जसपा उम्मेदवारलाई भोट मागेका ओलीले एमालेकै भीम आचार्यलाई किन गरे बेवास्ता?

विवेक विवश रेग्मी १ मंसिर २०७९ ११:३४
जसपा उम्मेदवारलाई भोट मागेका ओलीले एमालेकै भीम आचार्यलाई किन गरे बेवास्ता? फाइल तस्बिर।

इटहरी- गत शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुनसरीको निर्वाचन क्षेत्र नं १ मा आएर सम्बोधन गरे। धरानसहित पर्ने उक्त निर्वाचन क्षेत्रमा ओलीले एमाले-जसपासहितको गठबन्धनबाट उम्मेदवार बनेका जसपाका अशोक राईलाई जिताए धरानमा खानेपानीबाट काकाकुल हुने अवस्था नआउने बताए।

‘धरानको खानेपानी र विकास निर्माणका लागि राष्ट्रिय योजना, राष्ट्रिय बजेट चाहिन्छ, नेकपा एमालेको सरकार चाहिन्छ,’ उनले भनेका थिए, ‘पम्पिङ गरेर कोसीबाट पानी ल्याएर एमालेले खुवाउँछ, नगरको बजेटले सम्भावना छैन, मंसिर ४ पछि आयोजना सुरु गर्नेछौँ, काम सुरु गर्नेछौँ, छेउमै कोसी बग्छ, धरान कसरी काकाकूल हुन सक्छ?’

यसैबीच बुधबार पनि ओली सुनसरी आए। उनले सुनसरीको निर्वाचन क्षेत्र नं ३ र क्षेत्र नं ४ मा चुनावी सभामा सम्बोधन गरे। क्षेत्र नं ३ मा एमालेकी उम्मेदवार भगवती चौधरीलाई मत माग्दै ओलीले यो क्षेत्रमा धाँधली हुन सक्ने संकेत गर्दै कार्यकर्तालाई सचेत रहन सुझाए।

यो क्षेत्रमा नेपाली कांग्रेसबाट विजयकुमार गच्छदार उम्मेदवार छन्। गच्छदारप्रति इंगित गर्दै ओलीले भने, ‘राणा शासन फालियो, पञ्चायत फालियो, अनि विजय गच्छदारले भने जहिल्यै बाकस साटेर चुनाव जित्ने भन्ने हुन्छ?’ उनले बाकस साटिने भन्दै कार्यकर्तालाई आँखा झिमिक्क नगर्न पनि उनले निर्देशन दिए।

बुधबार नै सुनसरी क्षेत्र नं ४ मा पनि ओलीले चुनावी सम्बोधन गरे। सुनसरी ४ मा एमालेका जगदीश कुसियतलाई मत माग्दै उनले भूमिपुत्रलाई जिताउन अपिल गरे। यो क्षेत्रमा नेपाली कांग्रेसबाट वर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की चुनावी मैदानमा छन्। ‘जोडजाडको गठबन्धन सरकारले देश चलाउन सक्दैन,’ ओलीले भने, ‘देश चलाउनका निम्ति एमालेलाई मत दिनुहोस्, यो क्षेत्रमा भूमिपुत्रलाई जिताउनुहोस्।’

ओलीले सुनसरीका चार निर्वाचन क्षेत्रमध्ये तीनवटा क्षेत्रमा चुनावी सम्बोधन गर्दा भीम आचार्यको क्षेत्रमा भने मत माग्न छुटाए। एमाले स्थायी कमिटी सदस्य आचार्य यसअघि प्रदेश १ का मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्।

एमालेको १० बुँदे पक्षधरका आचार्य पार्टीभित्र माधवकुमार नेपालसँग नजिक थिए। ६७ दिन मुख्यमन्त्री बनेका आचार्य यसअघि क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए भने अघिल्लो निर्वाचनमा क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए। क्षेत्र फेरिरहने आचार्य यसपटक सुनसरी २ बाट चुनावी मैदानमा छन्।

नेकपा एमाले सुनसरीका जिल्ला सदस्य होमनाथ धमला भन्छन्, ‘सुनसरी २ मा हाम्रो प्रतिस्पर्धा नै छैन, सुनसरी ३ र ४ मा कांग्रेसको पावर सेन्टर भएकाले त्यहाँ मात्रै कार्यक्रम आयोजना गरिएको हो।’

ओलीले सुनसरी १ मा एमालेकै मत अशोक राईलाई नजानेजस्तो देखिएपछि शुक्रबार सम्बोधन गरेको उनको भनाइ छ।धमलाले अनुसार सुनसरी ३ मा कांग्रेसका विजयकुमार गच्छदार एमालेकी भगवती चौधरीलाई दुईपटक पराजित गरेकाले यसपटक  चौधरीले जित्ने रणनीति बनाउन ओलीले सम्बोधन गरेका हुन्।

सुनसरी ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीको उम्मेदवारी भारी भएकाले एमाले जिल्ला इञ्चार्जसमेत रहेका जगदीश कुसियतको पक्षमा मत माग्न ओली सुनसरी आएका हुन्। धमलाले भने, ‘सुनसरी २ मा हामी सहजै जित्छौँ र बाँकी रहेका क्षेत्रमा पनि अध्यक्षको सम्बोधनबाट माहोल बन्ने भएकाले यी क्षेत्रमा मात्रै कार्यक्रम आयोजना गरिएको हो।’

तर, धमलाले भनेजस्तो आचार्यलाई त्यति सजिलो भने छैन। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसबाट सीताराम मेहता तेस्रोपटक चुनावी मैदानमा छन्। उनी यसअघि दुईपटक चुनाव जितेर राज्यमन्त्री भएका थिए। त्यसैले उनलाई कमजोर आक्न मिल्दैन।

ओलीले जसपाका उम्मेदवारलाई भोट माग्ने तर आफ्नै पार्टीका आचार्यलाई भोट नमाग्नुले स्थानीय कार्यकर्तामा असन्तुष्टि छाएको छ। यसले एमालेभित्रै अन्तरघात हुन सक्ने संकेत देखिएको एक कार्यकर्ताले बताए।

प्रकाशित: १ मंसिर २०७९ ११:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =