कांग्रेसले संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैन : पूर्णबहादुर खड्का

हिमाल प्रेस १५ मंसिर २०७९ १८:३४
90
SHARES
कांग्रेसले संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैन : पूर्णबहादुर खड्का

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अहिलेको अवस्थामा संसदीय दलको नेतामा शेरबहादुर देउवाको विकल्प खोज्ने बेला नभएका बताएका छन्। कांग्रेसका स्वर्गीय नेता कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले यस्तो बताएका हुन्।

‘कांग्रेसको संसदीय दलको नेताको निर्वाचन हामी सर्वसम्मत तरिकाले गर्नुपर्छ। त्यो गर्ने वातावरणको निर्माण गर्नुपर्छ,’ खड्काले भने, ‘सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडि आएपछि त्यसमा अहिलेको बेलामा धेरै दायाँ बायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन। अहिले हामी कांग्रेसभित्रको एकताको वातावरण बनाउनु छ। सरकार गठन गर्दा सबै मिलेको प्रभावकारी सरकारको निर्माण गर्नुछ। अहिले नै देउवाको विकल्प खोज्नु हुँदैन।’

उनले देउवाकै नेतृत्वमा देश निर्वाचनमा होमिएको र कांग्रेस पनि देउवाकै नेतृत्वमा अघि बढेको बताए। कांग्रेसको संसदीय दलको नेतामा सभापति देउवासहित, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र शशांक कोइरालाले इच्छा व्यक्त गरेका छन्। यीमध्ये महामन्त्री थापाले चुनावी अभियानमै आफू संसदीय दलको नेताको लागि नै चुनाव लड्न आएको बताएका थिए।

प्रकाशित: १५ मंसिर २०७९ १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =