सहरी मन्त्रालय काठमाडौँ महानगरको साथमा छ : मन्त्री चौधरी

हिमाल प्रेस २९ मंसिर २०७९ १९:५६ | Thursday, December 15, 2022
सहरी मन्त्रालय काठमाडौँ महानगरको साथमा छ : मन्त्री चौधरी फाइल तस्बिर।

काठामडौँ– सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौँ महानगरपालिकाले विकासको काम गर्दा आधुनिकता ध्यानमा राखी मौलिकता जोगाउनुपर्ने बताएका छन्। बिहीबार काठमाडौँ महानगरको २८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन्।

काठमाडौँ मौलिक र ऐतिहासिक संस्कृतिले धनी सहर रहेकाले यहाँका सम्पदा संरक्षण गर्नु महानगरको पहिलो कर्तव्य रहनुपर्ने उनको भनाइ छ। फोहर र ढल व्यवस्थापन काठामडौँको समस्या रहेकाले यसको समाधानका लागि आफ्नो मन्त्रालयबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। काठमाडौँ महानगरले गर्ने विकास निर्माणका काममा संघीय सरकारका तर्फबाट गर्नसक्ने सहयोगका लागि सहरी विकास मन्त्रालय सधैं साथमा रहेको पनि उनले बताए।

कार्यक्रममा कामपाका प्रमुख बालेन्द्र साहले संघ सरकार र स्थानीय तहको सहकार्यमा नागरिकले चाहना गरेअनुसारको काठमाडौँ बनाउनेमा आफ्नो निरन्तर प्रयास रहने धारणा राखे। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाको समग्र विकासका लागि काठमाडौँ र ललितपुर महानगर एकापसमा सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको स्पष्ट पारे।

यस्तै काठमाडौँ २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले सफा र सुन्दर सहरमा बस्ने काठमाडौँवासीको सपना साकार पार्न लागि संघ र स्थानीय तहको सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।

कामपाले आफ्नो २८औँ वार्षिकोत्सव समारोह सप्ताहव्यापी कार्यक्रम गरी मनाएको हो। सोअन्तर्गत एकैदिन ८९ वटा सामुदायिक विद्यालयको सरसफाइ, नदी, विश्व सम्पदा क्षेत्र, खुला स्थानको सरसफाइ, चित्रकला/निबन्ध र वक्तृत्वकला प्रतियोगिताजस्ता कार्यक्रम गरिएको थियो।

०५२ साल मंसिर २९ गते तत्कालीन काठमाडौँ नगरलाई महानगर घोषण गरेपछि हरेक वर्ष सोही दिनलाई महानगर दिवसका रूपमा मनाउने गरिएको हो। १९७६ साल पुस २ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै ०५२ मंसिर २९ गते काठमाडौँलाई महानगर घोषणा गरिएको थियो।

प्रकाशित: २९ मंसिर २०७९ १९:५६ | Thursday, December 15, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast