आफू प्रधानमन्त्री बन्‍न नसके यी तीनलाई अघि बढाउँदै देउवा

हिमाल प्रेस १४ मंसिर २०७९ २०:१४
12.4k
SHARES
आफू प्रधानमन्त्री बन्‍न नसके यी तीनलाई अघि बढाउँदै देउवा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान थालेका छन्।  झापा क्षेत्र नम्बर १ मा निर्वाचित भएर मंगलबार फर्किएका शर्मा विमानस्थलबाट सीधै थापा निवास पुगेर बधाई ज्ञापन एवम् प्रधानमन्त्री बन्ने शुभकामना व्यक्त गरेका थिए। ‘उहाँ सांसद भएको भनेर बधाई दिन मात्रै आएको होइन, प्रधानमन्त्री बनाउने अभियान थाल्न आएको हुँ,’ शर्माले भने।

महामन्त्री थापाले प्रधानमन्त्रीमा दाबी पेस गरिरहेका बेला अर्का महामन्त्री शर्माले निवासमै पुगेर उनलाई साथ दिने प्रतिबद्धता जनाएका हुन्। थापाका पक्षमा महामन्त्री शर्माले अभियान अघि बढाउन थालेपछि कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने पक्कापक्की भएको छ।

थापा र शर्माले प्रत्यक्षतर्फ निर्वाचित हरेक सांसदलाई प्रत्यक्ष भेट गरेर नेतृत्व परिवर्तनका लागि पहल गरिरहेका छन्। सभापति देउवा पनि आफ्नो तयारीमा जुटिसकेको सम्बद्ध स्रोतले जनाएको छ। संसदीय दलको नेता मात्रै प्रधानमन्त्रीको उम्मेदवार हुन पाउँछन्।

‘यसअघिको पार्टीको अवस्थालाई माथि उठाएको र अहिले दिएको मत युवालाई अघि बढाउनभन्दा पनि अनुभवीले नै मुलुक चलाउन आवश्यक छ भन्नको लागि नै हो,’ देउवालाई उद्धृत गर्दै एक नेताले भने, ‘अहिले अन्यको बेला भएको छैन। पार्टीलाई गम्भीर ढंगले अघि बढाउनुपर्छ। हुलको पछि लाग्दा युक्रेनको अवस्था के भयो। हुलको बलमा होइन कुल भएर निर्णय लिनुपर्छ ।’

देउवानिकट नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीको गैरसंवैधानिक कदमविरुद्ध जुटेर दुई-दुईवटा (स्थानीय र प्रतिनिधिसभा एवम् प्रदेशसभा) निर्वाचन सफल गराएकाले प्रधानमन्त्रीमा देउवाको विकल्प नरहेको बताउँछन्।

यस्तै सत्तागठबन्धनमा रहेका नेताहरूले पनि प्रधानमन्त्रीका रूपमा देउवालाई अघि सार्ने दाबी गरिरहेका छन्। ‘बाहिर सत्तागठबन्धनका साथीहरूले के भन्नु भयो भने थाहा छैन, बालुवाटारमा हुने बैठकमा देउवा नै प्रधानमन्त्री बन्नुपर्ने धारणा राखिरहनु भएको हुन्छ,’ देउवानिकट ती नेताले भने।

पार्टीभित्र भने देउवाले उत्तराधिकारीका रूपमा अघि सार्ने अपेक्षा गरिएका गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण पराजित भएका कारण अब उनी संसदीय दलको नेताको रेसमा हुने छैनन्।

आफ्नै किचेन क्याबिनेटका पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्कीलाई देउवाले विश्वास गरिहाल्ने संकेत छैन। त्यसैले उनी आफैँ प्रधानमन्त्री बन्ने तयारीमा छन्। सभापति देउवामात्रै होइन, वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंह नयाँ पुस्तालाई अघि सार्ने पक्षमा छैनन्। यसबारे देउवाले सार्वजनिक रूपमा केही बोलेका छैनन्।

नेता पौडेलले भने गगनको प्रधानमन्त्री बन्ने बेला नभएको बताइसकेका छन्। उनले भनेका छन्, ‘एकैचोटि फड्कन सक्ने अवस्था देख्दिनँ पालो आउँछ नि। परम्परा बोकेको पार्टी हो। यहाँ धेरै लामो संघर्ष गरेको इतिहास छ, संघर्ष गरेका मानिस यहीँ छन्। त्याग, तपस्या, सारा जीवन पार्टीलाई दिएका नेताहरू यहीँ छन्। त्यति सजिलैसँग प्रधानमन्त्री बन्छु भनेर भन्न मिल्दैन। राजनीतिलाई यति सजिलोसँग हेर्न पनि मिल्दैन।’

कांग्रेसमा देउवाले नछाड्ने र सबैतिरबाट दबाब आएमा समकक्षी नेतालाई नै प्रस्ताव गर्ने सम्भावना रहेको जानकारहरू बताउँछन्। देउवाको रुचिमा परेका व्यक्तित्वहरूमा पूर्वमहामन्त्री डा. शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंह छन्।

सबैभन्दा सहजमा शशांक

०७२ सालपछि शशांक कांग्रेस महामन्त्रीमा निर्वाचित भएका हुन्। ०६४ देखि संसद् प्रवेश गरेका कोइराला सरकारमा भने गएका छैनन्। उनी नवलपरासीबाट निरन्तर ४ पटक निर्वाचित भएका हुन्। कोइराला परिवारका प्रतिनिधि बनेका शशांक कुनै विवादमा आएका त छैनन् तर पार्टी संगठन सुदृढ बनाउने पनि उनले खासै भूमिका निर्वाह गरेको देखिँदैन।

त्यसैले डा. शेखर कोइराला राजनीतिमा संलग्न भएपछि कोइराला कांग्रेसको एउटा समूहले शशांकलाई कम महत्त्व दिन थालेको छ। कोइराला कांग्रेसमा महामन्त्रीका रूपमा विजयी भए पनि त्यसपछि माथि जान नसकेका नेता हुन्। ०४८ सालमा पार्टी महामन्त्री भएकै बेला गिरिजाप्रसाद कोइराला संसदीय दलको नेता चुनिएर प्रधानमन्त्री भएका थिए।

हालका महामन्त्री गगन थापा पनि प्रधानमन्त्रीका लागि आफू संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारीमा छन्। तर ०७२ पछि महामन्त्री भएका शशांकले भने सरकारमा सहभागी हुने दाबी गरेका थिएनन्। अहिलेको निर्वाचनमा विजयी भएपछि भने उनले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन्। उनले भनेका छन्, ‘चाहना धेरैको हुन्छ। प्रधानमन्त्री बन्न कोइराला परिवारको एक जना क्यान्डिडेट हुन्छ। त्यो म नै हुन्छु। युवाहरू सबैको व्यवस्थापन हुन्छ।’

शशांकलाई प्रधानमन्त्री बनाउँदा कांग्रेस सभापति देउवाका लागि सहज हुने जानकारहरूको बुझाइ छ। शशांकलाई अघि सारेमा देउवा के चान्छन्, त्यही गराउन सक्छन्। कांग्रेसको चौधौँ महाधिवेशनमा खुलातर्फको केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएर विजयी शशांकमाथि कसैले प्रश्न उठाउन नसक्ने देउवाको बुझाइ छ।

‘एकपटक खाऊन् त रामचन्द्रले!’

आफू प्रधानमन्त्री बन्न नपाएमा देउवाले अघि सार्ने अर्का व्यक्तित्व हुन् वरिष्ठ नेता रामचन्द्र पौडेल। ०४८ मा संसद् प्रवेश गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल देउवाका समकक्षी हुन्। प्रतिनिधिसभाका सभामुख, पटक-पटक मन्त्री र उपप्रधानमन्त्रीसमेत भइसकेका पौडेल एकपटक भए पनि सरकारको कार्यकारी पदमा पुग्न भरमग्दुर प्रयासमा छन्।

०६७ सालमा प्रधानमन्त्री पदका लागि भएको निर्वाचनमा १७ पटकसम्म हारेका पौडेल देउवाकै कारण कार्यकारी बन्न नसकेको पौडेलपक्षीय नेताहरू बताउँछन्। आफूसँग विद्यार्थी राजनीतिबाट उदाएका देउवा पाँचपाँच पटक प्रधानमन्त्री भइसक्दा पनि आफू भने ‘पहिलो व्यक्ति’ हुन नसकेकामा पौडेलमा असन्तुष्टि छ। त्यसैले देउवाले ‘एकपटकका लागि खाऊन् त’ भनेर पौडेललाई अघि सार्ने सम्भावना छ।

पछिल्ला पुस्ताले प्रधानमन्त्रीमा पौडेललाई प्रस्ताव गर्ने सम्भावना छैन। देउवाले चाहेमा मात्रै उनी अघि सर्न सक्छन्। पौडेल कांग्रेसका समकालीन प्रभावशाली नेतामध्ये कम विवादित छन्। त्यसैले उनलाई अघि सार्दा आफूलाई पनि सजिलो हुने र युवा पुस्ताले पनि विरोध नगर्नेमा देउवा ढुक्क छन्।

गुन तिर्नका लागि प्रकाशमान

देउवाले प्रधानमन्त्रीका लागि प्रस्ताव गर्न सक्ने अर्का नेता हुन् प्रकाशमान सिंह। कांग्रेस महामन्त्री र उपप्रधानमन्त्रीसमेत भइसकेका सिंह ०६४ सालदेखि निरन्तर संसद्‍मा रहँदै आएका छन्। कांग्रेसको चौधौँ महाधिवेशनमा सिंहकै बलमा देउवा सभापतिमा निर्वाचित भएका थिए।

निर्वाचनमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि दोहार्‍याएर मतदान भएको थियो। दोस्रो चरणमा सिंह र निधिले साथ दिएपछि देउवाको दोस्रो कार्यकाल सुनिश्चित भएको थियो। सोही गुन तिर्न पनि देउवाले सिंहलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न सक्ने आकलन छ।

विगतमा देउवाले कांग्रेस फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्दा सिंहले साथ दिएका थिए। देउवासँग लामो समयदेखि सहकार्य गर्दै आएका सिंहले पनि आफू प्रधानमन्त्रीमा योग्य रहेको बताउँदै आएका छन्। उनले चुनावअघि एउटा सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘म केका लागि फिट छु भन्नेकुरा म बोल्नु भन्दा पनि मेरो अनुभव र विगतका गतिविधिले के देखाउँछ भन्दा अवसर पायो भने म स्पष्ट छु, नियत साफ छ, लोभ छैन, मोह छैन, मलाई केही गरेर देखाउन सक्छु भन्ने आत्मविश्वास छ।’

गत आइतबार सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सिंहले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए। सो भेटलाई लिएर कतिपयले एमालेको समर्थनमा सिंहको प्रधानमन्त्री तयारीका रूपमा पनि अर्थ्याएका छन्। यद्यपि उनीहरूले उक्त भेटमा बधाई साटासाट मात्रै गरेको बताएका थिए। सिंह र अध्यक्ष ओलीबीचको भेटलाई अर्थपूर्ण मानिएको छ।

गगन र विश्वप्रकाशको अभियानको अन्तर्य

कांग्रेसमा उमेर र अनुभवका हिसाबले गगनभन्दा विश्वप्रकाश शर्मा ‘सिनियर’ मानिन्छन्। तर पार्टी, संसद् र सरकारमा सहभागिताका दृष्टिले थापा ‘सिनियर’ हुन्। दुवै नेता कांग्रेसमा पुस्ता परिवर्तनका लागि जबरजस्त रूपमा सक्रिय भएर पार्टी र आमजनतामा राजनीतिप्रति सकारात्मक भावको सञ्चार गरिरहेका छन्।

उनीहरूका पक्षमा शीर्ष नेता कसैले पनि ‘आशीर्वाद’ दिएको संकेत छैन। त्यसैले थापालाई तत्काल संसदीय नेताका लागि समर्थन जुट्ने सम्भावना देखिँदैन। थापाले अहिले देउवासँग चुनाव लडेर अर्कोपल्टका लागि सुविधाजनक रूपमा पार्टीबाट विश्वास लिने तयारीमा गरेको आकलन धेरैको छ।

थापाको पृष्ठभूमि पनि त्यस्तै छ। पार्टीको तेह्रौँ महाधिवेशनमा महामन्त्रीमा लडेर पराजित भएका उनले चौधौँ महाधिवेशनमा आइपुग्दा लोकप्रिय मतका साथ महामन्त्रीका रूपमा विजयी भए। महामन्त्रीद्वय थापा र शर्माले केही वर्षपछि एकजनाले सरकार र अर्काले पार्टीको नेतृत्व लिने गरी योजना बनाएर अघि बढेको पनि जानकारहरूको बुझाइ छ।

यसैले अहिले १५ भोटमात्रै आए पनि थापा संसदीय दलको नेतामा लड्ने पक्षमा रहेको उनी निकट नेताहरू बताउँछन्। स्वयं थापा आफैँले भनेका छन्,‘मेरो अबको गन्तव्य भनेको नै संस्दीय दलमा जाने हो र उठेर जितेर मुलुकको कार्यकारी हुने हो।’ सबैको साथ, सहयोग र सद्भाव पाएमा आफू दलको नेता चुनिने र प्रधानमन्त्री बन्ने  थापाको तर्क छ।


प्रतिक्रिया

One thought on “आफू प्रधानमन्त्री बन्‍न नसके यी तीनलाई अघि बढाउँदै देउवा

  1. बुढो गोरु लाई जोताएर खेत खनिँंदैन। युवाहरूलाई नै अगाडि ल्याउनु पर्छ।

Leave a Reply to रबिन्द्र मल्ल Cancel reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =