देउवाका भित्रिया कार्कीलाई फाप्यो सुनसरी

विवेक विवश रेग्मी १५ मंसिर २०७९ १७:०६
266
SHARES
देउवाका भित्रिया कार्कीलाई फाप्यो सुनसरी चुनाव जितेपछिको र्‍यालीमा कार्की।

इटहरी- कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका ‘किचेन क्याबिनेट’ का एक सदस्य हुन्। त्यसैले देउवा प्रधानमन्त्री हुँदा कार्की मन्त्रीको सूचीमा पर्छन्। यसपालिको चुनावमा मत माग्ने क्रममा कांग्रेस कार्यकर्ताले कार्की फेरि मन्त्री बन्ने भनेर प्रचार गरेका थिए।

भोजपुरमा तीन पटक पराजित भएका कार्कीलाई सुनसरी भने फापेको छ। २०५१, २०५६ र ०६४ सालमा कार्की भोजपुरमा पराजित भएका उनी ७० को चुनावमा सुनसरी झरेका हुन्। कार्की दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद भएका थिए।

देउवाको आशीर्वादबाट पटकपटक अवसर पाएका उनी यसपटकचाहिँ बल्लबल्ल निर्वाचित भए। ०७४ को निर्वाचनमा तत्कालीन अर्थमन्त्री रहेका कार्की सुनसरी निर्वाचन क्षेत्र नं. ४ बाट फराकिलो मतान्तरले विजयी भएका थिए। त्यति बेला उनी एमालेका रमेश श्रेष्ठलाई पराजित गर्दै निर्वाचित भएका थिए। श्रेष्ठ वाम गठबन्धनका उम्मेदवार थिए।

०७४ को निर्वाचनमा कार्कीले ३२ हजार ३४७ मत ल्याउँदा श्रेष्ठले २५ हजार ७५० मत ल्याएका थिए। अघिल्लो निर्वाचनमा ६ हजार ५९७ मतान्तरले विजयी भएका कार्की यसपटक भने ११२ मतान्तरले विजयी भएका हुन्। बिहीबार सम्पन्न मत गणनाको अन्तिम परिणामअनुसार कार्कीले ३० हजार ४८३ मत ल्याएका छन् भने एमालेका जगदीशप्रसाद कुसियतले ३० हजार ३७१ मत प्राप्त गरे। यसपटक कार्कीको मतान्तर खुम्चिएको छ।

सोचेअनुरुप मतपरिणाम ल्याउन नसक्नुमा आफैँ दोषी छन्। कांग्रेसको १४ औँ महाधिवेशनमा ‘आफ्नालाई मात्रै च्यापेको’ आरोप खेप्दै आएका कार्की चुनावमा पनि आफ्ना आसेपासेमै सीमित भएको आरोप लाग्ने गरेको छ। चुनाव जितेपछि बिहीबार सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिँदै कार्कीले विकास निर्माणका काम गरेर मात्रै निर्वाचनमा आफू अनुकूलको नतिजा हात पर्न नसक्ने बताए।

‘विकासका काम मात्रै गरेर चुनाव जित्न कठिन हुने रहेछ,’ उनले भने, ‘अहिलेको मत परिणामले त्यस्तै संकेत ग¥यो। चुनावमा जेजस्तो नतिजा आए पनि निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु हाम्रो पनि दायित्व थियो।’
उनले आफू यस क्षेत्रबाट दोस्रोपटक निर्वाचित भएको र यहाँका जनतालाई महसुस हुने गरी काम गर्ने बताए। प्रतिस्पर्धी दल नेकपा एमालेले उठाएका मुद्दा पनि आफ्नो काँधमा लिएर विकास निर्माणको काम गर्ने उनको दाबी छ।

एमालेबाट ०५१ सालमा गिरिजाप्रसाद कोइरालासँग चुनावी प्रतिस्पर्धा गरेका जगदीशप्रसाद कुसियत पुराना नेता हुन्। उनी यस क्षेत्रका रैथाने र भूगोलसँग परिचित रहे पनि जातीय समीकरणका आधारमा मत विभाजन भएकाले कार्कीलाई फाइदा भएको जानकारहरू बताउँछन्। कांग्रेसको १४ औँ महाधिवेशनमा वडा तहदेखि आफ्ना मान्छेलाई मात्रै च्यापेको र स्थानीय तहको टिकट वितरणमा ‘विभेद’ गरेका कारण पनि कांग्रेसभित्रैबाट कार्कीलाई असहयोग भएको धेरैजसोको विश्लेषण छ। जसकारण अघिल्लो निर्वाचनमा कांग्रेसलाई साथ लिएर हिँड्नेहरू यसपटक निष्क्रिय बने।

कांग्रेसका जिल्ला सभापति केदार भण्डारीले दिएको विवादास्पद अभिव्यक्तिले पनि कार्कीको मत घटाएको हो। भण्डारीले गत भदौ २४ गते धरानस्थित बीपी जयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा ‘सुनसरीमा ज्ञानेन्द्रबहादुर कार्की आएर गुट गरेको’ अभिव्यक्ति दिएका थिए। ‘हिजो राजीव कोइराला सुनसरी जिल्लाको सभापति हुँदा जुन किसिमको माहोल थियो, त्यो माहोल भाँडिएको छ,’ भण्डारीले भनेका थिए, ‘दुई ठूला नेताको प्रवेश छ, एउटा आदरणीय ज्ञानेन्द्र दाइ आउनुभाछ, अर्को विजय दाइ। उहाँहरूलाई सम्मान गर्ने क्रममा पार्टी अप्ठ्यारो अवस्थामा परेको छ।’ उनीहरूकै कारण स्थानीय तहको निर्वाचनमा केही स्थान कांग्रेसले गुमाउनुपरेको उनको संकेत थियो।

भण्डारीले पार्टीभित्र गुट, उपगुट रहेको र अधिवेशनको तुष बाँकी रहेका कारण स्थानीय तहको निर्वाचनमा धरानसहितका केही स्थान गुमाउनुपरेको बताएका थिए। सभापति भण्डारीको उक्त अभिव्यक्तिकै कारण पनि अहिले सुनसरीका चारमध्ये तीन स्थानमा पराजित व्यहोर्नुपरेको कार्यकर्ताको बुझाइ छ।

‘०७४ को निर्वाचनमा राजीव कोइराला सभापति हुँदा र वाम गठबन्धन हुँदा सुनसरीमा कांग्रेस एक्लैले तीन सिट जितेको थियो,’ सुनसरी कांग्रेसका एक नेताले भने, ‘उहाँ (केदार भण्डारी) जिल्ला सभापति हुँदा र लोकतान्त्रिक–वाम गठबन्धन हुँदाचाहिँ एउटा सिट जित्न पनि कठिन हुने अवस्था कसरी आयो? निर्मम समीक्षा हुनुपर्छ।’

ती नेताले अघिल्लो निर्वाचनमा कांग्रेस एक्लैले तीन सिट जिते पनि अहिले एक सिटमा खुम्चिनुपर्दा जिल्ला सभापतिले जिम्मेवारी लिनुपर्ने बताए। सुनसरी ४ मा कांग्रेसकै कारण सहज जित निकाल्न नेता कार्कीलाई चुनौती भएको उनको बुझाइ छ।

कार्की सुनसरी आउनुअघि जिल्लामा विजयकुमार गच्छदारको दबदबा थियो। प्रशासनदेखि सत्ता, शक्ति गच्छदारको हातमा हुन्थ्यो। कार्की सुनसरी झरेसँगै गच्छदार कमजोर बन्दै गए। गच्छदार कमजोर बन्दा कार्की बलियो बन्दै गए। सांगठनिक रूपमा भने आफूले सोचेजस्तो अब्बल रहन नसकेको अहिलेको मतपरिणामले देखाउँछ।

कार्कीसँग झिनो मतान्तरले पराजित हुने कुसियत नेकपा एमाले सुनसरीका इन्चार्जसमेत हुन्। उनी ०७४ मा सुनसरी क्षेत्र नं. ४ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । शेरधन राई मुख्यमन्त्री हुँदा प्रदेश १ को वन, वातावरण, उद्योग तथा पर्यटनमन्त्री भएका उनी यसपटक भने प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए।

यस क्षेत्रमा गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा क्षेत्र नं. ४ मा परेको बेला, ०५१ सालको मध्यावधि निर्वाचनमा र ०५६ सालको संसदीय निर्वाचनमा क्षेत्र नं. ५ मा परेका बेला जितेका थिए। पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले चुनाव जितेका थिए।

सुनसरी क्षेत्र नं. ४ मा कुल एक लाख २८ हजार ६५ मतदाता छन्। यो क्षेत्रमा धेरैजसो मेहेता, मियाँ, साह, यादव, मण्डल, मुसहर, उराउ समुदायका छन्। यस क्षेत्रमा कोसी गाउँपालिकाका सबै वडा, भोक्राहा–नरसिंह गाउँपालिकाका सबै वडाहरू, हरिनगरा गाउँपालिकाका १, २, ४, ५, ६ र ७, इनरुवा नगरपालिकाका ३, ४ र ८, रामधुनी नगरपालिकाका ४ र बराहक्षेत्र नगरपालिका ६, ७, ८, ९, १० र ११ नम्बर वडाहरू समावेश छन्।

को हुन् कार्की ?
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका कार्कीले ०३३ सालदेखि राजनीतिक यात्रा सुरु गरेका हुन्। ०३३ सालदेखि विद्यार्थी राजनीतिबाट सक्रिय भएका उनी ०३९ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष बने। २०४७ सालमा कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री बनेका बेला उनले स्वकीय सचिव भएर काम गरेका थिए।

२०६३ सालमा जलस्रोतमन्त्री बनेका उनी २०७४ सालमा अर्थमन्त्री थिए। यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भइसकेका उनी हाल सञ्चार, सूचना तथा प्रविधिमन्त्री छन्। कार्की र राष्ट्रपति विद्यादेवी भण्डारीबीच दाजुबहिनीको साइनो छ। राष्ट्रपतिकी आमा मिथिला पाण्डे कार्कीकी फुपूकी छोरी हुन्। उनीहरूबीच दाजुबहिनीको प्रगाढ सम्बन्ध रहेको निकटस्थहरू बताउँछन्।

प्रकाशित: १५ मंसिर २०७९ १७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + fifteen =