राजा त्रिभुवनको दुर्लभ हस्ताक्षर रहेको क्रिसमस कार्ड

सन्तोष खडेरी १० पुष २०७९ ८:४५
2.8k
SHARES
राजा त्रिभुवनको दुर्लभ हस्ताक्षर रहेको क्रिसमस कार्ड राजा त्रिभुवन र उनको हस्ताक्षर रहेको सन् १९५२-५३ को क्रिसमस र नयाँ वर्षको शुभकामना कार्ड। तस्बिर स्रोत : क्वाइन सर्किट

राणा शासनको सय वर्षभन्दा बढी समयसम्म नेपाल संसारका अन्य मुलुकको सम्पर्कबाट टाढा थियो। विदेशी नेपाल आउन र नेपाली समुद्र तरेर विदेश जाने प्रचलन थिएन।

उतिखेर नेपालका सर्वेसर्वा थिए राणा प्रधानमन्त्री। उनीहरूले अनुमति दिएका विदेशीले मात्र नेपाल आउन पाउँथे। राजकीय कामका लागि प्रधानमन्त्रीले अनुमति दिएका एकाध नेपालीमात्र समुद्र पार गरेर विदेश जान्थे।

भारतमा काम गर्न जाने र ब्रिटिस सेनामा भर्ती भएर दुवै विश्वयुद्धमा संसारका विभिन्न भागमा जाने सैनिकहरूको प्रसंग भने बेग्लै हो। दोस्रो विश्वयुद्धसम्म त नेपालको कूटनीतिक सम्बन्ध पनि बेलायतसँगमात्र थियो। त्यतिबेलासम्म पश्चिमाहरूले मनाउने क्रिसमस र नयाँ वर्षमा नेपालले शुभकामना दिने प्रचलन त्यति थिएन।

भारतमा ब्रिटिस उपनिवेश कायम रहेसम्म भारतका हिन्दूहरूका लागि नेपाल एकमात्र स्वतन्त्र हिन्दू अधिराज्य थियो। ब्रिटिस उपनिवेशबाट भारत स्वतन्त्र भएपछि पनि त्यहाँका हिन्दूसहित संसारभरका हिन्दूका लागि नेपाल एकमात्र हिन्दू अधिराज्य थियो।

नेपालीका लागि दसैँ सबैभन्दा महत्त्वपूर्ण चाड थियो। हिन्दू नेपालीले दसैँलाई महत्त्वपूर्ण चाड मानेजस्तै इसाई धर्मावलम्बीका लागि क्रिसमस महत्त्वपूर्ण पर्व रहेको त्यतिबेलाका राणा शासकको बुझाइ थियो।

भारतमा नेपाल सरकारको प्रतिनिधिका रूपमा वकिल रहने व्यवस्था थियो। उनीहरूमार्फत राणा प्रधानमन्त्रीले त्यहाँका गभर्नर जनरललाई क्रिसमसको शुभकामना कार्ड पठाएको भने पाइँदैन। त्यस्तै नेपालस्थित ब्रिटिस रेजिडेन्टसमेत क्रिसमस र नयाँ वर्ष मनाउन बिदा लिएर बेलायततिर जाने प्रचलन थियो। त्यसैले पनि त्यतिबेला नेपालका प्रधानमन्त्रीले ब्रिटिस रेजिडेन्सीमा पनि शुभकामना सन्देश पठाएको पाइँदैन।

सन् १९३४ मा नेपालले लन्डनमा नेपाली दूतावास स्थापना गरेको थियो। भारतमा ब्रिटिस शासन रहेसम्म नेपालको ब्रिटिससँगको सम्बन्ध भने सीधै बेलायतबाट नभई यहीँ भारतबाट नै हुने गथ्र्याे। नेपालले लन्डनमा दूतावास खोलेपछि त्यहाँ लन्डनमा फरेन अफिस र इन्डिया अफिससँग सम्बन्ध विस्तार गरेको थियो। तर पनि नेपालबारेको महत्त्वपूर्ण निर्णय भने लन्डनले पनि दिल्लीसँगको परामर्शमा लिने गथ्र्याे।

नेपालका आवासीय प्रतिनिधि लन्डनस्थित नेपाली दूतावासमा रहेपछि भने नेपालका प्रधानमन्त्रीले ब्रिटिस सरकारसँग नभई ब्रिटिस राजपरिवारसँग सम्बन्ध विस्तार गरेका थिए। त्यसैले त्यसपछिका दिनमा नेपालका प्रधानमन्त्रीले ब्रिटिस राजपरिवारको जन्मदिन सँगसँगै क्रिसमस र नयाँ वर्षको शुभकामना ब्रिटिस सम्राट्, राजकुमार र बकिङ्घम राजदरबारको सचिवालय सदस्यलाई पठाउन थालेका थिए।

नेपालका प्रधानमन्त्रीले लन्डनस्थित आफ्ना राजदूतमार्फत उनीहरूलाई शुभकामना सन्देश पठाउने गर्थे। त्यहाँस्थित नेपाली राजदूतले समेत दूतावासका तर्फबाट कूटनीतिक वृत्तमा क्रिसमस र नयाँ वर्षको शुभकामनासन्देश पठाउन थालेका थिए।

सन् १९४७ मा पद्मशमशेरको पालासम्म आउँदा नेपालको कूटनीतिक सम्बन्ध अमेरिकासँग पनि स्थापना भइसकेको थियो। तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले नेपालका राजा त्रिभुवनलाई नेपालीको महान् चाड बडा दसैँमा शुभकामना सन्देश पठाउँथे।

दोस्रो विश्वयुद्धको कठिन परिस्थितिमा नेपालस्थित ब्रिटिस राजदूत पनि क्रिसमस र नयाँ वर्ष मनाउन बेलायत जान पाएनन्। त्यतिबेला नेपालका प्रधानमन्त्रीले उनलाई पनि क्रिसमस र नयाँ वर्षको शुभकामना सन्देश पठाउँथे।

नेपालमा बिजुलीको काम गर्ने किलवर्नसहित अन्य क्षेत्रमा पनि एकाध अन्य विदेशी कार्यरत थिए। उनीहरूलाई पनि प्रधानमन्त्रीले क्रिसमस र नयाँ वर्षको शुभकामना सन्देश पठाउँथे।

सन् १९४७ मा पद्मशमशेरको पालासम्म आउँदा नेपालको कूटनीतिक सम्बन्ध अमेरिकासँग पनि स्थापना भइसकेको थियो। तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले नेपालका राजा त्रिभुवनलाई नेपालीको महान् चाड बडा दसैँमा शुभकामना सन्देश पठाउँथे।

त्यस्तै नेपालबाट राजा त्रिभुवनले जुलाई ४ अमेरिका स्वतन्त्रता दिवस सँगसँगै क्रिसमस र नयाँ वर्षको शुभकामना सन्देश पठाउँथे। त्यसपछिका दिनमा नेपालको सम्बन्ध विदेशीसँग बढ्दै गएको थियो। यसरी सम्बन्ध बढ्दै गएपछि नेपालले क्रिसमस र नयाँ वर्षको शुभकामना सन्देश पठाउने क्रम पनि बढेको थियो।

सन् १९४९-५० सम्म आउँदा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री र राजाले पठाउने क्रिसमस शुभकामना सन्देश कार्ड भारत, कलकत्तामा छपाउन थालिएको थियो। कार्ड कलकत्तास्थित नेपाली महावाणिज्यदूतावासले छापेर नेपाल पठाउने गर्थ्यो।

नेपालमा २००७ सालमा प्रजातन्त्र आयो। त्यसपछिका दिनमा संयुक्त राष्ट्रसंघको विभिन्न निकायअन्तर्गत विदेशीहरू नेपालमा काम गर्न आएका थिए। टोनी हेगन त्यसैमध्येका भूगर्भविद् थिए।

अमेरिकाको ‘पोइन्ट फोर’ कार्यक्रमअन्तर्गत पउल रोज र अन्य अमेरिकी नेपाल आएका थिए। नेपालको कूटनीतिक सम्बन्ध फ्रान्ससँग पनि विस्तार भएको थियो। लन्डन र भारतमा रहेका नेपाली दूतावासले पनि त्यहाँस्थित अन्य दूतावासलाई आआफ्ना तर्फबाट क्रिसमस र नयाँ वर्षको शुभकामना सन्देश पठाउने गर्न थालेका थिए।

यसरी नेपालभित्र र बाहिरका विभिन्न नेपाली निकायले पनि क्रिसमस र नयाँ वर्षको शुभकामना सन्देश पठाउन थालेका थिए।

प्रत्येक वर्षको डिसेम्बर २५ मा क्रिसमस डे र त्यसको एक हप्तापछि नयाँ वर्ष पर्ने गरेकाले दुवैको शुभकामना सन्देश एकैपटक पठाउने प्रचलन छ। अचेल हाम्रोमा दसैँ, तिहार, नेपाल संवत् र छठको शुभकामना एकैपटक एउटै सन्देशमा जारी गरेजस्तै।

राजा त्रिभुवनको दुर्लभ हस्ताक्षर रहेको सन् १९५२ को क्रिसमस र सन् १९५३ को नयाँ वर्षको शुभकामना सन्देश कार्ड हालै एक अनलाइन लिलामी (अक्सन) साइटमा फेला परेको छ। त्यसको तलपट्टि शुभकामना पठाउनेमा राजा त्रिभुवन वीरविक्रम शाहको अंग्रेजीको छोटकरी नाम टी.बी.बी. शाह लेखिएको हस्ताक्षर छ। सबैभन्दा तल बायाँपट्टि नारायणहिटी राजदरबार लेखिएको छ भने बायाँपट्टि १९५२–५३ मिति राखिएको छ।

अहिले फेला परेको त्यस कार्डबाट त्यो कार्ड कसलाई पठाइएको थियो भन्ने खुल्दैन। किनकि त्यसमा कसैको नाम उल्लेख छैन। त्यतिबेला सबै कार्ड एकैपटक छपाउने त्यसपछि त्यसमा हस्ताक्षर गरेर जसलाई पठाउने हो, त्यसको नाम बाहिर खाममा लेखेर पठाउने प्रचलन थियो। त्यसैले खाम नभएटिएकाले त्यो कार्ड कसलाई पठाएको भन्ने जानकारी हुन नसकेको हो। तर राजा त्रिभुवनको दुर्लभ अंग्रेजी हस्ताक्षर रहेको कार्ड सबैका लागि रोचक हुन सक्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nineteen =