उत्कृष्ट एकजना पाठकलाई १० हजार पुरस्कार

हिमाल प्रेस ८ पुष २०७९ ७:४० | Friday, December 23, 2022
उत्कृष्ट एकजना पाठकलाई १० हजार पुरस्कार

कैलाली- कैलालीस्थित टीकापुर सामुदायिक पुस्तकालयका उत्कृष्ट पाठकलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

महिनाभरि पुस्तकालयमा आई अध्ययन गर्ने उत्कृष्ट पाठकलाई पुरस्कार दिने घोषणाअनुसार मंसिर महिनाको पाठकका रूपमा टीकापुर सरोकार समूहले टीकापुर बहुप्राविधिक शिक्षालयका विद्यार्थी उपेन्द्र चौधरीलाई पुरस्कार प्रदान गरेको छ। चौधरीलाई नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो।

टीकापुर सरोकार समूहले कैलालीको टीकापुर क्षेत्रमा पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यो अभियान थालेको सरोकार समूहका सचिव नवराज भट्टराईले जानकारी दिए। ‘हामीले पठन संस्कृतिको विकास गर्न खोजेका हौँ’, उनले भने, ‘पुस्तकालयमा सबैभन्दा बढी पटक आउने र बढी समय बिताउने पाठकलाई पुरस्कार दिन थालेका छौँ । अध्ययनमा नागरिकको रुचि जगाउन यो गर्न थालिएको हो।’

सरोकार समूहका सचिव भट्टराईले पुस्तकालय र समूहको सहकार्यमा आगामी एक वर्षसम्म प्रत्येक महिना यो पुरस्कार प्रदान गरिने बताए।

यस महिनाको पुरस्कार नेपाल अफ्रिका साहित्य समाजले प्रायोजन गरेको हो। पुस्तकालयमा आयोजित एक विशेष कार्यक्रममा चौधरीलाई टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विक र शिक्षाप्रेमी यज्ञमूर्ति अर्यालले संयुक्तरुपमा पुरस्कार हस्तान्तरण गरे।

प्रकाशित: ८ पुष २०७९ ७:४० | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast