जापानले बिर्सियो तीन दशकअघिको ‘दोहा ट्राजेडी’

हिमाल प्रेस १६ मंसिर २०७९ ९:२०
16
SHARES
जापानले बिर्सियो तीन दशकअघिको ‘दोहा ट्राजेडी’

काठमाडौँ- विश्वकप १९९४ को छनोटमा जापान र इराकबीचको खेल। अमेरिकाले आयोजना गर्ने विश्वकपमा छानिन जापानले इराकलाई हराउनै पर्ने थियो। दोहामा ९० मिनेट सकिँदा जापान २–१ ले अघि रह्यो। तर आतिरिक्त समयमा इराकले बराबरी गोल फर्कायो। यही गोलले जापानलाई विश्वकपमा पुग्‍न दिएन।

विश्वकप समूह चरणको खेलमा बिहीबार राति जापानले स्पेनमाथि २–१ को अग्रता बनाइरहँदा हाजिमे मोरियासु त्यही खेल सम्झिरहेका थिए। त्यसबेला खेलाडी रहेका मोरियासुको दिमागमा चलिरह्यो, ‘यो खेलमा पनि बराबरी गोल त हुने होइन।’

तर यसपटक जापानी खेलाडीले बराबरी गोल खाएनन्। स्पेनको अग्रपंक्तिलाई डेग चल्न दिएनन्। आफ्नो रक्षापंक्तिलाई मजबुत बनाइराखे।

‘खेल सकिन एक मिनेटअघि त्यसबेलाको खेल सम्झनामा आयो। त्यसपछि तुरुन्तै महसुस भइहाल्यो, यो जापानी टिम बेग्लै खालको छ। नयाँ तरिकाले खेल्छ। सायद यो नयाँ युगको जापानी फुटबल हो,’ मोरियासुले भने।

इराकसँगको त्यो बराबरीलाई अहिलेसम्म पनि जापानीले बिर्सिएका छैनन्। ‘दोहा ट्राजेडी’ भनेर सम्झिइने त्यो खेलका कारण सन् १९९४ को विश्वकप खेल्न नपाएको जापान त्यसपछिका कुनै विश्वकपमा छुटेको छैन।

यसपल्ट त जापान समूह विजेता भएर नकआउट चरणमा पुगेको छ। त्यो पनि दुई पूर्वच्याम्पियनलाई पराजित गरेर। खलिफा अन्तर्राष्ट्रिय रंगशालामा गत साता जर्मनीलाई स्तब्ध बनाएको जापानले बिहीबार राति त्यही रंगशालामा स्पेनविरुद्ध उही अन्तरको जित निकालेकाे हाे।

जापानलाई विजयी बनाउन दोस्रो हाफमा रित्सु डोआन र आओ टानाकाले एक–एक गोल गरे। जर्मनीविरुद्ध पनि गोल गरेका डोआनले ४८ औँ मिनेटमा जापानलाई बराबरीमा ल्याइपुर्‍याएका थिए। पहिलो हाफको ११ औँ मिनेटमै अल्भारो मोराटाको गोलबाट अघि बढेको स्पेनले दोस्रो गोल ५१ औँ मिनेटमा खायो।

जापानले आफ्नो पुनरागमन क्षमता देखाएको यो पहिलो खेल होइन। विश्वकप २०१४ को विजेता जर्मनीलाई पन्छाउन जापानले ७५ औँ मिनेटमा बराबरी र ८३ औँ मिनेटमा विजयी गोल गरेको थियो।

लगातार दुुई खेल खाएर नतिजा जापानलाई सुम्पिएपछि स्पेनका प्रशिक्षक लुइस एनरिकेको भनाइ थियो, ‘हामी १० मिनेटभित्र ध्वस्त भयौँ।’ उता मोरियासुले भने यो जित समस्त जापानीका लागि उपहार भएको प्रतित्रिया दिए।

कोस्टारिकासँग १–० ले हारेपछि सामुराई ब्लुका प्रशिक्षक मोरियासुमाथि दबाब सिर्जना भएको थियो। ‘दोस्रो खेल हारेपछि हामीले फरक योजना बनायौँ। त्यही अनुसार अभ्यास गर्‍यौँ। खेलाडीले पनि मलाई आइडिया दिए। आखिरमा काउन्टर अट्याकको रणनीति फाप्यो,’ मोरियासुले भने।

जापानले अब प्रिक्वार्टरफाइनल खेलमा क्रोएसियाको सामना गर्नेछ। विश्वकप २०१८ को उपविजेता क्रोएसिया समूह ‘एफ’ को उपविजेता भएर प्रिक्वार्टरफाइनलमा पुगेको हो। स्पेनले भने मोरोक्कोसँग प्रतिस्पर्धा गर्नेछ। उत्तर अफ्रिकी टिम मोरोक्को समूह आफ्नो अन्तिम खेलमा क्यानडालाई पराजित गरेर समूह ‘एफ’ को विजेता बनेको हो।

प्रकाशित: १६ मंसिर २०७९ ९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =