शैक्षिक प्रणाली अद्यावधिक गर्दै शिक्षकलाई विषयगत तालिम दिन विज्ञको सुझाव

शिक्षण पेसाप्रति समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी

हिमाल प्रेस १४ पुष २०७९ १९:४३
90
SHARES
शैक्षिक प्रणाली अद्यावधिक गर्दै शिक्षकलाई विषयगत तालिम दिन विज्ञको सुझाव

काठमाडौँ–  शिक्षा क्षेत्रका सरोकारवालाले नेपालको शिक्षाप्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेसामा आकर्षण घट्दै गएको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित शिक्षा नीति सम्वाद कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन्। नेपालमा विषयगत शिक्षकहरूको कमी भइरहेको र शिक्षकहरूमा पनि उपयुक्त योग्यता नभएको उनीहरूको भनाइ छ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नेपालमा शिक्षक नभएको, भएका शिक्षकहरूमा गुणस्तर नभएको र शिक्षकलाई आवश्यक पहिचान र सम्वर्द्धन गर्न नसकिएको धारणा राखे।

‘शिक्षा क्षेत्रलाई गुणस्तरयुक्त बनाएर लैजानका लागि शिक्षा नीतिको सुधार आवश्यक भएपनि शिक्षा नीति सुधारका लागि मन्त्रालय तयार छ। सरकारले शिक्षा नीति ल्याएको र अब सरकारको शिक्षा नीतिको कार्यान्वयन गरेर अघि बढ्न आवश्यक छ,’ सचिव सुवेदीले भने।

कार्यक्रममा सहभागि शिक्षा सेवा आयोगका अध्यक्ष मधु रेग्मीले मधेस प्रदेशका जिल्लामा शिक्षक मागेजति पनि उम्मेदवार नपाएको उल्लेख गरे।

‘आयोगले मागेजति योग्य शिक्षक पाउन सकेको छैन। आयोगले खुलाएको विज्ञापनमा पनि शिक्षक उत्तीर्ण हुन नसकेको अवस्था छ। सरकार यसप्रति गम्भीर बन्नुपर्ने बन्नुपर्छ,’ उनले भने।

सामान्य परीक्षाबाट पास भएका शिक्षक पनि विषयगत परीक्षामा फेल भएकाले नेपालको शिक्षा प्रणालीलाई वैज्ञानिक र नयाँ किसिमबाट विकसित गर्न आवश्यक रहेको बताए।

कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष शिवलाल भुसालले विद्यालयस्तरको शिक्षाले तत्काललाई मात्रै नभई एउटा युगको भविष्य बोक्ने भएकाले विद्यालयस्तरीय शिक्षा प्रणाली सुधारमा अत्यावश्यक भएको बताए।

‘विद्यालय स्तरको शिक्षालाई आवश्यक सुधार र पमिार्जन गरी योग्यता पुगेका शिक्षकहरूबाट गुणस्तरीय शिक्षा दिन आवश्यक छ। विद्यालय स्तरमा गुणस्तरयुक्त शिक्षा दिन नसके एउटा युग नै नष्ट हुने खतरा छ,’ उनले भने।

रेक्टर भुसालले शिक्षण व्यवसायमा आकर्षण घट्दै गइरहेको भन्दै सबैभन्दा पहिला शिक्षाको गुणस्तर बढाउन सक्नुपर्ने र देशका हरेक क्षेत्रमा शिक्षाको गुणस्तरलाई गम्भीर रुपमा लिन सरकारलाई सुझाव दिए।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका डिन बालचन्द्र लुइँटेलले नेपालमा शिक्षाको गुणस्तरलाई बढाउन शिक्षकलाई प्रशिक्षण दिन आवश्यक रहेको बताएका छन्।

उनले विकासशील देशमा शिक्षकलाई योग्य बनाउन सरकारले शैक्षिक तालिम दिने गरेको तर नेपालमा भने सरकारले शिक्षकलाई तालिम नै दिन नसकेको गुनासो गरे। ‘तालिम दिँदा पनि विषयगत वा सामान्य तालिमबारे सरकारले चासो राख्न आवश्यक छ। वर्तमान अवस्थामा शिक्षकलाई विषयवस्तु, विज्ञानसम्मत कुराबारे अपडेट गराउन आवश्यक छ,’ उनले भने।

नेपालको शिक्षामा पढाइलेखाइमा पनि समस्या रहेको, शिक्षाका विषयवस्तु र पाठ्यक्रमसँगै पढाइलेखाइको तौरतरिकामा पनि सुधार गर्न जरुरी रहेको उनको भनाइ छ।

कार्यक्रममा शिक्षाविद् मनप्रसाद वाग्लेले विश्वविद्यालयहरूले गर्ने काममा समेत सरकारलाई दोष दिएर उम्किने प्रवृत्ति त्याग्नुपर्ने बताए। उनले विश्वविद्यालयका पदाधिकारीहरूले नै गर्नसक्ने कामलाई नगरेर अरुको टाउकोमा दोष थुपार्ने काम भएसम्म शिक्षाको विकास हुन नसक्ने बताए।

‘शिक्षा सेवा आयोगले नै लाइसेन्स दिएका शिक्षक विषयगत परीक्षामा अनुत्तिर्ण भएका कारण अहिलेको समस्या आएको हो। नीति अनुसन्धान प्रतिष्ठान अपडेट हुन सकेको छैन। विश्वभर शिक्षकको अभाव छ,’ वाग्लेले भने।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डिन चित्रबहादुर बुढाथोकीले शिक्षामा सुधार गर्नका लागि सरकारले तालिम दिने संस्था छुट्टै बनाउन नसकेको गुनासो गरेका छन्।

‘सरकारले कस्तो शिक्षक तयार पार्ने भन्ने नीति नहुँदा र मापदण्ड नबनाउँदा शिक्षकको गुणस्तर सुधार हुन सकेको छैन। अन्य मुलुकमा विश्वविद्यालयलाई कस्तो शिक्षक बनाउने र कस्तो तालिम दिने? तालिम दिँदा कस्तो शिक्षकलाई दिने भन्नेबारेमा सोच्नुपर्छ,’ उनले भने।

सरकार शिक्षक बनाउने कुरामा स्पष्ट नीतिका साथ अघि बढ्न नसकेको र नेपालमा अगाडि गएर बोर्डमा अक्षर लेख्ने मान्छेलाई शिक्षक भनेर बुझ्नु नै गलत रहेको बताए। कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीले शिक्षकमा आवश्यक तलवमान नहुनु, शिक्षण पेसालाई गाउँ र समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक नदेखिनुले शिक्षण पेसामा आकर्षण घटेको बताए।

उनले युवा पुस्तामा शिक्षण पेशामा अकार्षण नहुनु, शिक्षामा राजनीति हुनु, नेपालमा शिक्षाको सही पहिचान हनु नसक्दा शिक्षा क्षेत्रमा समस्या बढ्दै गएको छ। उनले संस्कृत गुरुकुलहरूको नतिजा समयमा हुन नसक्नु र पाठ्यपुस्तकहरू नपाइनुले संस्कृत शिक्षामा कमी भइरहेको बताए।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव शंकरप्रसाद भण्डारीले सरकारले बनाएका नीति कार्यान्वयनको चुनौती रहेकाले सबैले कार्यान्वयनको पक्षमा अघि बढ्न आवश्यक रहेको बताए। उनले उच्च शिक्षालाई कसरी गुणस्तर बनाउने भन्ने सन्दर्भमा पाठ्यक्रम लगायतका विषयवस्तुमा ध्यान दिनुपर्ने बताए।

‘शिक्षा क्षेत्रमा परिमार्जन र विषयवस्तुलाई नयाँ तरिकामा अघि बढाउन नसक्ने अवस्था छ। नेपालमा शिक्षकले शिक्षण पेसालाई ज्ञान दिने कुरा भन्दा पनि जागिर खाने कुरामा जोड दिएका छन्,’ उनले भने।

शिक्षक बन्नको लागि न्युनतम शैक्षिक ज्ञान आवश्यक रहेको, शिक्षक छनोट गर्ने प्रक्रिया प्राकृतिक नभएको, विद्यालयबीचको सम्बन्ध सत्तापक्ष र प्रतिपक्षको जस्तो देखिएको सरोकारवालाले टिप्पणी गरेका छन्।

प्रकाशित: १४ पुष २०७९ १९:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =