 
                            
                                            काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च अदालत छिर्न नदिन सरकारले नै प्रहरीलाई सर्कुलर जारी गरेको छ। संघीय संसद्का महासचिव भरतराज गौतमले संसद्को कार्यकाल सकिएसँगै महाअभियोगको प्रस्ताव पनि निष्क्रिय भएको पत्र दिएपछि राणा आज सर्वोच्च जाने तयारीमा छन्।
उनी सर्वोच्च आउने सूचना पाएपछि सर्वोच्च बार, नेपाल बारका सदस्यहरू पनि चोलेन्द्रलाई बाटो छेक्न सर्वोच्चको मुख्य गेटमै धर्ना दिइरहेका छन्। गृहस्रोतका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट नै चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिनू भन्ने आदेश छ।
‘बालुवाटारले नै गृहलाई चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिनू भनेको छ,’ गृह स्रोतले भन्यो, ‘बालुवाटारको निर्देशनअनुसार गृहले प्रहरीलाई सर्कुलर गरेको छ।’ केहीबेर अघिमात्रै सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले राणाविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय नभएको र नयाँ संसद् बैठकमा छलफलका लागि पेस हुने बताएका थिए।
कार्कीले भने, ‘महाअभियोगको सार्वभौम संसद्को सम्पत्ति हो। यसको छलफल अब आउने प्रतिनिधिसभामा हुन्छ।’ सर्वोच्च परिसरमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 