फेरि सुरु भयो ‘तपाईंको मास्क खोइ?’ अभियान

हिमाल प्रेस १४ पुष २०७९ १३:४८
4
SHARES
फेरि सुरु भयो ‘तपाईंको मास्क खोइ?’ अभियान

काठमाडौँ- ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ?’ अभियान फेरि सुरु गरेको छ। यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरू मास्क खोइ लेखिएका सचेतनामूलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँठाउँमा प्लेकार्ड र सचेनामूलक काम पुनः सञ्चालन गरेको बताए।

‘अहिले धेरै जनाले मास्क लगाउन छाडिसक्नुभएको छ। छिमेकी मुलुकमा देखिएको कोभिड–१९ को महामारीको जोखिममा हामी पनि छौँ,’ उनले भने, ‘त्यसैले मास्क प्रयोग गर्न नबिर्सौँ भन्ने चेतनाका लागि प्ले कार्डको प्रयोग गर्ने र उहाँहरूलाई सुझाव दिने काम भइरहेको छ।’

मंगलबार काठमाडौँ जिल्ला कार्यलय जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहले सार्वजनिक स्थान र सवारी साधानमा हिँड्नेलाई सुसूचित गर्ने र जनचेतना फैलाउनेसम्बन्धी छलफल भएको थियो। ट्राफिक प्रहरीले सोही छलफलपछि मास्क प्रयोग भन्ने सन्देश दिइरहेको उनले बताए।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सूचना अधिकारी देवी पाण्डे खत्रीले अहिले नयाँ भेरियन्टको संक्रमण नदेखिए पनि उच्च सतर्कता अपनाउनका लागि मास्कको प्रयोग बढाउन र रोगको रोकथामका लागि सचेतना बढाउन आग्रह गरिएको बताए।

छिमेकी राष्ट्र चीन र भारतमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ डट सेभेन ९बीएफ डट ७० हालसम्म नेपालमा पुष्टि नभए पनि जोखिम उच्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले बताए।

उनका अनुसार मन्त्रालयले पहिचान रोकथाम र नियन्त्रण र उपचार व्यवस्थापनका लागि तीनै तहका सरकारको सहकार्यका लागि अनुरोध गर्दै आएको छ। ‘अहिले सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिनेहरुको ज्वरो नाप्ने र शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण भइरहेको छ,’ उनले भने।

सिँगान बग्ने, हाँच्छ्युँ धेरै आउने, ज्वरो, खोकी लाग्नुका साथै घाँटी टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या आउने तथा स्वाद हराउने कोभिड–१९ का मुख्य लक्षण हुन्। तर कतिपय अवस्थामा लक्षणका आधारमा सामान्य रुघाखोकी, फ्लु कोभिड–१९ बीचको भिन्नता छुट्याउन नसकिने डा. ठाकुर बताए।

प्रकाशित: १४ पुष २०७९ १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =