गठबन्धन फुटाउने एमाले रणनीति

किरण पौडेल ८ पुष २०७९ १७:०१
100
SHARES
गठबन्धन फुटाउने एमाले रणनीति फाइल तस्बिर

काठमाडौँ- दलहरूबीच सरकार निर्माणका लागि छलफल जारी रहेका बेला नेकपा एमाले भने गठबन्धन फुटाउन सक्रिय भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आइतबार ५ बजेसम्मको समयसीमा दिएकी छन्। समयसीमाभित्र बहुमत जुटाउने प्रयासमा दलहरू छन्।

सत्ता गठनका विषयमा दलहरूसँग हुने कुराकानीमा एमाले नेताहरूले गठबन्धन फुटाउने विषयलाई प्राथमिकतामा राख्दै आएका छन्। अहिलेको गठबन्धनको सरकारबाट जनता आजित भइसकेकाले अब यसलाई निरन्तरता दिन नहुने पक्षमा एमाले छ।

‘गठबन्धन भइरहे देश अघि बढ्दैन भनेर हामीले भनिरहेका छौँ। गठबन्धन छुटेमा मात्र हामी अघि बढ्छौँ, ’ एमाले उपमहासचिव विष्णु रिमाल भन्छन्। उनले अहिलेको गठबन्धनको औचित्य सकिएको बताए।

एमालेले प्रतिनिधिसभामा ७८ सिट ल्याएर दोस्रो दल बनेको छ। ८९ सिट ल्याएर नेपाली कांग्रेस पहिलो बनेको छ। कांग्रेससँग माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमोर्चा लगायतका दल गठबन्धन बनाएर चुनावमा गएका थिए। ती दलहरू गठबन्धनलाई निरन्तरता दिने गृहकार्यमा जुटिरहेका छन्। गठबन्धन फुटाउन एमालेले सबै दलका उच्च नेतृत्वलाई विभिन्न पदको आशा देखाइरहेको छ।

एमालेका दोस्रोस्तरका नेताले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल जारी राखेका छन्। माओवादीसँगका छलफलमा सक्रिय एमाले उपाध्यक्ष सुवास नेम्वाङले पनि गठबन्धन फुटाउने विषयमा जोड दिँदै आएका छन्। यसका लागि उनले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको आस देखाइरहेका छन्।

‘गठबन्धन भइरहे देश अघि बढ्दैन भनेर हामीले भनिरहेका छौँ। गठबन्धन छुटेमा मात्र हामी अघि बढ्छौँ,’ एमाले उपमहासचिव विष्णु रिमाल भन्छन्। उनले अहिलेको गठबन्धनको औचित्य सकिएको बताए।

‘प्रचण्डसँग  विभिन्न विषयमा छलफल भइरहेको छ,’ नेम्बाङ निकट स्रोतले भन्यो, ‘सबै कुरा भन्न मिल्दैन। तर माओवादीका दोस्रोस्तरका नेतासँग पनि सघन छलफल चलिरहेको छ।’

एमालेले कांग्रेस नेताहरूसँग भने दुई दलबीच मिलेर सरकार बनाउनुपर्ने प्रस्ताव राखेको छ। उपाध्यक्ष नेम्बाङ र कांग्रेस नेता रमेश लेखकबीच बिहीबार भएको भेटवार्तामा यसै विषयमा छलफल भएको थियो।

एमालेले कांग्रेससँगको छलफलमा उठाउने एउटै कुरा हो, राष्ट्रपति/सभामुख जस्ता पद बाँड्नुपर्ने। तर यो काम त्यति सहज छैन। यही कारण एमालेले कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिनुपर्ने तर राष्ट्रपतिजस्ता पद एमालेलाई दिनुपर्ने अडान राखेको हो। रिमालले भने, ‘सबै उच्चस्तरीय पदमा हाम्रो पनि दाबी रहन्छ।’

स्थिरताका लागि एमाले-कांग्रेसको सरकार बनाउन उपयुक्त रहने एमाले महासचिव शंकर पोखरेलले बताउँदै आएका छन्। ‘कसैको बहुमत छैन। सरकार पूर्णकाल चलाउन गाह्रो हुन्छ,’ उनले भनेका छन्।

कांग्रेसको पनि साना दललाई साथमा लिएर सरकार बनाउन भन्दा ठूलो दल साथमा लिँदा सहज हुने बुझाइ छ। यही मौकाको फाइदा लिने दाउमा एमाले छ।

माओवादीका नेता वर्षमान पुन पनि एमालेसँग तालमेल गर्ने प्रयासमा छन्। गठबन्धन फुटाएर एमालेको समर्थनमा प्रचण्ड नेतृत्वमा सरकार बनाउने विषयमा उनले छलफल गरिरहेका छन्।

पाँच वर्षअघि एमालेले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद लिएको थियो। एमाले-माओवादी गठबन्धन हुँदा एमालेबाट राष्ट्रपतिमा विद्यादेवी भण्डारी र प्रधानमन्त्रीमा केपी शर्मा ओली निर्वाचित भए।

यसपटक एमालेले कुनै पद नपाउने सम्भावना छ। एमालेले दुवै पदका लागि लबिङ गरिरहेको छ। ‘गठबन्धन भएसम्म हामी सबै पदमा अल्पमतमै पर्छौँ। त्यसैले हाम्रो अस्तित्व बचाउन पनि गठबन्धन रहनु हुँदैन,’ एमालेका अर्का एक नेताले भने।

ओलीप्रति प्रचण्डको अविश्वास

२०७४ सालको चुनावपछि एमाले-माओवादीबीच आधाआधा कार्यकाल सरकार चलाउने सहमति भएको थियो। तर तत्कालीन नेकपामा आएको किचलोका कारण सहमति कार्यान्वयन भएन।

ओली पनि पाँच वर्ष प्रधानमन्त्री हुन पाएनन् भने प्रचण्ड प्रधानमन्त्री हुनै पाएनन्। ओलीले सहमति गरेर पनि कार्यान्वयन नगरेको प्रचण्डको आरोप छ।

यही कारण अहिले प्रचण्ड ओलीलाई विश्वास गरिरहेका छैनन्। एमालेका दोस्रोस्तरका नेताले प्रचण्डलाई पहिलो कार्यकालमै प्रधानमन्त्री अफर गर्नुको कारण पनि यही हो। ‘नेकपा विघटनकै कारण हाम्रा नेताहरू रुष्ट छन्। मिलाउन सहज छैन,’ एमालेका एक नेताले भने, ‘प्रचण्डलाई प्रधानमन्त्री अफर गर्दा गठबन्धन फुट्छ कि भन्ने हो।’

प्रचण्ड कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्दा सहज हुने विश्वासमा छन्। माओवादीका एक नेता भन्छन्, ‘कांग्रेससँग सरकार बनाउँदा गठबन्धन निरन्तरता दिन पाइने तर एमालेसँग हुँदा भत्काउनुपर्ने हुन्छ।’ प्रचण्ड तत्काल गठबन्धन भत्काउने पक्षमा नरहेको ती नेताले बताए।

एमालेको आस प्रदेशमा

यही गठबन्धन निरन्तर रहेमा सातै प्रदेशमा एमालेको सरकार बन्ने सम्भावना छैन। प्रदेश १ मा एमाले-जसपा गठबन्धन भए सरकार बन्न सक्छ।

गठबन्धन फुटाउन सकेमा संघदेखि प्रदेशसम्मै हिस्सा पाउन सक्ने एमाले बुझाइ छ। वाम गठबन्धन हुँदा २०७४ सालपछि एमालेले चार प्रदेशमा सरकारको नेतृत्व गरेको थियो। तर अहिलेको अवस्थामा सबै प्रदेशमा प्रतिपक्षमा बस्नुपर्ने देखिन्छ। प्रदेशमा  सरकारको नेतृत्व पाउनका लागि पनि कुनै न कुनै दलसँग गठबन्धन गर्नुपर्ने पक्षमा एमाले छ।

‘प्रदेशमा पनि हामीले गठबन्धनसँगै मिलेर जानु उपयुक्त हुन्छ। नभए भोलि बनेका सरकार पनि चल्न गाह्रो हुन्छ,’ एमाले नेता विष्णु रिजाल भन्छन्।

एमालेको पुरानै रोग

भन्ने एक थोक अनि गर्ने अर्को थोक एमालेको पुरानै प्रवृत्ति हो। एमालेका नेताहरू प्रतिपक्षमै बस्ने बताउँदै आएका छन्।

अध्यक्ष केपी शर्मा ओलीले एक टेलिभिजन अन्तर्वार्तामा पनि आफूलाई प्रतिपक्षमै बस्ने जनमत पाएको बताएका छन्। आफू सत्ताको खेलमा नलाग्ने उनको भनाइ छ। तर ओली प्रधानमन्त्री बन्न सकिन्छ कि भनेर सबै दलका नेतासँग समन्वयमा छन्। उनको पक्षमा गठबन्धनका नेता नलागेका कारण अरूलाई समर्थन गर्न राजी भएको बताउने गरेका छन्।

एमालेका अर्का एक नेता भन्छन्, ‘अध्यक्षज्यू देउवालाई प्रधानमन्त्री बनाउन राजी हुनुहुन्छ। तर राष्ट्रपति एमालेले लिने सर्त छ।’ ओली पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने पक्षमा भने देखिएका छैनन्। आफू प्रधानमन्त्री हुँदा अदालतको प्रयोग गरेर प्रचण्डले हटाएको रिस उनले भुलेका छैनन्।

प्रकाशित: ८ पुष २०७९ १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =