संस्कृतिसँगै पर्यटनलाई जोड्दैछ स्याङ्जाको छायाक्षेत्र

हिमाल प्रेस १४ पुष २०७९ १५:२९
4
SHARES
संस्कृतिसँगै पर्यटनलाई जोड्दैछ स्याङ्जाको छायाक्षेत्र

पोखरा– प्रसिद्ध तीर्थस्थल छायाक्षेत्र पौराणिक महत्त्वको प्राचीन एवम् ऐतिहासिकस्थल भएर पनि अपेक्षित प्रवर्द्धनको अभावमा अझै पनि यो क्षेत्र छायामा नै परेको छ। पछिल्ला समयमा भने स्थानीय तहदेखि प्रदेश र संघ तीनवटै सरकारले यस क्षेत्रको विकासमा चासो दिन थालेका कारण आगामी दिनमा यसको गरिमा र महत्त्व बढ्दै धार्मिक पर्यटकीय गन्तव्य बन्ने विश्वास जगाएको छ।

विशेषतः स्याङ्जा र आसपासका दर्शनार्थी मात्रै पुग्ने गरेको यस तीर्थस्थलमा पछिल्ला समयमा देशका विभिन्न स्थानबाट दर्शनार्थीहरू पुग्ने गरेका छन्। विभिन्न संघसंस्थाबाट हुने गरेका अवलोकन भ्रमणका क्रममा स्याङ्जामा आएका पर्यटकले नछुटाउने गन्तव्यका रूपमा छायाक्षेत्र स्थापित बन्दै गएको पुजारी मेघनारायण रेग्मीले जानकारी दिए।

ठूलो पहाडकोबीच भागबाट कडा चट्टानलाई छिचोल्दै छङ्छङ् झरिरहेको झरना यहाँको विशिष्टता हो। छङ्छङ् आवाज आइरहने भएकाले यसै झरनाका कारण यस ठाउँको नाम नै छाङ्छाङ्दी रहन गएको स्थानीयवासी बताउँछन्।

स्याङ्जाको भिरकोट नगरपालिका-४ मा पर्ने यो स्थल ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्त्व बोकेको छ।

सिद्धार्थ राजमार्गसँग जोडिएका कारण पोखरा-बुटवल को यात्रा गर्ने कतिपय यात्रु सवारीसाधन रोकेर यस तीर्थस्थलको दर्शन गर्ने गर्दछन्। प्रवेशद्वार वरपर चिया तथा खाजा खाने होटेल तथा रेष्टुरेन्ट पनि सञ्चालनमा आएकाले पछिल्ला समयमा यो स्थान राजमार्गको बिसौनी जस्तो पनि बनेको छ।

मन्दिरकै कारण होटेल तथा रेष्टुरेन्ट र पूजा सामग्रीका पसल चल्न थालेपछि स्थानीयको आयआर्जनमा वृद्धि भएको छ भने यात्रारत यात्रुलाई थकाइ मार्ने र केही समय भए पनि मनलाई शान्त बनाउने गन्तव्य बनेको छ।

बढ्दो बजारीकरणसँगै तीर्थालुको जमघट हुने भएकाले आसपासका क्षेत्रमा हुने स्थानीय उत्पादनले पनि उचित मूल्य पाउने गरेको स्थानीयवासी बताउँछन्।

सन्त गोपालकृष्ण आचार्यका अनुसार यस मन्दिरको स्थापना स्वस्थानी व्रतकथासँग जोडिएको छ। उनका अनुसार आफ्नै पिता दक्षप्रजापतिले लगाएको यज्ञकुण्डमा छोरी सतीदेवीले हामफाली देहत्याग गरेपछि सतीदेवीको मायाले ओतप्रोत भगवान् महादेवले सतीदेवीको शरीरलाई काँधमा बोकी पृथ्वी भ्रमणका क्रममा निस्किएका थिए।

यसरी हिँडेका महादेवले सतीदेवीको शरीर कुहिएर अंग-अंग नै झरेको पनि थाहा नपाएको र त्यसै क्रममा यही छांछांदी क्षेत्रमा पुगेपछि सतीदेवीको शरीरका बाँकी अंग पतन भएको कुरा श्रीस्वस्थानी व्रतकथामा उल्लेख रहेको उनले जानकारी दिए।

सतीदेवीको मृत शरीरलाई लामो समयसम्म बोकेर हिँड्दाको पीडा, थकाइ र तिर्खाले आकुलब्याकुल बनेका महादेवले यसै ठाउँको चट्टानयुक्त पहाडमा त्रिशूल प्रहार गरेर जल उत्पन्न गराई तिर्खा मेटाएको र त्यही स्थानमा गौमुखे धारा पनि निस्किएको किंबदन्ती छ।

त्यही गौमुखेको पानीबाट छांछांदी झरना बनेको विश्वासका आधारमा मन्दिरमा आएका दर्शनार्थीले यहाँको पानीलाई तीर्थ जलका रूपमा घरघरमा लैजाने गर्दछन्। यस क्षेत्रमा छायाक्षेत्र पीठ, छत्रेश्वरीदेवी, सुसुकोधरा योगिनी, पिशाचेश्वर महादेव उत्पन्न भई शिवशक्ति स्वरुपले रहेको स्वस्थानी व्रतकथामा उल्लेख छ।

मन्दिर उत्पत्तिबारे विभिन्न किंबदन्ती छन्। प्राचीनकालमा छायाक्षेत्रमा आएर भक्तजनले आफ्नो मनोकांक्षाअनुसार काम थाल्दाको अघिल्लो दिन बेलुका आवश्यक सामग्रीको संकल्प गर्दा भोलिपल्ट सम्पूर्ण सामान आफैं तयार हुने गर्दथ्यो।

यसरी उत्पत्ति हुने सामग्री एकपटक एकजना भक्तजनले चोरेर लगेछन्। त्यसै समयदेखि संकल्प गरेका सामान प्राप्त हुन छोडेको किंबदन्ती अहिले पनि जनजीब्रोमा कायमै छ। मन्दिर परिसरमा रहेका शिलामा देखिने गाईका थुन, गणेशका मूर्ति, नाग, शिवका विभिन्नस्वरुप आदिले यहाँको धार्मिक महत्त्वलाई अझै प्रष्ट पार्दछन्।

सिद्धार्थ राजमार्गसँग नै यसको प्रवेशद्वार जोडिएको हुँदा पनि यसको विकासका धेरै सम्भावना रहेको छायाक्षेत्र समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ बताउँछन्।

‘यस क्षेत्रको धार्मिक एवम् ऐतिहासिक महत्त्वलाई उजागर गर्ने गरी हामीले विकासको योजनाअघि बढाएका छौँ’, उनले भने, ‘पछिल्ला समयमा संघ, प्रदेश तथा स्थानीय तहको बढ्दो साथ सहयोगले हामीलाई अझै उत्साहित बनाएको छ।’

अध्यक्ष श्रेष्ठका अनुसार समितिको सक्रियतामा मन्दिर परिसरमा १०८ जलधाराको निर्माण अन्तिम चरणमा पुगेको छ। तीर्थालु भक्तजनका लागि आवास तथा भोजनगृह पनि निर्माण गरिएको छ।

यस क्षेत्रको विकासका लागि साझेदारी कार्यक्रमअन्तर्गत प्रदेश सरकारले ४० लाख सहयोग गरेको छ भने छायाक्षेत्र समिति र भीरकोट नगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोगमा पूर्वाधार निर्माणका काम अघि बढाइएको हो। यहाँको विकासका लागि संघीय पर्यटन मन्त्रालयबाट २५ लाख प्राप्त भएको उनले बताए।

यहाँ रहेको शिव मन्दिरको पछाडि लगभग २० मिटरको उचाइबाट गाईको मुख आकारको स्थानबाट झरेको पानी ८० मिटर लम्बाइको भूमिगत ढलमार्फत स्थानीय दजुङ खोलामा पुर्‍याइएको छ। उक्त दजुङ खोला आँधीखोलामा गएर मिलेको छ। यहाँको आँधीखोलालाई दृष्टिविहीन बुबा र आमाप्रति छोरा श्रवण कुमारले गर्नुभएको श्रद्धा र भक्तिको प्रतीकका रूपमा पनि लिँदै आइएको छ।

मन्दिर परिसरमा गौमुखे धारा, यज्ञशाला, शिवलिंग, सन्तोषी माता, नवग्रहका मूर्ति, शिवजीको विशाल मूर्ति, राधाकृष्ण र गणेशको मन्दिर आदि निर्माण गरिएको छ। अध्यक्ष श्रेष्ठका अनुसार विभिन्न धार्मिक चाडपर्वसँगै दैनिक रूपमा आउने भक्तजनले चढाउने गरेको दानबाट वार्षिक करिब २५ लाख संकलन हुने गरेको छ।

साउन महिनाको प्रत्येक सोमबार एवम् अन्य दिनमा गरिने सन्ध्या आरती पनि यहाँको आकर्षण बन्दै गएको छ। छायाक्षेत्रमा विशेषतः नयाँ वर्ष, साउने संक्रान्तिसहित सोही महिनाको प्रत्येक सोमबार, हरितालिका तीज, कृष्ण जन्माष्टमी, महाशिवरात्रि, मातातीर्थ औँसीलगायतका विभिन्न पर्वमा भक्तजनको भीड लाग्ने गर्दछ।

मन्दिरमा विवाह, व्रतबन्धलगायतका मांगलिक कार्यका लागि पनि समयसमयमा दर्शनार्थी आउने गर्दछन्। उक्त धार्मिक क्षेत्रको विकासलाई लक्षित गरी २०७६ सालमा महायज्ञ गरिएको थियो।

उक्त महायज्ञबाट करिब ६० लाख संकलन भएको छाया क्षेत्र सेवा समितिका सचिव कृष्ण श्रेष्ठले जानकारी दिए। धर्म र पर्यटनलाई जोड्ने गरी यहाँको पूर्वाधार विकासका योजनाअघि सारिएको बताउँदै उनले अपेक्षित सबै काम सम्पन्न गर्न करिब १२ करोडसम्म लाग्ने अनुमान गरिएको बताए।

‘मन्दिर परिसरमा हिन्दू धर्मसँग सम्बन्धित सबै देवीदेवताको मूर्ति राख्ने योजनामा छौँ,’ उनले भने, ‘राजमार्गसँग जोडिएको धार्मिक एवम् ऐतिहासिक यो तीर्थस्थललाई पुग्नै पर्ने गन्तव्यका रूपमा स्थापित गर्ने हाम्रो दीघकालीन लक्ष्य छ।’

राजमार्गमा यात्रारत यात्रुले सवारी साधनबाटै यस तीर्थस्थलको अवलोकन गर्न सक्ने किसिमले पहाड तथा रूख कटान गर्ने, पार्क निर्माण गर्नेलगायतका विभिन्न योजनाअघि बढाइएको उनले बताए।। मन्दिरवरपर झण्डै २/ ३ बिघा सार्वजनिक जग्गा रहेको र त्यसलाई संरक्षण तथा उपयोगमा समितिले जोड दिएको छ।

व्यवस्थापन गर्न समस्या भएसँगै बाच्छाबाच्छी चढाउन छोडियो

मन्दिरमा विगतमा भक्तजनले विभिन्न मनोकांक्षासहित बाच्छाबाच्छी चढाउने गरिएकामा पछिल्लो समयमा उक्त प्रचलन हराएको छ। मन्दिरमा गौशाला नहुँदा चढाइएका बाच्छाबाच्छीको व्यवस्थापन गर्न नसकिने भएपछि बाच्छाबाच्छी चढाउन रोक लगाइएको सचिव श्रेष्ठले जानकारी दिए।

‘करिब १५ वर्षअघिसम्म पनि मन्दिरमा विभिन्न भक्तजनबाट बाच्छाबाच्छी चढाउने गरिन्थ्यो’, उनले भने,’व्यवस्थापनकै समस्याका कारण उक्त प्रचलनलाई हटाएर परेवाको जोडी चढाउने क्रम सुरु भएको हो।’ मन्दिरमा बलि भने चढाउने प्रचलन छैन।

मन्दिरमा पछिल्लो समयमा प्रदेश सरकार, नगरपालिका र मन्दिर समितिको साझेदारी कार्यक्रमअन्तर्गत पूर्वाधार विकासका काम बढेसँगै आगामी दिनमा यो क्षेत्र महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुने अपेक्षा गरिएको छ।

गण्डकी प्रदेश सरकारले पनि यस स्थललाई गण्डकी प्रदेशका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा सूचिकृत गरेको छ। आगामी दिन यो तीर्थस्थल धर्म र पर्यटनको सेतुका रूपमा स्याङ्जा जिल्लाको मात्र नभई समग्र गण्डकी प्रदेशकै गन्तव्य बन्ने विश्वास गरिएको छ।

संघ-संस्थाको भ्रमणमा छाया क्षेत्र समेटिँदै

विभिन्न समाजिक संघसंस्थाले आफ्ना भ्रमणका गन्तव्यमा छायाक्षेत्रलाई समेट्ने गरेका छन्। कास्की, स्याङ्जा, तनहुँ आसपासका जिल्लामा बढ्दै गएको घुम्ने संस्कृतिको विकाससँगै पछिल्ला समयमा यी जिल्लाबाट विभिन्न संघसंस्थाबाट सर्वसाधारण छाया क्षेत्र आउने गरेका छन्।

कास्कीको पोखरा महानगरपालिका-३२ तल्लो गगनगौंडाबाट नवीन टोल विकास संस्थाको संयोजनमा ६३ सदस्यीय टोलीले हालै छायाक्षेत्रको अवलोकन भ्रमण गरेको संस्थाका अध्यक्ष पुष्पराज शर्मा पौडेलले जानकारी दिए।

‘धार्मिक एवम् पौराणिक महत्त्वको यस क्षेत्रको प्राचीन मौलिकतालाई जोगाउँदै संरक्षण विकास गर्नुपर्ने देखिन्छ’, पौडेलले भने, ‘राजमार्गसँग जोडिएको उपयुक्त स्थानमा रहेको यस तीर्थस्थलको प्रवर्द्धन गर्न सकेमा स्याङ्जा जिल्लाका साथै गण्डकी प्रदेशकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने पक्का छ।’

यस्ता संस्थाको संरक्षण र विकाससँगै पर्यटकको आकर्षण बढ्दा त्यसले स्थानीय उत्पादनको बिक्री वितरण हुने र प्रत्येक सर्वसाधारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आयआर्जनमा जोडने उनले बताए।

प्रकाशित: १४ पुष २०७९ १५:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 10 =