विश्‍वमै ठूलो बुद्धमूर्ति कुँदेर ‘नयाँ अरनिको’ बनेका मितेरी

सुस्मिता बजगाईं २६ कार्तिक २०७९ ४:३०
106
SHARES
विश्‍वमै ठूलो बुद्धमूर्ति कुँदेर ‘नयाँ अरनिको’ बनेका मितेरी

काठमाडौँ- दक्षिण जापानको क्युसु क्षेत्रस्थित कुमामोतो जिल्लाको खामीआमाकुसाको भीरमा गौतम बुद्धको मूर्ति कुँदिएको छ। ढुंगामा कुँदिएको बुद्धको मूर्ति ६० फिट अग्लो छ। त्यहाँ बुद्धसँगै चिनियाँ र जापानी शैलीका अन्य छवटा मूर्ति बनाइएका छन्।

यी सबै मूर्ति नेपाली कलाकारले बनाएका हुन्। छ जना कलाकार टोलीको नेतृत्व गरेका थिए, मञ्जुल बराइली ‘मितेरी’ ले। टोलीमा थिए, चतुरलाल राजवंशी, गणेशकुमार राई, रामकुमार राई, सुवास विश्वकर्मा, जीवन पौडेल।

जापानको ओसिमा सेकी बुचु यामा प्रतिष्ठानका अनुसार मितेरीको अगुवाइमा ढुंगामा कुँदिएको बुद्धको मूर्ति संसारकै सबैभन्दा ठूलो हो। टोलीको छ वर्षको अथक प्रयासले यो कार्य सफल भएको मितेरी बताउँछन्। त्यसका लागि उनीसहितको टोलीले सन् २०१६ देखि २०२२ सम्मको समय जापानमै बितायो।

‘प्रतिष्ठानकै अनुरोधमा हाम्रो टोली त्यहाँ पुगेको थियो,’ मितेरीले भने, ‘ती मूर्ति बनाउन हामीले छ वर्ष जापानमै बस्नुपर्‍यो।’

मूर्तिकलामा मितेरीको पहिचान

४२ वर्षीय मितरीले अहिले सफल मूर्तिकारको पहिचान बनाएका छन्। मोरङको मिक्लाजुङ गाउँपालिकाको निम्नवर्गीय परिवारमा जन्मिएका हुन्, उनी। आर्थिक अवस्था कमजोर रहेको परिवारमा मितेरी आमाबुबा, दाजुभाइ र बहिनीसँग बस्थे।

आमाबुबा निरक्षर भए पनि छोराछोरीले पढ्नुपर्छ भन्ने भावना थियो। अभिभावकको त्यही भावनाले मितेरीलाई गाउँको स्कुलसम्म पुर्‍यायो। पढाइमा औसतका थिए। कुरा उनी कक्षा छमा पढ्दाताकाको हो। त्यतिखेर उनको उमेर थियो, ११ वर्ष। सामाजिक विषयको पाठ्यक्रममा राष्ट्रिय विभूति अरनिको जीवनी पढे।

अरनिको जीवनबाट निकै प्रभावित भए। उनीजस्तै बन्ने सपना बुन्न थाले। ‘हामीले छ कक्षामा राष्ट्रिय विभूति अरनिकोले गरेका काम र योगदानबारे पढ्नुपथ्र्यो,’ उनले भने, ‘पहिलोपटक उनको जीवनबारे थाहा पाउँदा उत्साहित भएँ।’

१२ वर्षको उमेरमा अरनिकोले चीन गएर अनेकाैँ देवीदेवताका मूर्ति बनाएको प्रसंग किताबमा पढेको उनको दिमागमा ताजै छ। विगत सम्झिँदै भने, ‘मलाई पनि उनीजस्तै बन्न पाए हुन्थ्यो भन्ने लाग्यो।’

अरनिको बन्ने सपनाको पहिलो खुड्किलो बन्यो फलामको किलालाई धार लगाउनु। त्यसबाट उनले मान्छेको आकृति बनाए। ‘सानै थिएँ, मूर्ति बनाउन केकस्ता साधन प्रयोग गर्छन् भन्ने केही थाहा थिएन,’ उनले विगत सम्झिए।

मितेरीका लागि मात्र नभई गाउँकै लागि यो कला नौलो विषय थियो। बालकले फलामको किलालाई धार लगाएर मान्छेको आकृति बनाउँदा आमाबुबा र गाउँले सबै खुसी भए। सबैबाट प्रशंसा पाए। ‘सबैले तारिफ गर्दा उत्साहित भएँ,’ मितेरीले भने, ‘त्यो क्षण मेरा लागि यस क्षेत्रमा लाग्ने प्रेरणाको स्रोत बन्यो।’

सानैदेखि उनी कापीमा विभिन्न व्यक्तिका चित्र कोर्थे। चित्रकला प्रतियोगितामा भाग लिन्थे। पुरस्कृत पनि हुन्थे। ‘तीनचार कक्षामा पढ्दादेखि नै मलाई चित्रकारिताको सोख थियो,’ उनले भने, ‘कापीमा विभिन्न व्यक्तिका चित्र कोर्थेँ।

जापानको एउटा भीरमा बुद्धमूर्ति कुँद्‌न व्यस्त मञ्जुल मितेरी। तस्बिर : फेसबुक

मितेरीले नेपाली साहित्य र संस्कृतिमा महेन्द्र मोरङ क्याम्पसबाट स्नातक र  स्नाकोत्तर गरे। आफूलाई मन परेको विषय अर्थात् ललितकलामा औपचारिक अध्ययन गर्न नपाएकोमा उनलाई थकथकी छ। त्यो समय सम्झिँदा उनी अहिले पनि भावुक हुन्छन्। त्यो तीतो अनुभव सुनाउँदै उनले भने, ‘आर्थिक अवस्था कमजोर भएकाले अनेकन् समस्या झेल्नुपर्‍यो। ललितकला विषयमा अध्ययन गर्ने मन थियो। तर पाइनँ।’

स्वअध्ययनबाट प्रसिद्व व्यक्तिका मूर्ति मितेरीले बनाए। ससाना ढुंगाका आकृति बनाउन थाले। पढाइ सँगसँगै अगाडि बढ्दै थियो। अरनिकोबाट प्रेरित मितेरी उनको जीवनी, उनीबारे छापिएका लेखरचना खोजीखोजी पढ्न थाले। १२ कक्षामा पुग्दासम्म उनी मूर्ति बनाउन सक्ने भइसकेका थिए। मूर्ति बनाएर पैसा कमाउन थालेका थिए।

सहरका चोकचोकमा राखिएका सालिक उनका लागि नमुना बने। ‘ती देखेर मूर्ति बनाउने गर्थेंँ,’ उनले भने, ‘त्यतिबेला अहिलेजस्तोे इन्टरनेटको सुविधा थिएन। चोकमा राखिएका मूर्ति हेरेर मैले मूर्ति बनाउने गर्थेँ। उतिखेर पनि अहिलेजस्तो प्रविधिको सुविधा भइदिएको भए काम सिक्न निकै सजिलो हुन्थ्यो।’ प्रविधि अभावले आफूलाई अवसरबाट वञ्चित गरेको उनको अनुभव छ।

काममा उनले परिवारबाट राम्रै साथ पाए। उनको पुर्ख्यौली  पेसा कृषि थियो। मूर्ति बनाउने काम परिवारका लागि नितान्त नयाँ थियो। तर मितेरीलाई परिवारबाट कुनै रोकतोक थिएन। परिवारबाट साथ र सहयोग पाए। हौसला मिल्यो। मूर्ति बनाउन चाहिने सबै सामग्री आमाबुबाले किनिदिएको उनले बताए।

२०५७ सालमा बिहे गरे। कौशिला राई उनकी जीवनसाथी बनिन्।

सपना पछ्याउँदै उनी मिक्लाजुङबाट उर्लाबारी बजार झरे। त्यसलाई नै आफ्नो कर्मथलो बनाए। ‘परिवारको सल्लाहमा गाउँबाट उर्लाबारी आएको थिएँ,’ मितेरीले भने, ‘आउने बेला बुबाले पाँच सय रुपैयाँ दिनुभएको थियो।’

पूर्वाञ्चलमा मूर्तिकला व्यवसायको विकास भएको थिएन। ‘विश्वका विभिन्न मूर्तिकारले बनाएका मूर्तिको अध्ययन गर्न थाले,’ उनले भने, ‘त्यसरी नै काम अगाडि बढाएँ।’

सुरुमा व्यवसाय भनेजस्तो भएन। धेरै काम पाउन सकेनन्। काम नहुँदा आम्दानी हुने कुरै भएन। सानैदेखि आर्थिक अभाव झेलेका मितेरी व्यवसाय नचल्दा निराश भए। नेपाल छाडेर खाडी मुलुक जाने सोचसमेत बनाए। ‘मैले हार मानेँ पनि मेरी श्रीमतीले हार मानिनन्,’ मितेरीले भने, ‘उनलाई म र मेरो सीपमाथि पूरा विश्वास थियो। उनले यही पेसा गरिरहने सल्लाह दिइन्। हौसला दिइरहिन्। उत्साहित बनाइरहिन्। उनकै कारण म यस काममा अडिन सफल भएँ।’

बिस्तारै व्यवसायले गति लियो। अलिअलि आम्दानी हुन थाल्यो। उनले बनाएका मूर्ति विभिन्न संघसंस्थाले कार्यक्रममा उपहार दिने गर्थे। बिस्तारै मूर्तिकारका रूपमा उनी चिनिन थाले। आफ्नो नामले संग्रहालय पनि खोले, ‘मञ्जुल संग्रहालय’। त्यसमार्फत एक हजार मूर्ति निर्माण गरेर राज्यलाई हस्तान्तरण गर्ने योजना बनाएका छन्।

‘१ सय ८० मूर्ति बनाइसकेको छु,’ उनले भने, ‘मेरो कला देशका लागि समर्पण गर्न चाहन्छु।’ उनले पासाङ ल्हामु शेर्पा, लक्ष्मीप्रसाद देवकोटा, तेन्जिङ नोर्गे शेर्पा, पारिजात, अल्बर्ट आइन्सटाइन, न्युटनलगायत प्रसिद्ध व्यक्तिको मूर्ति बनाइसकेका छन्।

जापानमा बुद्धको मूर्ति बनाउने अवसर

जापानको ओसिमा सेकी बुचु यामा प्रतिष्ठानले ३० वर्षअघि त्यहाँको एक विशाल चट्टानी पहरामा बुद्धको मूर्ति निर्माण गर्ने योजना बनाएको रहेछ। पहरा निकै (६५ फिट) अग्लो थियो। ज्यान जोखिममा पारी त्यसमा मूर्ति कुँद्ने आँट अन्य देशका कलाकारले गर्न सकेनन्।

जापानले नेपाली कलाकारबाट त्यस जोखिमपूर्ण पहरोमा बुद्धको मूर्ति बनाउने भयो। त्यसका लागि जापानमा रहेका चितवनका दिलीप लामिछानेमार्फत मञ्जुल मितेरीसँग सम्पर्क भयो। आफ्नो समूहमा मितेरीले अन्य पाँच जनालाई पनि जोडे। त्यसरी जापानमा बुद्धको मूर्ति बनाउने अवसर जुरेको उनले सुनाए।

‘सानैदेखि अरनिकोजस्तै बन्ने मन थियो,’ उनले भने, ‘देशका लागि केही गर्ने मन थियो। जापानबाट यस्तो प्रस्ताव आउँदा काम जोखिमपूर्ण भए पनि नाइँ भन्न सकिनँ।’ नेपालको ललितकलालाई विश्वसामु चिनाउन पनि आफूले जापानको प्रस्ताव स्वीकार गरेको मितेरीले बताए।

चट्टान फोर्दा दैनिक नौ घण्टा ढुंगाको धुलोमा रुमलिनु, मुटु नै थर्किने गरी निस्किने मेसिनको आवाज र त्यसको कम्पनमा मितेरी र उनको टोलीले छ वर्ष बिताए।

‘भाषाको समस्या हुन्थ्यो,’ त्यहाँ बस्दाको अनुभव सुनाउँदै उनले भने, ‘जाडो, गर्मी र थकानले हैरान भइन्थ्यो।’ तर साहसी गोर्खालीका रूपमा संसारभरि प्रसिद्ध नेपालीको कलाबारे पनि संसारका मानिसले थाहा पाऊन् भनेर आफूले छ वर्षसम्म दिनरात गरी मेहनत गरेको र बुद्धको ६० फिट अग्लो मूर्ति बनाएको मितेरीले बताए।

साहित्यकार, संगीतकार र गायनमा पनि मितेरी

बुद्धको मूर्तिको काम सकिएसँगै अन्य जापानी संस्थाबाट पनि प्रशस्तै प्रस्ताव आइरहेको उनले बताए। तर उनी नेपालमै बसेर काम गर्न चाहन्छन्। मितेरी मूर्तिमात्र बनाउँदैनन्। साहित्य रचनामा पनि सक्रिय छ्रन्। संगीतकार र गायकका रूपमा पनि उनी परिचित छन्। केही दिनअघि उनको कवितासंग्रह बजारमा आएको छ, ‘कामी’।

नेपाली समाजमा व्याप्त दलितप्रतिको विभेदलाई उनले कवितामार्फत बयान गरेका छन्। समाजमा रहेको विभेद चिर्न कृतिको नाम ‘कामी’ राखेको उनले बताए। ‘शब्दमार्फत समाजमा रहेको सोचलाई परिवर्तन गर्न चाहन्छु,’ उनले भने। कृतिमा ३८ वटा कविता छन्।

‘समाजमा रहेको भेदभाव, जातीय उत्पीडन, सामाजिक असमानताविरुद्ध सामाजिक न्याय कायम गर्न कृति केही हदसम्म सफल हुनेछ भन्ने आशा छ,’ मितेरीले भने, ‘समाजमा भइरहेका विसंगति, विकृतिविरुद्ध लेख्नुपर्छ भन्ने लागेपछि साहित्यतर्फ लागेको हुँ।’

यसअघि उनका दुई कृति प्रकाशित छन्, ‘आस्था’ (२०५७) कवितासंग्रह र ‘अर्काको देशमा’ (२०७१) कथासंग्रह।

बहुप्रतिभाशाली मितेरी गायक र संगीतकारका रूपमा पनि परिचित छन्। अहिलेसम्म उनका एक दर्जनजति लोकगीत सार्वजनिक भएका छन्। जीवन गीत, मेरो सफलता, आज मेरो साथीले, मेरो मुटु, बोलको उनका गीत चर्चित छ।

२०७२ सालमा नेपाल सरकारले मितेरीलाई ‘राष्ट्रिय युवा प्रतिभा पुरस्कार’बाट सम्मानित गर्‍यो। त्यस्तै उनले विभिन्न संघसंस्थाबाट सयभन्दा बढी पुरस्कार हात पारेका छन्।

एकताका मूर्ति बनाउने कामबाट विरक्तिएका मितेरी अहिले आफ्नो पेसामा जमेका छन्। यस क्षेत्रमा भविष्य उज्ज्वलल रहेको उनको भनाइ छ। ‘समय र परिश्रमलाई उचित ढंगले प्रयोग गर्न सकेमा यस क्षेत्रमा आउन चाहनेहरूको भविष्य उज्ज्वलल छ,’ उनले भने।

उक्त मूर्ति निर्माणमा कलाकारहरू सानुभाइ विश्वकर्मा र रामचन्द्र पण्डितले पनि योगदान दिएका छन्। जापानमा बसेर ३३ महिनासम्म मूर्ति निर्माणमा संलग्न भएपछि आफूहरू नेपाल फर्किएको विश्वकर्माले बताए। यस्तै अर्का कलाकार सूर्यबहादुर केसी पनि सोही मूर्ति बनाउन केही समय जापान पुगेका थिए।

प्रकाशित: २६ कार्तिक २०७९ ४:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 9 =