प्रदेश १ मा एमालेले सरकार बनाउने, मुख्यमन्त्रीमा कार्की निश्‍चित

विवेक विवश रेग्मी १० पुष २०७९ २२:२०
166
SHARES
प्रदेश १ मा एमालेले सरकार बनाउने, मुख्यमन्त्रीमा कार्की निश्‍चित हिक्मत कार्की। फाइल तस्बिर।

इटहरी– प्रदेश १ मा नेकपा एमालेको सरकार बन्ने निश्चित भएको छ। एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएसँगै प्रदेश १ मा एमालेको सरकार बन्ने निश्चित भएको हो।

यसअघि नेपाली कांग्रेससँग गठबन्धन भए पनि आज (आइतबार) अपराह्न प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। सात दलका सांसद र तीन स्वतन्त्र सांसदको समर्थनसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको दाबी गरेका प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएपछि प्रचण्ड एमाले अध्यक्ष केपी ओली निवास बालुवाटार पुगेका थिए। बालुवाटारमा भेला भएको सातदलीय बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएसँगै प्रदेश १ मा एमालेको सरकार बन्ने निश्चित भएको हो।

प्रदेश १ का सांसदलाई सोमबार (पुस ११) गते शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेशसभा सचिवालयले जनाएको छ। त्यसअघि आइतबार (आज) एमालेले संसदीय दलको नेतामा हिक्मतकुमार कार्कीलाई चयन गरेको छ। ०७४ सालमा सम्पन्न निर्वाचनपछि शेरधन राई मुख्यमन्त्री हुँदा कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री चयन भएका थिए। एमाले अध्यक्ष ओलीको क्षेत्रबाट प्रदेशसभातर्फ दोस्रोपटक निर्वाचित भएका कार्की मुख्यमन्त्री बन्ने निश्चितजस्तै भएको छ।

यसअघि कांग्रेसको नेतृत्वमा गठबन्धन रहेको अवस्थामा भने जनता समाजवादी पार्टी (जसपा) सरकारका निर्माणका लागि निर्णायक बनेको अवस्था थियो। तर, केन्द्रमा माओवादीसहित जसपा सरकारमा सहभागी भएसँगै प्रदेश १ मा पनि सोही सत्तासमीकरण बन्ने भएको हो। संघीय सरकार गठनको प्रक्रियामा एमाले निर्णायक बनेसँगै प्रदेश १ को पनि राजनीतिक समीकरण बदलिएको हो।

यसअघि कांग्रेस नेतृत्वको सत्ता पक्षमा रहेका माओवादीलगायतसँग ४६ जना सांसद हुँदा एमाले र राप्रपासँग पनि ४६ जना सांसद थिए। दुवैले सरकार बनाउने अभ्यास गरे पनि जसपाबाट एक्ली सांसद निर्मला लिम्बू निर्णायक थिइन्।

९३ सदस्यीय प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ प्रदेश सांसद छनोट हुने संवैधानिक व्यवस्था छ। जसअनुसार प्रदेश १ मा सबैभन्दा ठूलो दल रहेको एमालेसँग ४० सांसद छन्। दोश्रो स्थानमा रहेको कांग्रेससँग २९ जना सांसद छन् भने तेश्रो स्थानमा रहेको माओवादी केन्द्रसँग १३ सांसद छन्। राप्रपासँग ६, नेकपा एकीकृत समाजवादीसँग ४ र जसपासँग १ सांसद छन्।

प्रदेश १ मा एमाले, माओवादी, राप्रपा र जसपाको मत जोड्दा ६० सिट पुग्छ। ९३ जनाको प्रदेशसभामा बहुमतका लागि ४७ जना हुँदा सरकार गठन गर्न सहज हुन्छ।

मुख्यमन्त्रीमा कार्की पक्का

केन्द्रमा माओवादीले प्रधानमन्त्री पाएसँगै प्रदेश १ मा एमालेले मुख्यमन्त्री पाउने सहमति माओवादीसँग भएको बुझिएको छ। एमालेबाट संसदीय दलको नेता भएका उनै कार्की मुख्यमन्त्री सम्भावना बढेको नेताहरू बताउँछन्।

प्रकाशित: १० पुष २०७९ २२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − four =