देउवाको उत्तराधिकारी बन्ने होड : एकअर्कालाई हराउने रणनीतिमा लेखक र साउद

सन्तोष अधिकारी २४ कार्तिक २०७९ ११:५३
देउवाको उत्तराधिकारी बन्ने होड : एकअर्कालाई हराउने रणनीतिमा लेखक र साउद

कञ्‍चनपुर- कात्तिक २१ गते कञ्चनपुर निर्वाचन क्षेत्र-३ अन्तर्गत एयरपोर्ट छेवैमा पूर्वमन्त्री तथा कांग्रेसका नेता रमेश लेखकको निर्वाचन केन्द्रित कार्यक्रम चलिरहेको थियो। लेखक कञ्चनपुरर-३ बाट यसपटक पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्।

कार्यक्रम टोलस्तरीय भएकाले पनि होला  सीमित कार्यकर्ता मात्रै भेला भएका थिए। नेताहरूले बोलेको सुनेर छेउमा बसिरहेका स्थानीय वृद्ध भरत महराले भने, ‘रमेश बाबुले चुनाव त दु:ख नगरी जित्नुपर्ने तर क्यार्नु कांग्रेसीहरू नै उनलाई हराउन तम्सिएका छन्।’

हामीले दुई दिनसम्म त्यस क्षेत्रमा भेटेका धेरै कांग्रेसका कार्यकर्ता तथा मतदातालाई पनि चुनावी माहोलबारे सोधेका थियौँ। उनीहरूको भनाइ पनि महरासँगै मिल्दोजुल्दो थियो। लेखकलाई निर्वाचनमा विपक्षी दलका उम्मेदवारभन्दा बढी कसले चुनौती दिइरहेको छ भन्नेबारे खुलाउनुअघि कञ्चनपुरर २ का प्रतिनिधिसभा सदस्यका कांग्रेसकै अर्का उम्मेदवार एनपी साउदको क्षेत्रको बारे कुरा गरौँ।

कात्तिक २१ गते लेखकको क्षेत्रको कार्यक्रममा जानुअघि हामी एनपी साउदको क्षेत्रको कार्यक्रममा पनि पुगेका थियौँ। त्यहाँका कांग्रेसका कार्यकर्ता दिनेश बुढाले पनि लेखकको क्षेत्रका महराले भनेजस्तै साउदलाई कांग्रेसीहरू नै चुनौती बनेको बताए।

‘एनपी दाइ विद्यार्थी हुँदादेखि यहाँको राजनीतिमा सक्रिय हुँदै जिल्लादेखि केन्द्रमा पहुँच राख्ने कञ्चनपुरकै बलियो नेता हो,’ उनले भने, ‘तर उहाँ जस्तो नेतालाई हराउन केही ठूला भनिएका नेता र उम्मेदवार नै लागेको पाइयो।’

एनपीलाई लेखक र लेखकलाई एनपीकै डर!

दुवै नेताको चुनावी कार्यक्रममा सहभागी कार्यकर्ताको भनाइपछि एकअर्कालाई हराउन तम्सिने को होला भनेर खोज्ने प्रयास गरियो। विभिन्न सूचनाका आधारमा एनपीलाई हराउन लेखक र लेखकलाई हराउन एनपी नै लागेको पाइयो। यसको पनि विभिन्न कारण रहेछन्। त्योमध्ये एक प्रमुख कारण भने कांग्रेस सभापति शेरबहादुर देउवापछि सुदूरपश्चिममा कसले कांग्रेसको चाबी हात पार्ने भन्ने नै रहेछ। त्यसका लागि निर्वाचन जोडिएको पाइयो। यी नेताहरूले शेरबहादुर देउवा लागि यो चुनाव अन्तिम भएको पनि कल्पना गरिसकेको पाइयो।

यी दुवैको निर्वाचन क्षेत्र भने बझाङ, बैतडी, दार्चुला, डडेलधुरालगायत जिल्लाबाट बसाइसराइ गरेकाहरूको बाहुल्य छ। यहाँको चुनावमा भेगिए मतको पनि ठूलो प्रभाव पर्ने स्थानीय खिमविक्रम धामी बताउँछन्।

‘एनपी साउदको पुर्ख्यौली थलो डडेलधुरा हो। लेखकको क्षेत्रमा डडेलधुराबाट झरेर स्थायी बसोबास गर्नेहरू धेरै छन्,’ उनले भने, ‘डडेलधुराबाट झरेकाहरूले लेखकलाई भन्दा धेरै साउदलाई नेता मान्छन्। उता फेरि बैतडीबाट झरेकाहरूले साउदलाई कम र लेखकलाई ठूलो नेता मान्छन् नि।’

अर्का एक स्थानीयले त दुई नेताले एकअर्कालाई चुनाव हराउन/अघि बढ्न नदिन रकम नै खर्चिने आरोप पनि लगाए। उनले भने, ‘धेरैलाई थाहै छैन यहाँ रमेश र एनपीको जुँगाको लडाइँले कांग्रेस हार्ने भो। उनीहरू एकअर्कालाई हराउन पैसा खर्चेर उत्रिएका छन्। अनि हुन्छ त?’  यी दुई नेताबीच पार्टीको वडा, क्षेत्र, प्रदेश तथा जिल्ला अधिवेशनमै पनि तिक्तता देखिएको थियो।

दुवै देउवानिकट र आरजुको हस्तक्षेप!

लेखक र साउद दुवै सभापति देउवानिकट नेता हुन्। पार्टीको महाधिवेशनमा पनि उनीहरू देउवाकै समूहबाट उम्मेदवार बनेर निर्वाचित भए। अहिले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न पनि देउवा समूहबाटै उनीहरूले टिकट लिएका हुन्। अहिले यी दुई नेता सभापति देउवाको निकट भएकै कारण पनि एकअर्कालाई खुइल्याउन कस्सिएका हुन्। यिनीहरू एकअर्कालाई हराउने खेलको मुख्य भूमिकामा प्रधानमन्त्रीसमेत रहेका देउवा पत्नि आरजु देउवा राणा देखिएकी छन्।

यसका लागि कांग्रेसले प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट वितरणको समय सम्झिनुपर्ने हुन्छ। आरजु राणा यसपटक डडेलधुराबाट चुनाव लड्न चाहन्थिन्। तर शेरबहादुर देउवाले पुन: डडेलधुरामा आफैँ चुनाव लड्ने अडान लिइरहेपछि आरजुको नजिर कञ्चनपुररतर्फ मोडिएको थियो।

उनले कञ्चनपुरर-३ बाट चुनाव लड्ने इच्छा गरिन्। सोहीअनुसार नेता लेखकलाई फकाउन पनि खोजेकी रहिछन्। ‘प्रत्यक्ष चुनाव जितेर सुदूरपश्चिवमा शेरबहादुरको पकड लिने आरजुको चाहना यसपालि पूरा भएन,’ कञ्चनपुररका एक नेताले भने, ‘आरजुलाई लेखकले टेरेनन्। त्यसपछि आरजुले साउदको क्षेत्र पनि हेरेकी थिइन्। साउदले आफ्नो लागि गठबन्धन दल पनि मिलाएर ठिक्क पारेको ठाउँमा साउदले पनि छोड्न मानेनन्। अनि उनी समानुपातिकमा बसेकी हुन्।’

ती नेताले त लेखक र साउद दुवैलाई आरजुको समूहले सहयोग नगरेको आरोप पनि लगाए।

लेखकको प्रतिस्पर्धी को?

गठबन्धनका उम्मेदवार लेखक पटकपटक मन्त्री भइसकेका व्यक्ति हुन्। उनी अघिल्लो चुनावमा एमालेका दीपकप्रकाश भट्टसँग हारेका थिए।  २०७० चुनावमा भने उनी कञ्चनपुर-४ बाट विजयी भएका थिए। यस्तै उनी २०६४ मा समानुपातिक सांसद भएका थिए। लेखकको संसद् प्रवेश भने २०५६ सालमा भएको हो। उनले त्यति बेला कञ्चनपुर-३ बाट राप्रपा चन्दका इन्द्रबहादुर खत्रीलाई हराएका थिए। यसपटक उनका प्रतिस्पर्धी एमालेकी नीरुदेवी पाल छिन्। पाल एमाले अध्यक्ष केपी शर्मा ओलीको जनसम्पर्क विज्ञ भएर काम गरिसकेकी छन्। अघिल्लो चुनावमा समानुपातिक सांसद रहेकी पालले प्रतिनिधिसभाको महिला तथा सामाजिक विकास समितिको सभापति भएर पनि काम गरेको अनुभव छ।

विकास निर्माणका योजनालाई प्रथमिकतामा राखेर भोट मागिरहेका नेताहरूले आफ्नो जित निश्चित रहेको दाबी गरिरहेका छन्। प्रतिनिधिसभाका उम्मेदवारले ठूला योजनाको निर्माण कार्य सम्पन्न गर्न आफ्नो उम्मेदवारी रहेको दाबी उनीहरूको छ। नाका, महाकाली पुल, विमानस्थल, सुख्खा बन्दगाहलगायतका विकासे योजनालाई यस क्षेत्रका उम्मेदवारले प्राथमिकतामा राखेका छन्।

यस क्षेत्रबाट नेपाल मजदुर किसान पार्टीबाट जानकीदेवी गिरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट अम्बादत्त तिवारी, जनमत पार्टीबाट सुशीलादेवी बिष्ट, मौलिक जरोकिलो पार्टीबाट तिलकप्रसाद जोशी, हाम्रो नेपाली पार्टीबाट दुर्गादत्त पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्ण लुहार र स्वतन्त्रबाट शारदादेवी चन्द, मदन दमाईं, सुभाषसिंह धामी, दीपकबहादुर सिंहलगायत मैदानमा छन्।

साउदको प्रतिस्पर्धी को?

प्रतिनिधिसभा सदस्यका लागि कञ्चनपुर-२ मा सत्ता गठबन्धनका तर्फबाट पूर्वमन्त्री साउद र नेकपा एमालेतर्फबाट नरबहादुर धामीबीच मुख्यप्रतिस्पर्धा हुने आकलन छ। यी दुई नेता तेस्रो पटक प्रतिस्पर्धामा उत्रिएका हुन्।

२०५६ मा पहिलोपटक क्षेत्र १ बाट निर्वाचित भएका साउद ०६४ मा उनी क्षेत्र २ मा माओवादीका नेता देवीलाल चौधरीसँग हार बेहोरे।

एनपीले २०७० मा तारा लामालाई हराए। २०७४ मा वाम गठबन्धनको  उम्मेदवार बनेर धामीले साउदलाई हराए। वन्यजन्तुको आक्रमण, बाढी, कटान, डुबान यहाँका उम्मेदवारको साझा एजेन्डा छन्। यस क्षेत्रमा राप्रपा, लोसपा नेमकिपालगायत दलका पनि उम्मेदवार पनि चुनावी मैदानमा छन्।

प्रकाशित: २४ कार्तिक २०७९ ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =