२००७ सालको क्रान्ति : दाङदेउखुरी कब्जाको नालीबेली

सन्तोष खडेरी १२ पुष २०७९ १२:३२
2.8k
SHARES
२००७ सालको क्रान्ति : दाङदेउखुरी कब्जाको नालीबेली

नेपाल एकीकरण हुनुपहिले दाङदेउखुरी बाइसे राज्यअन्तर्गत थियो। नेपाल एकीकरणपछि भने दाङदेउखुरी सल्यान गौँडा मातहत गयो। सल्यानी राजाका वंशज तेजबहादुर शाहलाई ‘राजा’ पद र पश्चिमी दाङको भाग र सल्यान समेटेर राज्य रजौटाअन्तर्गत फलाबाङ राज्यका रूपमा ती राजालाई दिएपछि भने दाङ खण्डित हुन पुग्यो।

१९३८ सालमा दाङको मैदानी भाग र देउखुरीलाई भित्री मधेश तौलिहवा गोश्वारा मातहत राखिएको थियो। १९९६ सालमा बुटौलभैरहवा र २००३ सालमा नेपालगन्ज गोश्वाराका मातहतमा राखिएको थियो।

कोइलाबास दाङदेउखुरीको ठूलो बजार थियो। भारतको सीमावर्ती राज्य युनाइटेड प्रोभिन्ससँग जोडिएको यो क्षेत्र दाङदेउखुरी, रुकुम, रोल्पा, सल्यान र प्युठानका मानिसका लागि किनमेल गर्ने मुख्य केन्द्र थियो। भारतीय राज्यको जरवा रेल्वे स्टेसन कोइलाबासबाट पाँच किलोमिटरको दुरीमा थियो।

२००७ सालमा कोइलाबासमा प्रहरीचौकी र बजार अड्डा थियो। त्यहाँ नेपाल सरकारका सुरक्षाकर्मी र बजार अड्डामा सरकारी कारिन्दा रहन्थे। कोइलाबास त्यतिबेला हालको पूर्वपश्चिम राजमार्ग नजिकको देउखुरीबाट करिब ८ घण्टाको पैदल दुरीमा पुग्न सकिन्थ्यो। त्यस्तै घोराहीमा सरकारी अड्डा र बिजौरीमा मालअड्डा थियो।

दाङदेउखुरीमा राजनीतिक चेतनाको प्रारम्भ

२००३ सालमा कलकत्तामा सम्पन्न नेपाली कांग्रेसको प्रथम अधिवेशनमा भाग लिएर फर्किएका भरतमणि शर्मा र सन् १९४२ को भारतछोडो आन्दोलनमा सहभागी भएका गणेशकुमार शर्मा र टेकनाथ गौतमको प्रेरणाबाट दाङमा गोप्य रूपमा एउटा नवयुवक संघ खुलेको थियो। त्यसको अध्यक्षमा अम्मरराज शर्मा र सचिवमा भरतमणि शर्मा थिए।

सदस्यहरूमा खगराज लोहनी, जीवराज आचार्य, गणेशकुमार शर्मा, टेकनाथ गौतम, मीनकेतन शर्मा, लालमणि शर्मा र हिरण्यलाल पन्त थिए। गुप्त रुपमा यस संगठनको नियमित बैठक हुने र जनतामा राजनीतिक चेतना फैलाउने कार्य यस संगठनले गरेको थियो।

२००७ साल कात्तिक २१ गते राजा त्रिभुवनले भारतीय दूतावासमा शरण लिएका थिए। त्यस्तै नेपाली कांग्रेसले विमानबाट पर्चा छरेर क्रान्तिको सुरु गरिसकेको थियो।

नेपाली कांग्रेसले देशमा सशस्त्र आन्दोलन थालेकाले अब दाङमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न सोही कात्तिक २६ गते भाइटीकाको दिन दाङको तेर्हौटेस्थित खगराज लोहनीको घरमा एउटा गोप्य बैठक आयोजना गरिएको थियो। बैठकमा उक्त गुप्त नवयुवक संघका सम्पूर्ण सदस्य सहभागी थिए।

बैठकमा दाङ कांग्रेसले सोझै सशस्त्र संघर्ष गर्ने निर्णय गर्न नसकेरै कांग्रेसले छिट्टै नेपालभित्र आन्दोलन गर्ने र आन्दोलन आवश्यकताअनुसार हिंसात्मक हुन सक्ने घुमाउरो निर्णय गरेको थियो। त्योसँगै बैठकले कामको पनि जिम्मेवारी बाँडफाँट गरेको थियो। त्यसअनुसार अमरराजले लखनउमा रहेका सूर्यप्रसाद उपाध्यायलाई भेट्ने, भरतमणिले पटनामा बीपीलाई भेट्ने, गणेशकुमारले बनारसमा मातृकालाई भेट्ने र टेकनाथले भैरहवामा केआई सिंहलाई भेट्ने गरी सबैजना सम्बन्धित स्थानतर्फ गएका थिए।

गणेशकुमारले बनारसमा आन्दोलनका सर्वोच्च कमान्डर मातृकाप्रसाद कोइरालालाई भेट्दा उनीबाट आन्दोलनका लागि आवश्यक साधन उपलब्ध भएमा सहायता पाउने र त्यसपछि मात्र आन्दोलन गर्ने वचनका साथ केही पर्चा लिएर दाङ फर्किएका थिए।

पार्टी नेतृत्वबाट तत्काल हतियार उपलब्ध नभएपछि आन्तरिक रूपमा उनीहरूले पर्याप्त हतियार जम्मा गरेका थिए। पुस ९ गते नेपाली कांग्रेसले देशमा सुरु गरेको सशस्त्र आन्दोलनलाई दाङदेउखुरीमा कसरी सञ्चालन गर्ने भन्नेबारे त्यस क्षेत्रका केही युवाको अगुवाइमा अपराह्न ४ बजे भुवन-भवन धनबगिया दाङमा एउटा सभा आयोजना गरिएको थियो।

सभाले आन्दोलन कसरी अघि बढाउने भन्ने कुनै योजना बनाउन सकेको थिएन। राति ११ बजेतिर सभास्थलमा कोही पुगेको संकेत मिल्यो। त्यसबाट सबैजना तर्सिए र सतर्कतापूर्वक बसे। पार्टी हाइकमान्डबाट दाङ देउखुरीमा क्रान्ति सञ्चालनको जिम्मेवारीका साथ कोइलाबास नजिकैको भारतीय भूमिमा रहेका भरतमणि शर्माको पत्रका साथ ती युवा त्यहाँ पुगेका रहेछन्।

भरतमणिले पत्रमा ११ गते कोइलाबास आक्रमण गर्ने जानकारी गराएका थिए। साथै उनले सुरहीबाट धर्मबहादुरले सामग्री लिएर आउँदै गरेको उल्लेख गर्दै सोही दिन देउखुरीसमेत कब्जा गर्ने र त्यसका लागि दाङबाट थप स्वयंसेवकलाई लिएर आउन आग्रह गरेका थिए। केन्द्रबाट केही मद्दत नपाएकाले सामान किन्न दाङबाट जतिसक्यो धेरै रकम पठाउनसमेत पत्रमा उनले आग्रह गरेका थिए। पुसेझरीमा जरवाबाट लालटिनको सहारामा रातभर हिँडेर पनि दाङ पुग्ने कलिला विद्यार्थीमा गिरिराज र भेषराज थिए।

२००७ सालमा पूर्वी तराईको कुनै क्षेत्रमा विद्रोही नेपाली कांग्रेसका लडाकुदस्ता। स्रोत- इलुस्ट्रेटेड लन्डन न्युज

