थापना भएका हुन्।

बस्नेतले गरेको सार्वजनिक जग्गाको व्यवस्थापन पनि उदाहरणीय छ। बजारभित्रको खोल्सीको व्यस्थापन गरेर बस्नेतले आँखा अस्पताल, स्रष्टा पार्क, तरकारी बजार, पशुपक्षी बजार, कभर्ड हल, मोटरसाइकल पार्किङ र व्यवस्थित मासु पसल निर्माण गरेका छन्।

उनकै कार्यकालमा इलाम नगरपालिकाको भव्य कार्यालय भवन, तीन वटा कभर्ड हल, बास्केटबल कोर्ड निर्माण भएका छन्। एक वडा एक खेलमैदानको अभियान चलाएका बस्नेतको कार्यकालमा माईखोलामा महत्त्वाकांक्षी माई भगवती रंगशाला निर्माण भइरहेको छ। प्रत्येक वडामा खेलमैदान तयार भएका छन्।

बस्नेतले विभिन्न क्षेत्रगत समिति बनाएर उनीहरुलाई परिचालित गराए। साहित्यकलाको क्षेत्रमा काम गर्न साहित्य कला संगीत प्रतिष्ठान, पर्यटन समिति, आदिवासी जनजाति समन्वय समिति, दलित समन्वय समिति, महिला समिति, युवा परिषद गठन, नगर खेलकुद विकास समिति गरेर क्रियाशील गराएका छन्।

प्रकाशित: १६ मंसिर २०७९ १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =