इतिहासमा निर्वाचन : १६

पहिलो चुनाव : दुई कम्युनिस्ट नेताले चुनाव हारेको समाचार विदेशी अखबारमा

हिमाल प्रेस २९ कार्तिक २०७९ ६:२१
पहिलो चुनाव : दुई कम्युनिस्ट नेताले चुनाव हारेको समाचार विदेशी अखबारमा नेपाल भाषा लाइब्रेरीबाट प्राप्त पहिलो आमनिर्वाचनमा काठमाडौँमा निकालिएको र्‍याली र विदेशी अखबारमा प्रकाशित समाचार।

२०१५ सालमा सम्पन्न मुलुकको पहिलो आमनिर्वाचनमा ललितपुर, भक्तपुर र काठमाडौँ गरी उपत्यकाका पाँचवटा निर्वाचन क्षेत्र निर्धारण गरिएका थिए। त्यति बेला ललितपुर र भक्तपुरमा एकएक र काठमाडौँमा तीनवटा निर्वाचन क्षेत्र थिए। उक्त निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ मा निर्वाचनको पहिलो दिन फागुन ७ मा पहिलो चरणमा मतदान भएको थियो।

क्षेत्र नम्बर १ मा ५० हजार ८ सय १२ मतदाता, ३० निर्वाचन केन्द्र र ५३ वटा मतदान स्थान थिए। त्यस्तै चार जना राजनीतिक दलका उम्मेदवार र पाँच जना स्वतन्त्र गरी नौ जना उम्मेदवार चुनावी मैदानमा थिए।

मतदाता सूची क्रमसंख्याका आधारमा नभई घर नम्बरका आधारमा मतदातालाई पायक पर्ने गरी नजिकको मतदान केन्द्र तोकिएको थियो। (जनचेतना– २०१६ माघ र फागुनका अंक, काठमाडौँ नगरपालिकाको मुखपत्र)

काठमाडौँको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस पार्टीको रूख चुनाव चिह्नबाट गणेशमान सिंह, नेपाल कम्युनिस्ट पार्टीको मकैको घोगा र हँसिया चुनाव चिह्नबाट पुष्पलाल श्रेष्ठ, संयुक्त प्रजातान्त्रिक पार्टी धानको बाला चुनाव चिह्नबाट प्रेमबहादुर शाक्य, नेपाल प्रजातान्त्रिक महासभाको चुनाव चिह्न हातबाट सूर्यनारायण माली उम्मेदवार थिए।

त्यस्तै, अन्य पाँच जना स्वतन्त्रमध्ये धारा चुनाव चिह्नसहित किलागलका पूर्णबहादुर एमए, तराजु चुनाव चिह्नसहित झोछे न्हुसाल माणिकराज वज्राचार्य, घण्टा चुनाव चिह्नसहित इन्द्रचोक चोखाछे गल्लीका लालसिंह महर्जन, हात्ती चुनाव चिह्नसहित डिल्लीबजारका लोकनाथ जोशी र डुँगासहित लगनटोलका ज्ञानरत्न बज्राचार्य थिए।

फागुन ७ मा सम्पन्न निर्वाचनको मतगणना भने सोही १२ गते गरिएको थियो। ५० हजार ८ सय १२ जना मतदाता रहेको उक्त क्षेत्रमा कुल २७ हजार ३ सय ९४ मत खसेका थिए।

काठमाडौँ क्षेत्र नम्बर १ बाट १० हजार ९ सय ८६ मतसहित नेपाली कांग्रेसका गणेशमान सिंह निर्वाचित भएका थिए। उक्त क्षेत्रमा कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी संयुक्त प्रजातान्त्रिक पार्टीको बीचमा कडा टक्कर थियो।

नेपाल कम्युनिस्ट पार्टीका पुष्पलालले ७ हजार ८ सय ४८ मत प्राप्त गरेका थिए। संयुक्त प्रजातान्त्रिक पार्टीका अर्का उम्मेदवार प्रेमबहादुर शाक्यले ७ हजार १ सय ८८ मत प्राप्त गरे। गणेशमान सिंहले पुष्पलाललाई ३ हजार १ सय ३८ मतको फराकिलो अन्तरले पराजित गरेका थिए।

अर्को दल नेपाल प्रजातान्त्रिक महासभाका उम्मेदवार सूर्यनारायण मालीले २ सय १८ मत प्राप्त गरे। त्यसैगरी स्वतन्त्रमा पूर्णबहादुर एमएले ३ सय ८२, लोकनाथ जोशीले २ सय ७२, लालसिंह महर्जनले १ सय ९१, माणिकराज बज्राचार्यले १ सय ८५ र ज्ञानरत्न बज्राचार्यले १ सय २४ मत प्राप्त गरेका थिए। (निर्वाचन सन्देश, वर्ष–०१, अंक– १७ र १८, निर्वाचन आयोग नेपाल)

काठमाडौँ क्षेत्र नम्बर १ सहित फागुन ७ मा निर्वाचन सम्पन्न भएका १८ वटा क्षेत्रको निर्वाचन परिणाम सकिएपछि अन्तर्राष्ट्रिय समाचार एजेन्सी ‘दी एसोसिएटेड प्रेस’ले समाचार सम्प्रेषण गरेको थियो। उक्त समाचारमा दुईजना कम्युनिस्ट उम्मेदवारले निर्वाचन हारेको खबर थियो। पहिलो नेपाली कांग्रेसका गणेशमान सिंह आफ्ना प्रतिद्वन्द्वी कम्युनिस्ट पार्टीका उम्मेदवारलाई झन्डै तीन हजार मतले पराजित गरेको र त्यस्तै पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यको दल नेपाल प्रजापरिषद् (आचार्य गुट) का उम्मेदवारले कम्युनिस्ट पार्टीका अर्का उम्मेदवारलाई हराएको खबर थियो।

त्यो सिन्धुलीको निर्वाचन क्षेत्र नम्बर १५ मा थियो। सोही दिनमा निर्वाचन भएको उक्त क्षेत्रमा नेपाल प्रजापरिषद् (आचार्य गुट) का जितबहादुर कार्की निर्वाचित भएका थिए। त्यहाँ नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार रामहरि बराल थिए। निर्वाचित कार्कीले ३ हजार १० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी बरालले १ हजार ८ सय ६० मत पाएका थिए। (चैटनुगा टाइम्स अमेरिका २४–फेब्रुअरी–१९५९)

पहिलो चुनावमा काठमाडौँ क्षेत्र नम्बर १ का मतदान केन्द्र

१ नम्बर केन्द्र त्रिपुरेश्वर महादेवस्थानभित्रको पाटीमा निर्धारण गरिएको थियो। त्यहाँ दुईवटा मतदान स्थान थिए। पहिलो मतदान स्थानमा १ हजार २१ र दोस्रो मतदान स्थानमा १ हजार १ सय ७४ जना मतदातालाई मतदान गर्ने व्यवस्था गरिएको थियो।

२ नम्बर केन्द्र  शिलखानाअगाडिको लैनचौरमा निर्धारण गरिएको थियो। त्यहाँ पनि दुईवटा मतदान स्थान थिए। पहिलो मतदान स्थानमा ८ सय ८३ र दोस्रोमा ८ सय ५३ जनालाई मतदान गर्ने व्यवस्था गरिएको थियो।

३ नम्बर केन्द्र लगन डबली खाली मैदानमा निर्धारण गरिएको थियो। त्यहाँ पनि दुईवटा मतदान स्थान थिए। पहिलो मतदान स्थानमा ८ सय ६६ र दोस्रोमा ८ सय ७३ जना मतदाताले मतदान गर्ने व्यवस्था गरिएको थियो।

४ ओमबहाल नःबहिलबाहिर मैदानमा निर्धारण गरिएको थियो। त्यहाँ पनि दुईवटा मतदान स्थान थिए। पहिलो मतदान स्थानमा ८ सय ६६ र दोस्रो मतदान स्थानमा ८ सय ८४ जना मतदातालाई मतदान गर्ने व्यवस्था थियो।

५ नम्बर केन्द्र वसन्तपुरअगाडिको मैदानमा निर्धारण गरिएको थियो। त्यहाँ पनि दुईवटा मतदान स्थान थिए। पहिलो मतदान स्थानमा ८ सय ४५ र दोस्रोमा १ हजार ६ जना मतदाताले मतदान गर्ने व्यवस्था थियो।

६ नम्बर केन्द्र पोखल ड्याङ पुरानो भन्सार बहालभित्र निर्धारण गरिएको थियो। त्यहाँ दुईवटा मतदान स्थान थिए। पहिलो मतदान स्थानमा एक हजार र दोस्रोमा ९ सय ५५ जनाले मतदान गर्ने व्यवस्था थियो।

७ नम्बर केन्द्र नछेँ गल्ली खाली मैदान टेबहाल निर्धारण गरिएको थियो। त्यहाँ १ हजार १ सय ४२ जना मतदाताका लागि एउटामात्र मतदान स्थानको व्यवस्था गरिएको थियो।

८ नम्बर केन्द्र जैसीदेवल नारायण स्थानभित्र पाटीमा निर्धारण गरिएको थियो। यहाँ पनि ९ सय ८४ जना मतदाताका लागि एउटामात्र मतदान स्थान थियो।

९ नम्बर जैसी देवल रामचन्द्र बहालको डबलीमा निर्धारण गरिएको थियो। त्यहाँ १०३५ जना मतदाताहरूका लागि एउटा मात्र मतदान स्थानको व्यवस्था गरिएको थियो।

१० नम्बर केन्द्र भीमसेनस्थान अनाथालयको खेलमैदानमा निर्धारण गरिएको थियो। त्यहाँ पनि दुईवटा मतदान स्थान थिए। पहिलो मतदान स्थानमा ९ सय ९ र दोस्रोमा ९ सय ५३ जना मतदाताले मतदान गर्ने व्यवस्था थियो।

११ नम्बर केन्द्र हनुमानढोकाबाहिर पट्टिको दलानमा निर्धारण गरिएको थियो। त्यहाँ पनि दुईवटा मतदान स्थान थिए। पहिलो मतदान स्थानमा ७ सय ९७ र दोस्रोमा ८ सय ३४ जना मतदाताले मतदान गर्न सक्थे।

१२ नम्बर मखन पशुपतिनाथको देवल खुला मैदानमा निर्धारण गरिएको थियो। त्यहाँ ८ सय ९५ जना मतदाताका लागि एउटामात्र मतदान स्थानको व्यवस्था थियो।

१३ नम्बर केन्द्र बटु खुला मैदानमा निर्धारण गरिएको थियो। त्यहाँ पनि दुईवटा मतदान स्थान थिए। पहिलो मतदान स्थानमा १ हजार १ सय ९८ र दोस्रोमा १ हजार १ सय ४३ जना मतदाताले मतदान गर्ने व्यवस्था थियो।

१४ नम्बर केन्द्र किलागल इँटुबहाल खुला मैदानमा निर्धारण गरिएको थियो। त्यहाँ पनि दुईवटा मतदान स्थान रहेका थिए। पहिलो मतदान स्थानमा १ हजार १ सय ३ र दोस्रो मतदान स्थानमा १ हजार १ सय ४९ जना मतदाताका लागि मतदान गर्ने व्यवस्था थियो।

१५ नम्बर केन्द्र रानीपोखरी मजलिस घरमा निर्धारण गरिएको थियो। त्यहाँ दुईवटा मतदान स्थान थिए। पहिलो मतदान स्थानमा ७ सय ६९ र दोस्रोमा ८ सय ८ जना मतदातालाई मतदान गर्ने व्यवस्था मिलाइएको थियो।

१६ नम्बर रानीपोखरी दरबार हाईस्कुल भवनमा निर्धारण गरिएको थियो। त्यहाँ ८ सय ८८ जना मतदाताका लागि एउटामात्र मतदान स्थान थियो।

१७ नम्बर केन्द्र घण्टाघर त्रिचन्द्र कलेज भवनमा निर्धारण गरिएको थियो। त्यहाँ पनि दुईवटा मतदान स्थान थिए। पहिलो मतदान स्थानमा ९ सय २६ र दोस्रोमा १ सय २१ जना मतदाताले मतदान गर्ने व्यवस्था गरिएको थियो।

१८ नम्बर केन्द्र जमल कमलाक्षी मन्टेश्वरी स्कुल भवनमा निर्धारण गरिएको थियो। त्यहाँ पनि दुईवटा मतदान स्थान थिए। पहिलो मतदान स्थानमा ९ सय ८७ र दोस्रो मतदान स्थानमा ९ सय ८५ जना मतदाताले मतदान गर्न सक्थे।

१९ नम्बर केन्द्र जमल कमलाक्षी इन्जिनियर स्कुल भवनमा निर्धारण गरिएको थियो। त्यहाँ दुईवटा मतदान स्थान थिए। पहिलो मतदान स्थानमा १ हजार ३२ र दोस्रोमा ८ सय ७७ जना मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको थियो।

२० नम्बर केन्द्र न्होखा कन्या मन्दिर हाईस्कुल भवन निर्धारण गरिएको थियो। त्यहाँ पनि दुईवटा मतदान स्थान थिए। पहिलो मतदान स्थानमा १ हजार ९४ र दोस्रोमा ८ सय ५४ जना मतदातालाई मतदान गर्ने व्यवस्था थियो।

२१ नम्बर केन्द्र नघल ठहिटीचोकमा निर्धारण गरिएको थियो। त्यहाँ दुईवटा मतदान स्थान थिए। पहिलो मतदान स्थानमा ९ सय ३७ र दोस्रोमा ८ सय ९४ जना मतदाताले मतदान गर्ने व्यवस्था गरिएको थियो।

२२ नम्बर केन्द्र नरदेवी आयुर्वेद औषधालयभित्र चोकमा निर्धारण गरिएको थियो। त्यहाँ पनि दुईवटा मतदान स्थान थिए। पहिलो मतदान स्थानमा ८ सय ६५ र दोस्रोमा ९ सय ३८ जना मतदातालाई मतदान गर्ने व्यवस्था गरिएको थियो।

२३ नम्बर केन्द्र क्षेत्रपाटी धोबीचौर खुला मैदानमा निर्धारण गरिएको थियो। यहाँ पनि दुईवटा मतदान स्थान थिए। पहिलो मतदान स्थानमा ७ सय ८२ र दोस्रोमा ९ सय ५८ जना मतदाताले मतदान गर्न सक्थे।

२४ नम्बर केन्द्र यट्खा बहालभित्र खुला मैदानमा निर्धारण गरिएको थियो। त्यहाँ पनि दुईवटा मतदान स्थान थिए। पहिलो मतदान स्थानमा १ हजार १६ र दोस्रो मतदान स्थानमा ८ सय ६१ जना मतदातालाई मतदान गर्ने व्यवस्था गरिएको थियो।

२५ नम्बर केन्द्र मरुहिटी शान्तिकुञ्ज हाईस्कुल भवनमा निर्धारण गरिएको थियो। त्यहाँ पनि दुईवटा मतदान स्थान थिए। पहिलो मतदान स्थानमा ८ सय ४४ र दोस्रोमा १ हजार १ सय ७४ जना मतदाताका लागि व्यवस्था थियो।

२६ नम्बर केन्द्र पकनाजोल कंपुकोत पोशाकघर मैदानमा निर्धारण गरिएको थियो। त्यहाँ दुईवटा मतदान स्थान थिए। पहिलो मतदान स्थानमा ८ सय ५३ र दोस्रोमा ९ सय १२ जना मतदातालाई मतदान गर्ने व्यवस्था थियो।

२७ नम्बर केन्द्र क्षेत्रपाटी जेपी हाईस्कुल भवनमा निर्धारण गरिएको थियो। त्यहाँ ७ सय ६९ जना मतदाताका लागि एउटामात्र मतदान स्थानको व्यवस्था थियो।

२८ नम्बर केन्द्र लैनचौर शान्ति विद्यागृह हाईस्कुल भवनबाहिर मैदानमा निर्धारण गरिएको थियो। त्यहाँ पनि दुईवटा मतदान स्थान थिए। पहिलो मतदान स्थानमा १ हजार २ सय ३ र दोस्रोमा १ हजार १ सय ५ जना मतदातालाई मतदान गर्ने व्यवस्था गरिएको थियो।

२९ नम्बर केन्द्र महाराजगञ्ज शीतलनिवास अगाडिको चौरमा निर्धारण गरिएको थियो। त्यहाँ सबैभन्दा बढी पाँचवटा मतदान स्थान थिए। त्यहाँ चण्डोलदेखि बालुवाटारसम्मका मतदाताले मतदान गरेका थिए। पहिलो ५ सय ३५, दोस्रो १ हजार ५, तेस्रो ४ सय ६५, चौथो ४ सय १९, पाँचौँ १ सय ३ गरी जम्मा २ हजार ९ सय ७७ जना मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको थियो।

३० नम्बर महाराजगन्ज पानीपोखरीभित्र खुलामैदानमा निर्धारण गरिएको थियो। त्यहाँ पनि दुईवटा मतदान स्थान थिए। पहिलो मतदान स्थानमा १ हजार ८५ र दोस्रोमा १ हजार ८ जना मतदातालाई मतदान गर्ने व्यवस्था गरिएको थियो।

प्रकाशित: २९ कार्तिक २०७९ ६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =