पर्सा- पर्साको वीरगञ्जस्थित सरकारी स्वामित्वमा रहेको नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएको छ।
राउण्ड टेबल नेपालको समन्वय र सिद्धार्थ बैंकको आर्थिक सहयोगमा अस्पतालमा १५ शैययाको डायलासिस सेवा सञ्चालनमा आएको हो। आईसीयू कक्षका लागि भवन निर्माण गरी डायलासिस सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले जानकारी दिए।
नियमित सेवा लिइरहेका बिरामीको अवस्था जटिल बनेमा आकस्मिक डायलासिस कक्षमा उपचार गरिने छ। साथै निमोनियालगायत रोगका कारण एक्कासि मिर्गौलामा असर परेका बिरामीको समेत उपचार गरिने डा प्रधानले जानकारी दिए।
आकस्मिक डायलसिस सेवा लिनेले केही शुल्क तिनुपर्ने र शुल्कबापत डायलासिस गर्ने क्रममा चाहिने विभिन्न सामग्री अस्पतालले नै प्रदान गर्ने डा प्रधानले बताए। यसबाहेक नियमित डायलासिस गर्न आउने दीर्घ मिर्गौला रोगीको हकमा अन्य बेलाजस्तै निःशुल्क सेवा दिने उनको भनाइ छ।
निजी अस्पतालले आकस्मिक डायलसिस सेवाको १० हजारदेखि रु १२ हजार शुल्क लिने गरेका छन्। नारायणी अस्पतालले जम्मा पाँच हजार शुल्क तोकेको छ। पन्ध्र शैयया रहेको आकस्मिक डायलसिसमा दुई शैयया एचआईभी संक्रमितका लागि छुट्याइएको छ।
अहिले नारायणी अस्पतालमा २० देखि २२ वटा डायलसिस मेसिन छन्। यी सबै मेसिन २४सै घण्टा तीन सिफ्ट गरी सञ्चालनमा आए ४० जनासम्मको दैनिक डायलासिस गर्न सकिने डा प्रधानले बताए। उनले भवन निर्माणका लागि सिद्धार्थ बैंकले ५५ लाख र अन्य सहयोगी दाताबाट पाँच लाख रुपैयाँ सहयोग गरी कूल ६० लाख रुपैयाँमा डायलासिस सेवा सञ्चालनमा आएको बताए।

                                             
                                             
                                             
                                             
                                             
                                             

