काठमाडौँ- ठमेल पर्यटन विकास परिषद्ले नयाँ वर्ष सन् २०२३ का अवसरमा न्यु इयर इभ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ। परिषद्ले शुक्रबार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी दिएको हो। ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सबै किसिमका व्यवसायीलाई दृष्टिगत गरेर ठमेलको पर्यटन प्रवर्धनका लागि सडक महोत्सव आयोजना गर्न लागिएको बताए।
उनले भने, ‘महोत्सवले ठमेल जान, बस्न र घुम्नको लागि जानुपर्छ भन्ने पारिवारिक वातावरण सिर्जना गर्नेछ।’ सडक महोत्सव नगरीकन आमसर्वसाधारणलाई ठमेल लैजान नसकिने उनको भनाइ छ। महोत्सवमा आधुनिक सांगीतिक कार्यक्रमदेखि सांस्कृतिक सांगितिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ।
पुस १६ गते शनिबार साँझ ५ः३० बजे सुरु भई मध्यरातिसम्म सञ्चालन हुने कार्यक्रममा एक लाख दर्शक भित्र्याउने तयारी छ। शर्माले भने, ‘एक लाख दर्शकहरुको व्यवस्थापनका लागि पनि आवश्यक तयारी भइसकेको छ। हरेक रेस्टुराँहरुले आफ्ना प्याकेजहरु सामाजिक सञ्जालबाट जानकारी गराइसकेका छन्।’
महोत्सवमा आउने आगन्तुकलाई सस्तोमा मिठो खानेकुरा ख्वाउने प्रतिबद्धता शर्माको छ। नयाँ वर्षको कार्यक्रम विगतका भन्दा फरक र भव्य हुने उनले बताए। महोत्सवमा नेपाली मौलिक कला, संस्कृति, सांगितिक कार्यक्रम, ठमेलका व्यवसायीहरुले उत्पादन गरेका विभिन्न सामग्रीहरुको प्रदर्शन हुनेछ।