‘बोलक्कड’ रविको वास्तविक परीक्षा सुरु

हिमाल प्रेस ११ पुष २०७९ १८:३३
82
SHARES
‘बोलक्कड’ रविको वास्तविक परीक्षा सुरु तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- ६ महिनाअघिसम्म टेलिभिजन कार्यक्रममा रवि लामिछाने सरकारको प्रतिपक्षी नेताझैँ प्रस्तुत हुन्थे। कार्यक्रममा उनको प्रस्तुति निकै कडा हुन्थ्यो।

घटना वा विषयवस्तुको तथ्यभन्दा उनी कुनै विषयमा नेताले जस्तै भाषण गर्थे। जनताको मन जित्न खोज्थे। त्यसैले सर्वसाधारणदेखि नेतासम्मले उनको कार्यक्रममा रुचि राख्थे। टेलिभिजन कार्यक्रममा चर्को बोलीबाट पहिचान बनाएका रवि ६ महिनाअघि मात्रै राजनीतिमा प्रवेश गरेका हुन्। आफैँले पार्टी गठन गरेर छोटै अवधिमा सफल हुनेमध्येमा पर्छन् रवि।

रविले सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको शपथ लिएका छन्। चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट संसद्मा निर्वाचित रवि राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सभापति हुन्। रविले निर्वाचन लड्ने घोषणा गरेपछि माओवादी अध्यक्ष दाहालले आफू चुनाव लड्दै आएको क्षेत्र चितवन छाडेर गोरखा गएका थिए।

बाल्यकालदेखि नै बोलक्कड

२०४०/४१ सालमा काठमाडौँको बौद्ध महांकालस्थित भृकुटी स्कुलमा पढ्दा नै रवि लामिछाने अरूभन्दा सिर्जनशील, स्टेजमा आएर बोल्ने र विभिन्न स्कुलमा आयोजना हुने प्रतियोगितामा भाग लिन पुग्थे। यही क्रममा उनलाई स्टेजमा उभिएर बोल्ने सीपको पनि विकास भएको थियो।

नर्सरीदेखि कक्षा आठसम्म भृकुटी स्कलुमा पढेका रविले एसएलसी भने विजयस्मारक स्कुलबाट गरेका हुन्। उनका बालसखा राजु कोइराला भन्छन्, ‘रवि सानैदेखि बोल्न अघि सर्थे। स्कुल छाड्ने बेलासम्म बोलीबाट पनि उनले आफ्नो पहिचान बनाइसकेका थिए।’

बोल्ने क्षमता बढ्दै गए पनि रवि नेताको जस्तो भाषणबाजीमा लागेनन्। अर्थात् कलेज पढ्दा उनले बढ्दा उनी विद्यार्थी राजनीतिमा संलग्न भएनन्। विगत ६ महिनाअघि फर्कने हो भने पनि ४८ वर्षीय रवि सामान्य मतदाताबाहेक देखिने गरी आबद्ध भएनन्।

विद्यार्थीकालमा आफ्नो पढाइ र ‘करियर’ मै केन्द्रित भएका उनले बेलायत र अमेरिकामा गएर पनि सञ्चारसम्बन्धी सीप सिकेका छन्।

५० को दशकमा राजधानीमा एफएम रेडियो सञ्चालनको बाढी नै आयो। यही क्रममा उनले केही रेडियोमा काम गरेर आफ्नो पहिचान बनाएका थिए। फिल्मी पत्रकारितामा लागेका उनी धेरै समय भने टिकेनन्। ६० को दशकपछि उनको रोजाइ अमेरिका बन्यो। उनी उतैतिर जम्दै थिए। तर उनलाई नेपाली सञ्चार क्षेत्रमै काम गर्ने हुटहुटी जाग्यो र नेपाल फर्किए।

सन् २०१३ को अप्रिलमा न्युज ट्वान्टी– फोर टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय अन्तर्वार्ता चलाएर गिनिज वर्ल्ड रेकर्ड्स कायम गरेपछि उनी थप चर्चामा आए। फिल्मी पत्रकारिता र रेडियोमा आवाज सुनाउँदै आएका रवि अब टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा चिनिन थाले। उनले सञ्चालन गर्ने ‘सीधा कुरा जनतासँग’ लोकप्रिय बन्न पुग्यो। त्यसपछि उनी आफैँ टेलिभिजनको मालिक बने।

२०७९ मा लामिछानेले ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्ध निर्देशकबाट राजीनामा दिएर उनले प्रतिनिधिसभा निर्वाचन लड्न राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्ने घोषणा गरे। उनी त्यही पार्टीबाट चुनाव लडेर संसद्मा निर्वाचित भएका छन्। उनको पार्टीले प्रत्यक्ष र समानुपातिक गरी संसद्मा २० सिट छ।

नयाँ पार्टी घोषणा गर्दै रविले आफ्नो पार्टीले कहिल्यै कसैसँग चन्दा नलिने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले भनेका थिए, ‘चन्दाको गन्धा धन्धा हाम्रो पार्टीले कहिल्यै गर्दैन। उनले आफ्नो पार्टीको अवधारणा पनि सार्वजनिक गरेका थिए। आफ्नो पार्टीको भ्रातृसंगठन नहुने पनि घोषणा गरेका थिए।

व्यवस्था बदल्न नभई नेपाली जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा होमिएको बताउँदै राजनीतिमा आएका उनले जनतालाई ठूला सपना नबाँड्ने तर जनताले भोग्नुपरेका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका थिए।

उनले भनेका थिए, ‘‘हामीले जहिले पनि बेकारमा सरकारी अड्डाहरूमा झन्झट बोक्नुपर्ने अवस्था आएको छ। बिचौलियारहित सरकारी अड्डा र ढिलासुस्ती नगरी, कसैलाई नचिनी जान पाए पनि आम मान्छेको जीवन सहज हुन्थ्यो। यी सामान्य मुद्दामा कसैको ध्यान गएन।’ यही मुद्दालाई लिएर जनतासामु गएका रास्वपा स्थापनाको ६ महिनामै सरकारको प्रमुख हिस्सेदार बन्न सफल भएको हो।

चुनावका बेला उनले प्रमुख दलका शीर्ष नेताहरूको निकै आलोचना गरेका थिए। उनी माओवादी अध्यक्ष दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाप्रति बढी नै आक्रामक हुन्थे। उनको सत्तारोहणका लागि प्रमुख भूमिका खेलेका ओलीसँग र प्रधानमन्त्री प्रचण्डसँग अब उनी कस्तो भूमिकामा प्रस्तुत होलान्? चासोको विषय छ।

गृह मन्त्रालयको नेतृत्वमा रविको मातहत नेपाल प्रहरी, सशस्त्र प्रहरी बलजस्ता सुरक्षा अंग उनै मातहत आएका छन्। साथै देशको सुरक्षा प्रशासन मात्रै होइन, दैनिक प्रशासन चलाउने नेतृत्वदायी भूमिकामा उनको परीक्षा सुरु भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =