टेस्ट क्रिकेटमा प्रफुल्लता फर्काउँदै इंग्ल्यान्ड

हिमाल प्रेस ७ पुष २०७९ १९:३० | Thursday, December 22, 2022
टेस्ट क्रिकेटमा प्रफुल्लता फर्काउँदै इंग्ल्यान्ड

भनिन्छ नि जे गर्दा रमाउन सकिन्छ, त्यही गर्नुपर्छ, त्यसमै राम्रो गर्न सकिन्छ। तर लामो समय इंग्लिस टेस्ट क्रिकेटमा भने यो कुरा लागू भएन। यो टिम जति अल्छीलाग्दो पारामा खेल्थ्यो, त्योभन्दा बढी अल्छी उसको खेल हेर्ने दर्शकलाई लाग्थ्यो।

पछिल्लो समय परिस्थिति फेरिएको छ। बेन स्टोक्स र ब्रेन्डोन म्याककुलम यो परिवर्तनका केन्द्र हुन्। यी दुईले राम्रो नतिजा मात्र दिलाएका छैनन्, खेल शैली पनि फेरेका छन्। स्टोक्स र म्याककुलमको नेतृत्वमा इंग्ल्यान्डले १० मध्ये नौ टेस्ट जितेको छ। त्यसमा हालै पाकिस्तानसँगको शृंखला पनि सम्मिलित छ। यत्तिको सफलता हासिल गर्न, इंग्लिस खेलाडीले रमाएर खेलेका छन्।

न्युजिल्यान्डका म्याककुलम सधैँ शान्त देखिन्छन्। स्टोक्स भने फरक मुडमा देखिन्छन्। १४ महिनाअघि मात्र विश्रामबाट फर्किएका उनको मनमा सधैँ एउटै कुरा हुन्छ, इंग्लिस क्रिकेट टिमलाई कसरी आकर्षक बनाउने?

गत अप्रिलमा टेस्ट कप्तान बनेका स्टोक्सले आफ्ना साथी खेलाडीहरुलाई आह्वान गरेका थिए, ‘प्रत्येक टेस्ट खेललाई रोमाञ्चक बनाऔँ। ताकि दर्शकलाई पनि खेल हेर्न मज्जा आओस्। आफू पनि आनन्द मानेर खेल।’ स्टोक्सले जे आह्वान गरे, त्यो गज्जबको सुनिन्छ। तर मैदानमा त्यसलाई लागू गर्न भने सजिलो छैन।

जुनसुकै खेलमा पनि खेलाडीले आफ्नो क्षमतामाथि प्रश्न गरिरहेका हुन्छन्। फेरि यो यस्तो पेशामा हो, जहाँ एकले अर्काको ठाउँ खोस्न मेहनत गरिरहेका हुन्छन्। एउटा शृंखलामा खराब प्रदर्शन गरे टिमबाट बाहिरिनु पर्ने स्थिति असामन्य होइन क्रिकेटमा।

अस्ट्रेलियन क्रिकेटले मानेको महान अलराउन्डर तथा विश्वयुद्धमा युद्धक विमान उडाउने केथ मिलरले भनेका थिए, ‘दबाब युद्धक विमान उडाउँदा हुन्छ, क्रिकेट खेल्दा होइन।’ तर क्रिकेटरका लागि क्रिकेट खेल दबाबमुक्त हुँदैन। खेलाडी आफैँले आफ्ना लागि दबाब सिर्जना गरिहाल्छन्। हुनसक्छ स्टोक्स र म्याककुलमको अहिलेको रणनीति यही हो, आफ्ना लागि दबाब सिर्जना नगर्ने।

लड्समा दक्षिण अफ्रिकासँग पहिलो टेस्ट हारेपछि स्टोक्ससँग आफ्नो टिमलाई सम्बोधन गर्न शब्द कम थिए। ‘टिमका सबै निराश थिए। त्यस्तो परिस्थिति देखेर मैले भने, जे भयो भयो अब जाऔँ गल्फ खेलौँ,’ स्टोक्स सम्झिन्छन्, ‘ मेरो कुरा सुनेर उनीहरु सबै एकअर्कातिर हेर्न थाले। उनीहरुको मुहारबाट तनाव हट्यो। हारपछि कप्तानले के भन्दा भन्ने तनावमा थिए उनीहरु। गल्फ खेल्न जाऔँ भनेपछि उनीहरु हलुका भए।’

यसरी कप्तान स्टोक्स टिममा तनाव कम गर्ने प्रयास गर्छन्। अभ्यास पनि सकभर रमाइलो तरिकाले बितोस् भन्ने चाहन्छन्। तब त कहिलेकाहिँ अभ्यासमै पेनाल्टी सुटआउट खेल्छन् इंग्लिस खेलाडी। हेलमेट लगाएर टेनिस बल हेडर गर्ने प्रयास गर्छन्। अनि म्याककुलमले आफ्नो स्वाद अनुसारको संगीत बजाउँछन्।

कराँचीमा अन्तिम टेस्ट खेल्नुअघि अभ्यासमा कसले बढी छक्का प्रहार गर्ने भन्ने प्रतिस्पर्धा गरियो। कप्तान स्टोक्स र प्रशिक्षक म्याककुलम पनि आमनेसामने भए। म्याककुलमले स्टोक्सलाई हराए। त्यसपछि हारेवापत स्टोक्सले पूरै टिमलाई डिनर ‘सर्भ’ गरे।

पाकिस्तानसँग टेस्ट खेल्नुअघि इंग्लिस टिम आबुधाबी पुगेको थियो, फर्मुला वान हेर्न। अब न्युजिल्यान्डविरुद्धको शृंखला सुरु गर्नुअघि सबै खेलाडीले सँगै बिदा मनाउनेछन्। बिदा मनाउन उनीहरु न्युजिल्यान्डको क्विन्सटाउन पुग्नेछन्। जहाँ उनीहरुको गाइड म्याककुलम हुनेछन्।

यी सबै गर्नुको एउटै कारण छ, खेलाडीलाई दबाब र तनावमुक्त राख्ने। ताकि उनीहरुले मैदानमा आफ्नो स्वाभाविक लय देखाउन सकुन्। उसो त यो टिम सधैँ रमाइलो गर्ने ध्येयमा हुँदैन। विशेषगरी ‘ट्रेनिङ सेसन’ अत्यन्तै गम्भीर ढंगले सञ्चालन गरिन्छ। योजना यसरी बनाइएको हुन्छ कि एक मिनेट समय पनि खेर नजाओस्।

‘मलाई लाग्छ क्रिकेटमा अधिकांश ट्रेनिङ सेसन नामका लागि मात्र गरिन्छ। धेरैजसोले नतिजा दिन्छन् जस्तो लाग्दैन। ट्रेनिङ सेसनको नाममा ३० मिनेट ब्याट घुमाएर समय बर्बाद गर्नु हुँदैन। निश्चित समय व्यति तगर्ने हो भने त्यसले नतिजा दिनुपर्छ,’ स्टोक्स भन्छन्।

स्टोक्सले संकेत गरेझैँ इंग्ल्यान्डको ‘ट्रेनिङ सेसन’ परम्परागत शैलीमा हुँदैन। त्यसैले हो, इंग्ल्यान्डले हाल नतिजा निकालिरहेको छ, त्यो पनि सबैलाई मनपर्नेगरी खेलेर। ट्रेन्टब्रिजमा न्युजिल्यान्ड र एड्गाबास्टोनमा भारतविरुद्ध इंग्लिस ब्याटिङ उच्च लयमा थियो। रावलपिन्डीमा पहिलो दिन ७५ ओभरमा चार विकेट गुमाएर ५०६ रन बनाएर इंग्ल्यान्डले एकपटक फेरि आफ्नो क्षमता प्रमाणित गर्‍यो।

पाकिस्तानसँगको तेस्रो टेस्टमा तनावमा देखिएको इंग्ल्यान्डलाई १८ वर्षीय रेहान एहमदले उद्दार गरेका थिए। ४८ रन खर्च गरेर पाँच विकेट लिएका उनी इंग्ल्यान्डका लागि सर्वाधिक कम उमेर टेस्ट खेल्ने खेलाडी बने। लर्ड्समा १८ महिनाअघि न्युजिल्यान्डविरुद्ध ७५ ओभरमा २७३ रनको लक्ष्य पछ्याउन नसकेको इंग्ल्यान्डले कराँचीमा एक घण्टाभित्र १६७ रन बनायो।

त्यसबेला एहमदलाई तीन नम्बरमा ब्याटिङ गर्न पठाउँदा सायदै कसैले प्रश्न गरे। ओल्ड ट्राफोर्डमा दक्षिण अफ्रिकालाई दोस्रो टेस्टमा इनिङ्सले पराजित गर्दा देखाएको खेल इंग्ल्यान्डको पछिल्लो समयको सर्वोत्कृष्ट प्रदर्शन थियो।

मुल्तानमा पाकिस्तानविरुद्धको दोस्रो टेस्ट अबरार एहमदले ११ विकेट लिनु, तेस्रो टेस्टमा टस हारेर पनि आठ विकेटको जित दर्ता गर्नु इंग्ल्यान्डले दिएको सन्देश थियो, यो टिम फरक तरिकाले खेलिरहेको छ। अहिलेको इंग्ल्यान्ड फरक फरक शैलीमा खेलेर विपक्षीलाई झुक्याउन सक्षम छ।

बलियो लयमा रहेका इंग्ल्यान्डले आउँदा दिनमा कम्तीमा एउटा समस्या भने भोग्नु पर्ने देखिन्छ। सुन्दा अनाैठाे लाग्नसक्छ तर त्याे समस्या पहिलो एघारको छनोट हाे। यो किन पनि चुनौतीपूर्ण छ भने, स्टुवार्ट ब्रोड, जोफ्रा आर्चर र जोनी बेरस्टो जस्ता खेलाडी सन् २०२३ बाट उपलब्ध हुनेछन्।

योसँगै उठेको अर्को प्रश्न हो, केही खेलमा खराब नतिजा निस्किए के इंग्ल्यान्डले अहिलेकै शैलीलाई निरन्तरता दिनसक्छ? इंग्ल्यान्डले दुर्भाग्वश आउँदो आसेस शृंखलामै अपेक्षित प्रदर्शन गर्न सकेन भने?यी प्रश्नमा इंग्ल्यान्ड छिर्न चाहेको छैन। किनभने हालका लागि इंग्ल्यान्ड रमाएर खेलिरहेको छ।

बीबीसीबाट

प्रकाशित: ७ पुष २०७९ १९:३० | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast