माओवादीमा वरीयता विवाद : वर्षमान उपप्रधानमन्त्री रवि लामिछानेभन्दा तल बस्न ‘अनिच्छुक’

हिमाल प्रेस १३ पुष २०७९ १८:१३
282
SHARES
माओवादीमा वरीयता विवाद : वर्षमान उपप्रधानमन्त्री रवि लामिछानेभन्दा तल बस्न ‘अनिच्छुक’

काठमाडौँ- नेकपा माओवादी केन्द्रमा मन्त्री बन्ने विषयमा वरीयता विवाद बढेको छ। एक त मन्त्रीका आकांक्षी अर्को वरीयतामा असन्तुष्टि भएपछि पार्टी अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकसमा परेका छन्। माओवादीबाट मन्त्रीका आकांक्षीमा वर्षमान पुन, शक्तिबहादुर बस्नेत, रेखा शर्मा, सुदन किराती, अमनलाल मोदी, हितबहादुर तामाङ, माधव सापकोटा, सूर्यमान दोङ, हरि चौधरीलगायत छन्।

‘मन्त्रीका आकांक्षी धेरै हुनुहुन्छ। यस्तै वरीयतामा नेता पुनको असन्तुष्टि छ,’ माओवादीका एक पदाधिकारीले भने, ‘रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाएपछि समस्या देखिएको हो।’ ती नेताका अनुसार नेताहरू पुन र बस्नेत रविपछिको वरीयतामा जान असन्तुष्ट छन्। तर मन्त्री भने बन्नुपर्ने अडानमा छन्।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधारमन्त्री बनेका छन्। प्रचण्ड अनुभवीलाई मात्र मन्त्री बनाउने तयारीमा छन्। प्रभावशाली मन्त्रालयको जिम्मेवारी अन्य पार्टीका नेतालाई दिइएकाले आफू निकट नेतालाई मन्त्री बनाउने तयारी उनको छ।

प्रतिनिधिसभामा माओवादीको ३२ सिट छ। राष्ट्रियसभा सदस्य श्रेष्ठ उपप्रधानमन्त्री बनिसकेकाले अब प्रतिनिधिसभा सदस्यबाटै मन्त्री छनोट गरिने एक नेताले जानकारी दिए। ती नेताका अनुसार उपप्रधानमन्त्री श्रेष्ठ पनि तेस्रो वरीयतामा रहनुपरेका कारण असन्तुष्ट छन्। उनले यसबारेमा प्रधानमन्त्री प्रचण्डसँग पनि असन्तुष्टि पोखिसकेका छन्।

प्रधानमन्त्री प्रचण्डलाई अन्य दलका नेताहरूसमेत मिलाएर सरकारमा सामेल गराउनुपर्ने अवस्था छ। प्रचण्ड एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी र केही स्वतन्त्र सांसदहरूको समेत समर्थनमा सरकारमा गएका हुन्।

केही दलले सरकारलाई समर्थन दिए पनि मन्त्रिपरिषद्मा जाने विषयमा निर्णय गरिसकेका छैनन्। तर एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्ड समर्थन गरेका सबै दललाई सरकारमा लैजाने प्रयासमा छन्। त्यसैले मन्त्रालय भागभण्डा मिलाउन प्रचण्ड र ओली आफैँ लागिपरेका छन्। ‘छलफल मन्त्रालयको भागबण्डामा मात्रै सीमित छैन। अन्य महत्त्वपूर्ण पद र प्रदेश सरकारका बारेमा पनि कुराकानी भइरहेको छ’, ती नेताले भने।

प्रचण्ड र ओलीबीच बुधबार खुमलटारमा भएको भेटवार्तामा पनि यिनै विषयमा कुराकानी भएको थियो। ओली र प्रचण्डबीच सरकारको आगामी नीति तथा कार्यक्रमका विषयमा छलफल भएको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। ‘मन्त्रिपरिषद्ले गरेका निर्णय, सेवा प्रवाह र सुशासनको विषय कार्यान्वयन तहसम्म पुर्‍याउने विषयमा छलफल भयो,’ उनले भने, ‘भोलि (बिहीबार) बालुवाटारमा फेरि बैठक बस्दै छ।’

बालुवाटारमा हुने बैठकमा सत्तासाझेदार दलका प्रमुख नेताहरूको उपस्थिति रहनेछ। सो बैठकमा मन्त्रालय भागबण्डाका विषयमा छलफल हुने मल्लले बताए। उनका अनुसार नेकपा ९एस०लाई पनि सरकारमा सहभागी गराउने तयारी भइरहेको छ। प्रचण्डले नेकपा (एस) अध्यक्ष माधव नेपाललाई भेटेर सरकारमा सहभागिताका लागि आग्रह गरिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =