जसपा सरकारमा सहभागी हुने-नहुनेबारे राजनीतिक समितिले निर्णय गर्ने

हिमाल प्रेस १२ पुष २०७९ २१:२८
28
SHARES
जसपा सरकारमा सहभागी हुने-नहुनेबारे राजनीतिक समितिले निर्णय गर्ने

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा राजनीतिक समितिको बैठकपछि मात्रै निर्णय गर्ने भएको छ। जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी हुने-नहुने निर्णय गरिसकेको छैन।

पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकमा यसबारेमा छलफल गर्ने जसपाको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार जसपाले अहिले ‘पर्ख र हेर’को रणनीति लिएको छ। यसैगरी उक्त पार्टीले अहिलेसम्म पार्टीको संसदीय दलको नेतासमेत चयन गरेको छैन। प्रतिनिधिसभामा सो दलको १२ सिट रहेको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव यसपटक चुनाव हारेका छन्। संघीय परिषद् अध्यक्ष अशोक राई भने सुनसरीबाट चुनाव जितेर आएका छन्। उनी भने जसरी पनि सरकारमा जाने पक्षमा छन्।

प्रधानमन्त्रीमा नियुक्त माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जसपासहित सात दल र तीन स्वतन्त्र सांसदको समर्थन रहेको छ। नयाँ गठबन्धनमा रहेका दलमध्ये एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको छ र नागरिक उन्मुक्ति पार्टीको चार सिट रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =