पोखरामा पर्यटन प्रवर्द्धन अपेक्षासहित सडक महोत्सव सुरु

हिमाल प्रेस १३ पुष २०७९ १५:२७
8
SHARES
पोखरामा पर्यटन प्रवर्द्धन अपेक्षासहित सडक महोत्सव सुरु महोत्सव उद्घाटनअघि प्रदर्शन गरिएको र्‍याली। तस्बिर-विजय उत्सव/हिमाल प्रेस

पोखरा– सडकमै खाऔं, सडकै नाँचौ, सडकमै रमाऔं नाराका साथ पोखरामा बुधबारदेखि २४ औं पोखरा सडक महोत्सव सुरु भएको छ। विभिन्न झाँकीसहित र्‍याली आयोजना गरेर महोत्सव उद्घाटन गरिएको छ। पूर्वहल्लन चोकदेखि सुरु र्‍याली लेकसाइडका विभिन्न भाग परिक्रमा गर्दै महोत्सव आयोजनास्थल फेवाताल किनारस्तिथ पार्क पुगेर महोत्सव उद्घाटन गरिएको हो।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महोत्सव उद्घाटन गर्दै महोत्सव पोखराकै ब्रान्ड बनेको चर्चा गर्दै यसको अपनत्व महानगरले लिने बताए। आन्तरिक एवम् बाह्य पर्यटक प्रवर्द्धनमा यस प्रकारका महोत्सवहरूले सहयोग गर्ने उनको भनाइ छ।

यसअघि अफसिजनमा पनि पर्यटन प्रवर्द्धन लक्ष्यका साथ सडक महोत्सवको अवधारणा ल्याएकोमा त्यस समय विविध कारणले महोत्सव आयोजना गर्न नसकिएको रेवान अध्यक्ष एवम् महोत्सव संयोजक नरेश भट्टराईले बताए। नेपालमै सबैभन्दा ठूलो क्षेत्रफलमा हुने भनिएको सडक महोत्सव अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा १७ पुससम्म सञ्चालन हुने उनले जानकारी दिए।

लेकसाइडमा सवारीसाधन आवागमन बन्द गरेर पाँच दिनसम्म सडक महोत्सव गरिन्छ। लेकसाइडको ३ किमी क्षेत्रफल (फिस्टेल गेटदेखि जरेबर) मा सडक महोत्सव हुँदैछ। रेवान अध्यक्ष एवम् महोत्सव संयोजक नरेश भट्टराईले महोत्सवमा सांस्कृतिक कार्यक्रम, रात्रिकालीन कन्सर्ट, मौलिक भेषभूषा प्रदर्शन, खानाका परिकार, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन हुने बताए।

यस्तै, डुंगा दौड, भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार, पर्यटकीय गन्तव्यको डकुमेन्ट्री प्रदर्शनीलगायत मेलाका मुख्य आकर्षण रहेको उनको भनाइ छ। महोत्सवलाई नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश सरकारले प्रवर्द्धन गरेको छ भने मुख्य प्रायोजक टुबोर्ग बियर र नुड सुपेरियर भोड्का हुन्।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा पोखरामा हाइमास्टसहितको सडकबत्ती बुधबार साँझ उद्घाटन हुन लागेको पनि मेयर आचार्यले जानकारी दिए।

महोत्सव उद्घाटन समारोहमा सहभागीहरू। तस्बिर- हिमाल प्रेस
प्रकाशित: १३ पुष २०७९ १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =