किमाथाङका-अरुण जलविद्युत् निर्माणको तयारी

हिमाल प्रेस ८ पुष २०७९ १३:५५
6
SHARES
किमाथाङका-अरुण जलविद्युत् निर्माणको तयारी

काठमाडौँ- ४५४ मेगावाट क्षमताको किमाथाङका–अरुण जलविद्युत् आयोजनाको प्रक्रिया अगाडि बढाइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् उत्पादन कम्पनीले अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयारीका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।

संखुुवासभामा रहेको आयोजनाको परामर्शदाताका रूपमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीले काम गरिरहेको छ। कम्पनीका अनुसार अरुण नदीमा जगदेखि १४० मिटर र नदीको सतहदेखि ७० मिटर अग्लो बाँध निर्माण हुनेछ। सोही बाँधका कारण अरुण नदीमा ३५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ताल बन्नेछ।

आयोजनास्थलबाट ५०० मिटर तल पुङमुछीमा विद्युत् गृह निर्माण हुनेछ। आयोजनाका लागि ८०० मिटर ब्यास भएको करिब ५ हजार ९१८ मिटर लामो भूमिगत हेडरेस सुरुङ निर्माण हुनेछ। विद्युत्गृह भूमिगत हुनेछ। त्यसमा हेडरेस सुरुङबाट ल्याइएको पानीलाई चार वटा टर्बाइनमा खसाली विद्युत् उत्पादन हुनेछ।

विद्युत् उत्पादन पश्चात् करिब ७५१ मिटर लामो रेलरेस सुरुङमार्फत् पानी पुनः अरुण नदीमा छाडिनेछ। आयोजनाका अधिकांश संरचना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा निर्माण हुनेछन्।

आयोजनाका लागि प्राधिकरणले सहायक कम्पनी स्थापना गरेर वित्तीय व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको छ। आयोजनाले वातावरणीय रुपमा पार्नसक्ने प्रभावको बारेमा आवश्यक जानकारी सात दिनभित्र दिन कम्पनीले आग्रह गरेको छ।

अरुण नदीमा हाल भारतीय कम्पनी सतलज विद्युत् निगमले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। यस्तै, सोही कम्पनीले तल्लो अरुणसमेत जिम्मा लिएको छ ।

अरुण–४ जलविद्युत् आयोजनाको पनि प्राधिकरण र सोही कम्पनीले संयुक्त रुपमा काम गरिरहेका छन्। १ हजार १०० मेगावाट क्षमता बराबरको माथिल्लो अरुणको पनि प्रक्रिया अगाडि बढाइएको छ।

प्रकाशित: ८ पुष २०७९ १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =