बैंकले अचाक्ली ब्याज बढाएको भन्दै प्रदेश १ का व्यापारीहरू आन्दोलित

हिमाल प्रेस ७ पुष २०७९ २१:३९ | Thursday, December 22, 2022
बैंकले अचाक्ली ब्याज बढाएको भन्दै प्रदेश १ का व्यापारीहरू आन्दोलित बैंकको ब्याजदरविरुद्ध आन्दोलका क्रममा व्यवसायीहरू। तस्बिर- विवेक विवश रेग्मी/ हिमाल प्रेस

इटहरी– बैंकले चर्को ब्याजदर वृद्वि गरेको भन्दै प्रदेश १ का उद्योगी एवम् व्यवसायीहरू आन्दोलित बनेका छन्। सुनसरी, मोरङसहितका उद्योगी व्यवसायीहरूले बैंकको नीतिविरुद्ध बिहीबारबाट आन्दोलनको सुरुवात गरेका हुन्। मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ को संयुक्त आयोजनामा ३ दर्जन बढी संघ संस्थाले विराटनगरस्थित राष्ट्र बैंकको कार्यालयमा बिहीबार धर्ना दिएका छन्।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालका अनुसार सबै व्यापार, व्यवसाय बन्द गर्दै कालोपट्टी बाँधेर राष्ट्र बैंकको कार्यालयमा धर्ना दिइएको हो। प्रतिकूल बैंकिङ नीतिका कारण व्यापार व्यावसाय मर्कामा परेको उनको भनाइ छ। आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए।

उनका अनुसार अहिले ब्याजदर १६ प्रतिशत पुगिसकेकाले समस्या निम्तिरहेको छ। चालू पुँजी कर्जा निर्देशिका खारेज नगरिएसम्म आन्दोलन नरोकिने उनले बताए। आफूहरूको आन्दोलन शुक्रबार पनि जारी रहने व्यवसायीहरूले बताएका छन्। चालू पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने उनीहरूको पहिलो माग छ। चालू पुँजी कर्जा २५ प्रतिशतमा सीमित राख्ने निर्देशिकाले आफूहरू मारमा परेको व्यापारीहरूले बताएका छन्।

‘बन्द हड्तालमा उत्रनु हाम्रो रहर होइन, बाध्यता हो,’ नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले भने, ‘हाम्रो आवाज सम्बोधन नभएपछि सडकमा जानुपर्ने बाध्यता आउको हो। माग पूरा नभएसम्म हामी आन्दोलन जारी राख्नेछौं।’ बिहीबारदेखि सुरु भएको आन्दोलन देशव्यापी बनाएर अगाडि बढ्ने उनको भनाइ छ।

प्रकाशित: ७ पुष २०७९ २१:३९ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast