गठबन्धन जोगाउने नाममा राष्ट्रपति पदकाे बार्गेनिङ गर्दै पौडेल

हिमाल प्रेस ९ पुष २०७९ १७:१७ | Saturday, December 24, 2022
गठबन्धन जोगाउने नाममा राष्ट्रपति पदकाे बार्गेनिङ गर्दै पौडेल

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने अडान दाेहाेर्‍याएका छन्। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर शनिबार खुमलटार पुग्दा उनले आफ्नाे अडान पुन: प्रस्तुत गरेका हुन्।

भेटमा पौडेलले भने प्रचण्डलाई गठबन्धन कायम राख्न आग्रह गरे। पाैडेलले यही आग्रहका साथ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि भेटे। गठबन्धन नभत्काउन आग्रह गर्दै दुई नेतालाई भेटिरहँदा पाैडेलकाे अर्काे सन्देश थियाे, राष्ट्रपतिमा आफूलाई समर्थन।

प्रधानमन्त्री काे बन्ने भन्ने रस्साकस्सी चलिरहँदा राष्ट्रपतिकाे पद पनि बहसमा छ। गठबन्धनभित्रै फरक फरक व्यक्तिकाे चर्चा भइरहँदा पौडेल पनि राष्ट्रपतिकाे पदका लागि दाैडमा छन्। यसैकारण उनी पछिल्लाे समय अन्य पार्टीका नेतासँग भेटघाटमा सक्रिय भएका हुन्। अध्यक्ष प्रचण्डले पहिलो राउन्डमा आफू प्रधानमन्त्री र कांग्रेसबाट पौडेल राष्ट्रपति बन्नुपर्ने स्पष्ट सन्देश दिएका छन्।

सत्तागठबन्धन नभत्काइकन सरकार बनाउन आवश्यक रहेकाे सन्देश आफूले प्रचण्डलाई दिएको कांग्रेस नेता पौडेलले हिमाल प्रेसलाई बताए। ‘मैले खुमलटार पुगेर सत्तागठबन्धन जोगाऔं भन्न नपाउँदै उहाँले कांग्रेस इमान्दार हुनुपर्छ भन्नुभयो,’ पौडेलले हिमाल प्रेससँग भने, ‘म आफ्नो कुरा गर्न गएको होइन। तर प्रचण्डजीले आफू प्रधानमन्त्री बन्ने अडान राख्दै तपाईं राष्ट्रपति बन्नुपर्छ भन्नु भयाे। मैले याे कुरा छलफलको विषय हाे भनेर आएको छु। मैले उहाँलाई गठबन्धन भत्काउनु हुँदैन पनि भनेको छु।’

दाहालले कांग्रेसबाट राष्ट्रपतिमा पौडेल र आफू प्रधानमन्त्री हुँदा सहकार्यमा निकै गौरव महसुस हुने बताएको उद्धृत गर्दै पौडेलले भने, ‘म पहिलो कार्यकालमा नै प्रधानमन्त्री हुने हो। यसबाट पछि हटेर सहमति हुँदैन।’

पौडेल खुमलटारमा प्रचण्डसँग छलफल सकेर कोटेश्वर पुगी नेपालसँग छलफल गरेका थिए। नेपालले पनि राष्ट्रपतिको पदका लागि आकांक्षा राख्दै आएका छन्। हालको निर्वाचनले एकीकृत समाजवादीलाई राष्ट्रिय दलको मान्यता नदिँदासमेत सत्तागठबन्धनबाट आफूलाई राष्ट्रपतिकाे पद माग्ने व्यक्ति हुन्, नेपाल। उनले आफ्नो पार्टीले राष्ट्रपति वा सभामुख पाउनुपर्ने माग गरिरहे पनि सत्तागठबन्धनका घटक कांग्रेस र माओवादीले भने खासै चासाे दिएका छैनन्।

प्रकाशित: ९ पुष २०७९ १७:१७ | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast