म्याग्दी : सामुदायिक स्वास्थ्य चौकी बनाउन पुराण, ३५ लाख संकलन

हिमाल प्रेस २७ मंसिर २०७९ १०:११ | Tuesday, December 13, 2022
म्याग्दी : सामुदायिक स्वास्थ्य चौकी बनाउन पुराण, ३५ लाख संकलन

म्याग्दी- म्याग्दीको मंगला गाउँपालिका १ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न ३५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग जुटेको छ।

यसका लागि यही मंसिर १५ देखि २२ गतेसम्म श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञ आयोजना गरिएको थियो। महायज्ञ आयोजक समितिका प्रचार–प्रसार संयोजक खगेन्द्र खत्रीले सोमबार आम्दानी विवरण सार्वजनिक गरेका छन्।

‘३५ लाख ५९ हजार छ सय रुपैयाँ सहयोग घोषणा भएको छ’, उनले भने, ‘घोषणा भएको मध्ये ३१ लाख रुपैयाँ नगद प्राप्त भइसक्यो।’

४४ मुरी धान र छ मुरी जौँ संकलन भएको छ। सामान्य बिरामी हुँदा आधारभूत स्वास्थ्य सेवा लिनसमेत घण्टौँ पैदलयात्रा गर्नुपर्ने बाध्यता भएपछि समुदायले आफैँ लगानी जुटाउन पूर्णगाउँको शिवालय र लक्ष्मीनारायण मन्दिर परिसरमा महायज्ञ सञ्चालन गरिएको थियो। महायज्ञमा देवराज सुवेदीले कथावाचन गरेका छन्।

महायज्ञका कार्यालय सचिव नीलकण्ठ सुवेदीले यज्ञबाट संकलन भएको ३० प्रतिशत रकम शिवालय मन्दिर सञ्चालनका लागि कोष खडा गर्ने र ७० प्रतिशत रकमलाई सामुदायिक स्वास्थ्य एकाइ स्थापनार्थ परिचालन गरिने जानकारी दिए।

पूर्णगाउँमा दुई सयभन्दा बढी घरधुरीको बसोबास छ। यो वडाको स्वास्थ्यचौकी कुहुँमा छ। पूर्णगाउँबाट कुहुँ पुग्न एक घण्टा पैदलयात्रा गर्नुपर्छ।

स्वास्थ्य संस्था टाढा हुँदा औषधोपचारमा समस्या भएकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गर्न लागिएको महायज्ञ आयोजक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले बताए।

प्रकाशित: २७ मंसिर २०७९ १०:११ | Tuesday, December 13, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast