पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भव्य बनाइँदै, झाँकीदेखि फेसन शोसम्म

विजय नेपाल १५ पुष २०७९ १३:३९
12
SHARES
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भव्य बनाइँदै, झाँकीदेखि फेसन शोसम्म

पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन तयारी भव्य बनाइँदैछ। अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन १ जनवरी अर्थात् १७ पुसमा पोखरेलीको साढे चार दशकदेखिको विमानस्थल सपना पूरा हुँदैछ। उद्घाटन समारोहमा झाँकी प्रदर्शनदेखि फेसन शोसमेत हुँदैछन्।

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहबीच विमानस्थल उद्घाटन गर्ने तयारी छ। समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको उल्लेख्य सहभागिता रहने विमानस्थल निर्देशक विक्रमराज गौतमले बताए। बिहान ११ बजे सुरुआत हुने औपचारिक समारोहअन्तर्गत २ बजेपछि उद्घाटन सेलिब्रेसन हुनेछ। जसमा विभिन्न जातजातिका झाँकीदेखि फेसन शोसमेत प्रदर्शन गरिने बताइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, यहाँका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद्लगायतको सहभागितामा उद्घाटन समारोह विशेष र भव्य बनाइन लागेको हो। सो दिन पहिलो विमानबाट विमानस्थल उत्रिने यात्रुलाई फूलमालाले स्वागत गरिनेछ।

कार्यक्रम व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले आवश्यक तयारी अन्तिम चरणमा पुर्‍याएको छ। उद्घाटन समारोहपछि त्यसपछिको उत्सवको कार्यक्रम महानगरले गर्न लागेको हो। कार्यक्रममा विमानस्थलका परिकल्पनार शंकरराज पाठकको रथारोहण हुनेछ।

महानगरले अघिल्लो सातादेखि नै विमानस्थल प्रवेश गर्ने पृथ्वीराजमार्ग अन्तर्गतको त्यसखण्डको दायाँबायाँ क्षेत्रमा अवैध संरचना भत्काउन थालेको छ भने सरसफाइ तीव्र पारेको छ। गत १३ पुसमा पनि लेकसाइडदेखि कोत्रेसम्म राजमार्ग क्षेत्रमा बृहत् सरसफाइ कार्यक्रम गरेको थियो।

विमानस्थल पोखरामात्र नभै राष्ट्रकै गौरवको विषय भएकोले उद्घाटन भव्य बनाउन लागिएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताए। उनका अनुसार विभिन्न उपसमिति गठन गरेर काम तीव्र पारिएको छ। नयाँ विमानस्थल बनेसँगै चाउथेदेखि पृथ्वीचोकसम्म यात्रुको चापलाई ध्यानमा राखेर वैकल्पिक रुट तय गर्न लागिएको पोखरा महानगरले जनाएको छ।

विमानस्थलमा गत १७ पुसमा यति र बुद्ध एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको परीक्षण समेत गरेका थिए। क्यालिब्रेसन फ्लाइटको पूर्ण विवरण आएपछि पोखराबाट हुने गरेका प्याराग्लाइडिङ उडानबारे निर्णय हुने प्राधिकरणले जनाएको छ। विमानस्थलमा आन्तरिक र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना निर्मित छन् । अब नयाँ विमानस्थलबाटै साना जहाज, हेलिकप्टर र अल्ट्रा लाइटबाहेक सबै उडान गर्ने तयारी छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालकै पहिलो एरोब्रिज रहेको छ । यात्रु यसै एरोब्रिजबाट जहाज चढ्न र झर्न सक्ने छन्।

विमानस्थल निर्माण गर्न नेपाल सरकार र चिनियाँ सरकारको एक्जिम बैंकबीच २१ करोड २९ लाख अमेरिकी डलर लागतमा निर्माण गर्ने गरी २०७२ चैत ८ मा ऋण सम्झौता भएको हो। २०३२ सालमा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि चिनियाँ निर्माण कम्पनी सिएएमसीईले विमानस्थल निर्माण गरेको हो । गत वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा ९६ प्रतिशत निर्माण पूरा भएको विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो।

२०७३ वैशाख १ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल शिलान्यास गरेका थिए। निर्माण थालनी चिनियाँ निर्माण कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ असार २७ बाट गरेको थियो । साथै, चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा विमानस्थलको चाबी नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।

प्रकाशित: १५ पुष २०७९ १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =