कानुन व्यवसायी निहिता भन्छिन्, दलहरूको खिचातानीले शोभराजले ढिला न्याय पाए

हिमाल प्रेस ८ पुष २०७९ १५:५९
22
SHARES
कानुन व्यवसायी निहिता भन्छिन्, दलहरूको खिचातानीले शोभराजले ढिला न्याय पाए अध्यागमन विभागमा विश्वास। तस्बिर-दिपेश श्रेष्ठ/ हिमाल प्रेस

काठमाडौँ- कानुन व्यवसायीहरूले ‘सिरियल किलर’ चार्ल्स शोभराजको रिहाइमा ढिलाइ भएको बताएका छन्। सर्वोच्च अदालतको फैसलासँगै केन्द्रीय कारगारबाट थुनामुक्त भई शुक्रबार अध्यागमन विभागको जिम्मा लगाइएका शोभराजलाई फ्रान्स पठाइँदैछ।

शोभराजको पक्षमा वकालत गर्दै आएकी कानुन व्यवसायी निहिता विश्वासले राजनीतिक गुटबन्दीका कारण उनको रिहाइमा ५ वर्ष ढिलाइ हुन गएको बताइन्। उनले अध्यादेश ल्याउने र आफ्ना मान्छेलाई मात्रै कारागारबाट छुटाउन खोज्ने राजनीतिक खिचातानीको मारमा शोभराज पर्न गएको बताइन्।

कानुन व्यवसायी विश्वासले मुटुरोग लागेका शोभराज कारगारभित्रै निधन हुने देखेपछि पनि अदालतले उनलाई रिहा गर्ने निर्णय लिएको बताइन्। उनले भनिन्, ‘मिडियाका कारण अदालतलाई निर्णय एकदमै दबाब थियो।’ उनले पाँच वर्षअघि नै यो प्रक्रिया टुंगोमा पुगिसक्नुपर्नेमा प्रशासनिक ढिलासुस्ती र सरकार तथा राजनीतिक दलहरूको खिचातानीका कारणले लम्बिएको बताइन्।

उनले भनिन्, ‘राजनीतिक दलहरूले आ-आफ्नो मान्छेलाई मात्रै निकाल्न खोजेकाले पनि यो प्रक्रियामा ढिलाइ हुन गयो। अध्यादेश ल्याउने र आफ्नो मान्छे मात्रै छुटाउन खोज्दा शोभराज मात्र नभई अन्य कैदीबन्दी मारमा परेका छन्।’ यसपटक सर्वोच्चले साहस देखाएको उनको भनाइ छ। उनले भनिन्, ‘मुटुको रोग लागेर उनको निधन हुन सक्ने भएकाले यी सबै विषयवस्तुलाई पनि ध्यानमा राखेर सर्वोच्च अदालतले यो फैसला गरेको छ।’

वरिष्ठ अधिवक्ता रामबन्धु शर्माले शोभराजलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेश सराहनीय रहेको प्रतिक्रिया दिएका छन्। शोभराजको पक्षमा वकालत गर्दै आएका उनले शोभराजको रिहा गर्ने सर्वोच्च अदालतको फैसलाले मानव अधिकारको सम्मान गरेको र उनी स्वयम्ले पनि न्याय पाएको प्रतिक्रिया दिए। उनले भने, ‘सर्वोच्च अदालतको जुन आदेश भयो यो सराहनीय छ। यो आदेशबाट मानव अधिकारको सम्मान भएको छ। ढिलै भए पनि न्याय शोभराजले न्याय पाएका छन्।’

प्रकाशित: ८ पुष २०७९ १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 10 =