कोइलाबास बजार आक्रमण र नियन्त्रण

पुस गते राति धनबगिया दाङमा भरतमणिको पत्र पुगेपछि रातभरमा जम्मा गर्न सकेको केही रकम र अन्य स्वयंसेवकसहित दाङको टोली देउखुरी र कोइलाबासतर्फ प्रस्थान गर्‌यो। निर्धारित कार्यतालिकाअनुसार पुस ११ गते भरतमणि शर्मा, नरबहादुर, काशीराज शर्मा, अमरराज, भोजराज शर्मा, शेरबहादुर शाही अन्य १००-१५० जना युवा स्वयंसेवकका साथमा कोइलाबास नजिकैको भारतीय सीमामा पर्ने जंगलमा जम्मा भए।

बेलुकी ८ बजेतिर त्यहाँ जम्मा भएका मुक्तिसेनाका जवान, स्वयंसेवक र अन्य जनताले शेरबहादुर शाहीलाई कमान्डर बनाए। कमान्डरको आदेशअनुसार त्यहाँ लुकाएका हतियार तत्कालै जम्मा गरे। उनीहरूका साथमा सात थान जति भरुवा बन्दुक रहेको देखिन्छ। ती बन्दुक उनीहरूले प्युठानबाट ल्याएका थिए।

देशभर नेपाली कांग्रेसको सशस्त्र क्रान्ति सुरु भइसकेको थियो। रातिको समयमा बन्दुक पड्केको आवाज सुन्नासाथ त्यहाँ तैनाथ राणा सरकारका सुरक्षाकर्मीसमेत कांग्रेसले आक्रमण गर्न लाग्यो भनी निकै डराए तर कुनै प्रतिकार गरेनन्। प्रहरी प्रमुख भागिसकेका थिए।

कमान्डर शेरबहादुर शाहीले आफ्ना सम्पूर्ण सदस्यहरूलाई चार भागमा विभाजन गरेर १ भाग ‘रिजर्भ फोर्स’ का रूपमा सुरक्षितसाथ राखे। बाँकी तीन समूहलाई तीन तिरबाट कोइलाबास आक्रमण गर्न आदेश दिए। यसरी काशीराज शर्माको टोली कोइलाबासतर्फ अगाडि बढ्यो। कोइलाबास बजार नजिकै पुग्दा पश्चिमतर्फबाट अगाडि बढेको मुक्तिसेनाले हवाई फायर गर्‍यो। यसरी एकातर्फबाट बन्दुक पड्किएपपछि अरू दुई टोलीले समेत बन्दुक पड्काउन थाले।

देशभर नेपाली कांग्रेसको सशस्त्र क्रान्ति सुरु भइसकेको थियो। रातिको समयमा बन्दुक पड्केको आवाज सुन्नासाथ त्यहाँ तैनाथ राणा सरकारका सुरक्षाकर्मीसमेत कांग्रेसले आक्रमण गर्न लाग्यो भनी निकै डराए तर कुनै प्रतिकार गरेनन्। प्रहरी प्रमुख भागिसकेका थिए।

यस्तैमा आफ्ना अन्य सहयोगीका साथ कमान्डर शेरबहादुर शाही बजारक्षेत्रमा प्रवेश गरी सरकारी सुरक्षाकर्मीलाई हतियार राखिदिन आदेश दिए। उनको आदेश पाउनासाथ तिनले तत्काल हतियार राखेकाले सहजै कोइलाबास बजार कांग्रेसको नियन्त्रणमा आयो। त्यहाँ तैनाथ सुरक्षाकर्मीसहित सबै सरकारी कर्मचारीलाई कांग्रेसले नियन्त्रणमा लियो। तर बजार अड्डाका प्रमुख भागिसकेकाले कांग्रेसले फेला पार्न सकेन।

कोइलाबास नेपालगन्ज गोश्वारा मातहत  थियो। त्यहाँ तैनाथ गोश्वारा खरदारले सबै नगद रकम लिई भागेकाले कांग्रेसलाई तीन आनाभन्दा धेरै नगद हात लागेन। यसरी कांग्रेसले रक्तपात बिना सहजै कोइलाबास नियन्त्रणमा लियो। कांग्रेसले त्यहाँ ६ थान थ्रीनटथ्री राइफल फेला पार्‍यो तर ती प्रयोग हुन सक्ने अवस्थामा थिएनन्।

मुक्तिसेनाले कोइलाबास कब्जा गरिसकेपछि बनारसमा अध्यनरत एकराज शर्मा (राष्ट्रिय पञ्चायत सदस्य, कार्यकाल वि.सं. २०३६-४३) त्यहाँ पुगेका थिए। उनलाई मिलेट्री स्टोर बाबुको जिम्मेवारी दिइएको थिए। शर्मा ८-१० दिन त्यहाँ बस्दा उनले २०-२५ जना सिपाहीलाई रातिमा हतियार दिने र बिहान हतियार बुझ्ने काम गर्दथे। त्यस घटनाको स्मरण गर्दै शर्माले भने, ‘त्यहाँको बसाइमा क्रान्तिमा भाग लिने नेताहरूको चरित्रले मलाई क्रान्तिप्रति कत्ति उत्साह नै जागेन बरु उल्टै ठेस पुग्यो।’

कोइलाबास बजार नियन्त्रणमा लिएपछि त्यसै रात नेपाली कांग्रेसले त्यहाँ चारतारे झण्डा फहरायो। भोलिपल्ट  कोइलाबास बजारमा चारतारे झण्डासहित विजयी जुलुस निकाल्यो। पुस १२ गते त्यहाँ स्थानीय जनसरकार गठन गर्‍यो। सरकारको संरचना यस्तो थियो :
सैनिक गभर्नर : शेरबहादुर शाही
प्रधानमन्त्री : गणेशकुमार शर्मा
परराष्ट्र, प्रचार एवं प्रशासन विभाग मन्त्री : काशीराज उपाध्याय
अर्थमन्त्री : भवानीप्रसाद उपाध्याय
स्वास्थ्यमन्त्री : डा. केशरजंग रायमाझी
मन्त्रीहरू : चिन्तामणि शर्मा र दामोदर शर्मा

कोइलाबासमा सैनिक गभर्नरमा नियुक्तिलगत्तै शाहीले सम्बोधन गरेका थिए।  शाहीले गरेको भाषण यस्तो थियो :

‘१०४ वर्षको अत्याचारी राणाशासन समाप्त गरी आजदेखि हामीले जनतन्त्रको जग स्थापित गर्‍यौँ। आजदेखि कुनै एउटा मानिसको होइन, हामी सबैको राज्य भयो। यसको रक्षा गर्नु हामी सबैको कर्तव्य हो। हाम्रो यस जनसरकारले आजदेखि चुरोटको ठेक्का तोड्दछ। देशमा कुनै कुराको पनि एकाधिकार दिनु राष्ट्रको घाँटी च्याप्नु हो। आजैदेखि सिगरेट, बिँडी र नुनमा रोक्का छैन।’

दाङदेउखुरीको मुख्य प्रवेशद्वार कोइलाबास नियन्त्रणमा लिएलगत्तै सोही दिन देउखुरीको घोराहमा रहेको प्रहरी चौकीसमेत नियन्त्रणमा लिने मुक्तिसेनाको योजना थियो। तर सुरहीनाका तर्फबाट धर्मबहादुर समयमै नपुगेकाले देउखुरीमा आक्रमण हुन सकेन।

देउखुरी ठाना आक्रमण र नियन्त्रण

२००७ सालताका देउखुरीमा प्रहरी चौकी घोराह भन्ने ठाउँमा थियो। हालको गढवा क्षेत्रमा पर्ने घोराह त्यतिबेला देउखुरी क्षेत्रको प्रशासनिक केन्द्र थियो। सिंगो देउखुरी क्षेत्रमा यही मात्र प्रहरीचौकी थियो। कांग्रेसले देउखुरी कुन दिनमा कब्जा गर्‍यो भन्नेमा केही मतभिन्नता भए पनि १९५० को डिसेम्बर २७ अर्थात् २००७ को पुस १३ मा कब्जा गरेको हो भन्ने प्रमाण बलियो छ।

कांग्रेसले पुस ११ मा दाङदेउखुरीको मुख्य नाका कोइलाबास कब्जा गरिसकेको थियो। आन्दोलनमा संलग्न भरतमणि शर्माका अनुसार कोइलाबास र देउखुरी एकै दिन कब्जा गर्ने योजना थियो। तर सुरहीखोलातिरबाट आउने धर्मबहादुर थापा नआइपुगेकाले आक्रमण भएन। भोलिपल्टका लागि कर्यक्रम तय भयो र त्यसैअनुसार भयो।

१२ गते मात्र कोइलाबासलाई आफ्नो नियन्त्रणमा लिएर जनसरकार गठन गरेको र त्यसमा संलग्न काशीराजलगायतका अन्यका भनाइ आधार मान्दा १२ गतेको भोलिपल्ट १३ गते मात्र देउखुरीमा आक्रमण भएको देखिन्छ।

कोइलाबासलाई आफ्नो नियन्त्रणमा लिएर त्यहाँ जनसरकारसमेत गठन गरेर कांग्रेसले आफ्नो स्थिति बलियो बनाइसकेको थियो। कोइलाबास आक्रमणपछि केही हतियारसमेत फेला पार्न सकेकाले कांग्रेसको स्थिति केही बलियो पक्कै भएको थियो।

१३ पुसमा कोइलाबासबाट आएका गणेशकुमार शर्मा र सुरहीखोलातिर बाट आएका धर्मबहादुर थापाको भेट देउखुरीको चन्दनपुर (चन्दनपुर भन्ने ठाउँ त्यतिबेला ठाना रहेको घोराह नजिकको ठाउँ हो।) टेकनाथ गौतमको भनाइ आधार मान्ने हो भने धर्मबहादुरले झण्डिनगरतिरबाट केही हतियार साथमा लिई आएका थिए।

कोइलाबासलाई आफ्नो नियन्त्रणमा लिएर त्यहाँ जनसरकारसमेत गठन गरेर कांग्रेसले आफ्नो स्थिति बलियो बनाइसकेको थियो। कोइलाबास आक्रमणपछि केही हतियारसमेत फेला पार्न सकेकाले कांग्रेसको स्थिति केही बलियो पक्कै भएको थियो।

पुस १३ गते राति धर्मबहादुर थापा, गणेशकुमार शर्मा, भक्तनारायण चौधरी, फत्तेबहादुर खड्का, टेकबहादुर खड्का, जोखन चौधरी, ज्योतिसिंह ठकुरी र मेहरमान क्षेत्रीलगायतका मुक्तिसेनाको सशस्त्र दस्ता र स्वयंसेवकसहित करिब ३५-४० जनाको समूहले देउखुरीको घोराहमा रहेको प्रहरी ठाना आक्रमण गर्‍यो।

केहीको भनाइअनुसार राति २ बजेदेखि करिब १ घण्टासम्म दुवैतर्फबाट गोली चल्यो। ३ बजेतिर प्रहरी चौकीबाट गोली चल्न बन्द भयो। मुक्तिसेना त्यहाँ पुगेर हेर्दा प्रहरीहरू हतियार लिएर भागिसकेकाले देउखुरी सहजै कब्जा भयो। त्यहाँ कुनै पनि किसिमको क्षति पनि पुगेन। हतियार पनि हात लागेन।

अर्को दिन बिहान त्यहाँ कांग्रेसको चारतारे झण्डा फहरायो। देउखुरी कब्जा गरिसकेपछि त्यहाँको शासनको जिम्मेवारी भने कोइलाबासको जनसरकारलाई दिइयो। त्यस्तै त्यहाँको स्थानीय रुपमा रेखदेख गर्ने जिम्मा भक्तनारायण चौधरी र फत्तेबहादुर खड्कालाई दिइएको थियो। गणेशकुमार शर्मा र धर्मबहादुर थापा मुक्तिसेनाका अन्य टोलीका साथ घोराहीतर्फ लागे।

घोराही अड्डा र बिजौरी मालअड्डा आक्रमण र नियन्त्रण

दाङका कांग्रेसीहरूले केन्द्रको सहयोग बिना नै कोइलाबास र देउखुरी कब्जा गरिसकेका थिए। उनीहरूले केन्द्रलाई सहयोग पठाउनसमेत निरन्तर रुपमा अनुरोध गरिरहेका थिए। नेपाली कांग्रेसका सभापति मातृकाप्रसाद कोइराला, ओभरल कमान्डर सुवर्णशमशेर राणा र पश्चिम क्षेत्रको सैनिक सञ्चालक गोपालशमशेरबीच निरन्तरको पत्राचारमा केन्द्रले दाङ देउखुरीलाई हतियारसहितको मद्दत पठाउने चर्चा गरिएको भए पनि दाङको घोराही र बिजौरी कब्जा गर्दासमेत पनि केन्द्रको सहयोग पुगेको स्पष्ट हुँदैन।

कांग्रेसले कोइलाबास र देउखुरी कब्जा गर्नासाथ त्यसबाट आत्तिएर दाङमा हुने सम्भावित आक्रमण रोक्न सल्यान गौँडाका बडाहाकिमले दाङको सुरक्षाका लागि हतियारसहित करिब २०-२५ जना थप सरकारी फौज पठाइसकेका थिए। ती फौज बिजौरी मालअड्डा रक्षाका लागि तैनाथ गरिएका कारण बिजौरी माल ठूलो सुरक्षाघेराभित्र थियो। क्रान्तिकारीहरूले बिजौरीको स्थित बुझेर पहिले घोराहीमा रहेका ठाना र अमिनीमा आक्रमण गर्ने निधो गरे।

सोहीअनुसार पुस १३ गते बिहान ६ बजेतिर दामोदर आचार्य, मीनकेतन शर्मा, खगराज लोहनी, दत्तात्रेय शर्मा, टेकनाथ गौतम, रणबहादुरलगायतले करिब ३०० जना स्वयंसेवकसहित घोराही ठाना (प्रहरी चौकी) र घोराही अमिनी (अदालत) मा आक्रमण गरे।

आक्रमण गर्दा त्यहाँका प्रहरी, कर्मचारी र हाकिम पहिल्यै भागिसकेका हुनाले त्यसलाई सहजै नियन्त्रणमा लिए। त्यसपछि त्यहाँ नेपाली कांग्रेसको चारतारे झण्डा फहराइयो। जेलका जेलर खुस्लबहादुर गिरीले साँचो दामोदर आचार्यलाई बुझाउन खोज्दै थिए। क्रान्तिकारीहरूले भने जेललाई गिरीको जिम्मामा छाडिदिए। केही समयपछि जेलमा रहेका गम्भीर मामिलाका अपराधीबाहेकका साधारण कसुरदारलाई जेलबाट रिहा गरे।

सरकारी सेनाको बलियो नियन्त्रणमा रहेको बिजौरी मालअड्डामा अझै पनि क्रान्तिकारीले सीधा आक्रमण गर्न सक्ने स्थितिमा थिएन। त्यसैले त्यहाँ आक्रमण गरी रक्तपात हुन दिनुको साटो त्यहाँ तैनाथ सुरक्षाकर्मीलाई सम्झाएर आत्मसमर्पण गराउने योजनामा उनीहरू थिए।

सबै सिपाही नि:शस्त्र भएपछि बाध्य भएर आत्मसमर्पण गरे। यसरी १० मिनेटमा क्रान्तिकारीहरूको बुद्धिमत्ताले बिनारक्तपात बिजौरी माल नियन्त्रणमा आयो। त्यहाँ रहेको करिब १४-१५ हजार रुपैयाँसमेत नियन्त्रणमा लिएर कांग्रेसको चारतारे झण्डा फहरायो।

१४ गते राति मीनकेतन शर्मा, दत्तात्रेय शर्मा, शेरबहादुर थापा, रणबहादुर, मेदनीराज, लेखनाथ, केशवराज, पर्सा बाबाहरू अम्मरराज शर्माकहाँ जम्मा भए। सम्झाइबुझाइ आत्मसमर्पण गराउने योजना बन्यो।

क्रान्तिकारीहरूलाई चारैतिर तयारी अवस्थामा राखेर आफ्नो साथमा पिस्तोल लुकाएर दत्तात्रेय शर्मा र खगराज लोहनी बिहानै बिजौरी मालमा पुगे। सरकारी सुरक्षाकर्मी केही उठेकै थिएनन् भने केही भर्खरै उठेर शौच गर्न लागेका थिए।

हतियार सुरक्षाका लागि एकजना सिपाही तैनाथ थिए। क्रान्तिकारीहरूले सोचे भन्दा बिलकुलै फरक आफूअनुकूल परिस्थिति त्यहाँ देखे। दत्तात्रेयले पिस्तोल देखाएर तत्काल हतियारको सुरक्षार्थ तैनाथ सिपाहीबाट हतियार लिए। खगराजले बाहिर बसिरहेका क्रान्तिकारी साथीहरूलाई भित्र बोलाएपछि हतियार भण्डारणकक्ष सहजै तरिकाले कब्जा गरे। सबै सिपाही नि:शस्त्र भएपछि बाध्य भएर आत्मसमर्पण गरे। यसरी १० मिनेटमा क्रान्तिकारीहरूको बुद्धिमत्ताले बिनारक्तपात बिजौरी माल नियन्त्रणमा आयो। त्यहाँ रहेको करिब १४-१५ हजार रुपैयाँसमेत नियन्त्रणमा लिएर कांग्रेसको चारतारे झण्डा फहरायो।

कोइलाबास नाका।

बिजौरी मालकब्जा गर्दा देउखुरीबाट गणेशकुमार शर्मा र धर्मबहादुर थापा घोराही पुगिसकेका थिए। पुस १५ गते दाङदेउखुरीको शान्तिसुरक्षा र प्रशासन सञ्चालनका लागि प्रान्तीय जनसरकार गठन गरियो।

प्रान्तीय जनसरकार मन्त्रिमण्डल यस्तो थियो :

धर्मबहादुर थापा : गभर्नर
गणेशकुमार शर्मा : प्रधानमन्त्री
दामोदर आचार्य : उपप्रधानमन्त्री
खगराज लोहनी : अर्थमन्त्री
रामप्रसाद श्रेष्ठ : यातायातमन्त्री

शेरबहादुर थापा, पण्डित प्रयागनारायण मिश्र, लालमणि गौतम, ललितबहादुर शाह र खिल्लतबहादुर शाह विभिन्न विभागका मन्त्री नियुक्त भएका थिए। यातायातमन्त्री रामप्रसाद श्रेष्ठको सोही १९ फागुनमा निधन भयो। जनसरकारले सम्मानका साथ उनको अन्त्येष्टि गरेको थियो।

दाङदेउखुरी प्रशासन जनसरकारबाट नेपाल सरकारको स्वामित्वसम्म

करिब ४ महिनापछि वैशाख दोस्रो साता दाङदेउखुरीबाट दामोदर शर्मा, गणेशकुमार शर्मा, परशुराम चौधरी, हरदेवप्रसाद पाँडे र दत्तात्रेय शर्मा काठमाडौँ पुगेका थिए। अन्तरिम सरकारका तत्कालीन गृहमन्त्री बीपी कोइरालाले २००८ साल वैशाख १४ गते सिंहदरबारको गृह विभागमा दाङ देउखुरी, प्युठान र सल्यानका प्रतिनिधि सम्मिलित एउटा भेला डाकेका थिए। भेलामा उपस्थित दाङका प्रतिनिधिहरूले गृहमन्त्रीसमक्ष गोश्वारा राख्दिन माग राखे।

गृहमन्त्री कोइरालाले तत्काल दाङदेउखुरीलाई एउटा गोश्वारा कायम गरी एकजना बडाहाकिम खटाइदिने र बाँकी आवश्यक बन्दोबस्त पछि गरिदिने आश्वासन दिए। प्रतिनिधिमण्डलले काठमाडौँमा वैशाख २१ गते राजदरबारमा राजा त्रिभुवनसँग पनि भेटेको थियो।

गृहमन्त्री बीपीले आश्वासन दिएको एक सातामा दाङदेउखुरीमा नयाँ गोश्वारा कायम भयो। बडाहाकिम नियुक्त गरिए। दाङदेउखुरी गोश्वाराको पहिलो बडाहाकिममा अनिरुद्रप्रसाद सिंह नियुक्त भए। गणेशकुमार र दत्तात्रेयले बडाहाकिम सिंहलाई साथै लिएर २३ गते दाङदेउखुरी फर्किए।

राजालाई भेट्ने दाङदेउखुरीका प्रतिनिधिमा दामोदर शर्मा, गणेशकुमार शर्मा, परशुराम चौधरी, हरदेवप्रसाद पाँडे र दत्तात्रेय शर्मा थिए। प्रतिनिधिमण्डलले त्यस क्षत्रेको परिस्थिति र देशमा व्याप्त छुवाछुतप्रथाको समेत कुरा गरेका थिए। राजाले उनीहरूको कुरा बडो ध्यानपूर्वक सुनेर त्यसमा ध्यान दिने आश्वासन दिएका थिए।

गृहमन्त्री बीपीले आश्वासन दिएको एक सातामा दाङदेउखुरीमा नयाँ गोश्वारा कायम भयो। बडाहाकिम नियुक्त गरिए। दाङदेउखुरी गोश्वाराको पहिलो बडाहाकिममा अनिरुद्रप्रसाद सिंह नियुक्त भए। गणेशकुमार र दत्तात्रेयले बडाहाकिम सिंहलाई साथै लिएर २३ गते दाङदेउखुरी फर्किए।

दाङका केही स्थानीय अभिलेखमा २००८ साल जेठ ३ गते छुट्टै प्रशासनिक दाङदेउखुरी जिल्ला कायम भएकाले सोही दिन नै दाङ जनसरकार विघटन भयो भन्ने उल्लेख गरिएको पाइन्छ।

बडाहाकिममा सिंहलाई नियुक्त गरेपछि गोरखापत्रको समाचारले गणेशकुमार शर्मालाई दाङ सामायिक सरकारका भूतपूर्व प्रधानमन्त्री एवं हाल राप्ती पश्चिमाञ्चल नेपाली कांग्रेसका प्रमुख संगठनकर्ता भनेको विषयलाई दुई ढंगले हेर्न सकिन्छ।

पहिलो कहीँकतै दामोदरप्रसाद शर्मालाई प्रधानमन्त्री भनेकाले पछि कतै जनसरकार पुनर्गठन भएर दामोदरप्रसाद शर्मा प्रधानमन्त्री भएका हुन् कि? दोस्रो बडाहाकिम नियुक्त गरिसकेकाले जनसरकार विघटन भएको सम्झिएर गणेशकुमार शर्मालाई भूतपूर्वप्रधानमन्त्री भनेको हो कि? यस बारेमा थप अध्ययन र खोजी जरुरी छ।

सन्दर्भ सामग्री
पश्चिम नेपालमा प्रजातान्त्रिक आन्दोलन २००७ – भवेश्वर पंगेनी
राप्ती अञ्चलको इतिहास तथा केही संस्मरणहरू – टेकनाथ गौतम
नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको भूमिका – डा. राजेश गौतम
दाङ-देउखुरी उपत्यकाको क्रान्ति चेतनाको इतिहास – भरतमणि शर्मा
नेपालको नोभेम्बर क्रान्ति – रामहरि शर्मा
नेपालको प्रजातान्त्रिक आन्दोलनमा दाङ कांग्रेसको भूमिका- तिलकबहादुर डाँगी
युगवाणी वर्ष-४, अंक-३८
गोरखापत्रका विभिन्न अंकहरू
दाङको राजनीतिक शैक्षिक इतिहासका अध्येता पत्रकार सुदीप गौतमका विभिन्न फेसबुक पोस्टहरू


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =