निर्वाचित हुँदा पनि पाँच दिनसम्म तनावमा वसन्त!

हिमाल प्रेस १४ मंसिर २०७९ १३:३९
872
SHARES
निर्वाचित हुँदा पनि पाँच दिनसम्म तनावमा वसन्त! एमालेका वसन्त नेम्बाङलाई मंगलबार संघीय संसद्‌ सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै पाँचथरका मुख्य निर्वाचन अधिकृत टीकेन्द्र दाहाल

काठमाडौँ- चुनाव जितेपछि उम्मेदवार उमंगित हुन्छन्। समर्थकमा खुसीयाली छाउँछ। जुलुस निकालेपछि विजय उत्सवमा परिणत हुन्छ वातावरण। केही उम्मेदवार भने जितेर पनि खुसी भइहाल्न पाउँदैनन्। यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचन मत यस्तै भयो पाँचथरका एमाले उम्मेदवार वसन्तकुमार नेम्बाङलाई।

बिहीबार प्रत्यक्षतर्फको मतगणना सकियो। कार्यकर्ताहरूले विजय जुलुस निकाले। उनलाई बधाई दिनेको भीड लाग्यो। नेम्बाङले पनि सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिए। विजय र्‍याली समापन भयो। शुक्रबार बिहान नेम्बाङ प्रमाणपत्र लिन मुख्य निर्वाचन कार्यालय पुगे। तर उनले निर्वाचित भएको प्रमाणपत्र भने पाएनन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई प्रमाणपत्र नदिनुको कारण थियो, प्रत्यक्षतर्फको मतपत्र समानुपातिकतर्फ परेको भन्ने विपक्षी कांग्रेसको दाबी। कार्यालयले उनलाई समानुपातिकको मतगणना सकियुन्जेल प्रतीक्षा गर्न आग्रह गर्‍यो। प्रत्यक्षतर्फको मतगणनामा नेम्बाङले सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले हराएका थिए।

कांग्रेस सहमहामन्त्री आङदेम्बेले ३२ हजार ६३ मत प्राप्त गर्दा नेम्बाङले ३२ हजार ११० मत ल्याएका थिए। समानुपातिकतर्फको मत आफूहरूको धेरै परेको र सहज जित निकाल्ने कांग्रेसको दाबी थियो। समानुपातिकको मत गणना सकिन मंगलबारसम्म पर्खनुपर्‍यो। यसबीचमा उनी निकै तनावमा रहे।

‘मतदाता र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ झरेको मत मिलेन। त्यही कारण हामीले समानुपातिक गन्न आग्रह गर्‍यौँ’, पाँचथर कांग्रेसका सचिव दीपक नेपालले भने। समानुपातिकको गणना गर्दा प्रत्यक्षतर्फ कांग्रेसको मत बढेन। कांग्रेस (रुख) २६ मत र एमाले (सूर्य)को २५ मत भेटियो। ४७ मतान्तरले अग्रता कायम गरेका नेम्वाङको एक मत कम आयो। जित उनकै भयो। ‘रूखको मात्र झरेको जस्तो गरेर साथीहरू समानुपातिकको गणनातर्फ लाग्नुभयो,’ एमाले पाँचथरका सहसचिव पृथ्वी लावतीले हिमाल प्रेससँग भने, ‘जित हाम्रै भयो। सुरुवातमै निश्चित थियो।’
कांग्रेस अझै सशंकित
समानुपातिकतर्फको मतगणना सकिएपछि नेम्बाङलाई निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरिसकेको छ। आयोगले वेबसाइटमा पनि नेम्वाङ विजयी भएको उल्लेख गरेको छ। तर कांग्रेस भने सशंकित छ। ‘प्रतिनिधिसभामा झरेको मत अझै तलमाथि भएजस्तो छ,’ कांग्रेस सचिव नेपालले भने, ‘हामी छलफलमै छौँ।’ एमालेले भने कांग्रेस र निर्वाचन आयोगको साठगाँठ भएको आरोप लगाएको छ।

कांग्रेसकै असहयोगले कांग्रेस हार्‍यो
एकमात्र संघीय निर्वाचन क्षेत्र रहेको पाँचथरमा गठबन्धनबाट संघमा कांग्रेसले टिकट पाएको थियो। दुई प्रदेशसभामा भने एउटामा एकीकृत समाजवादी र अर्कोमा नेकपा माओवादीले टिकट पाएका थिए। प्रदेशका दुवै निर्वाचन क्षेत्रमा गठबन्धनको जित भयो। संघमा कांग्रेसकै हार भयो। गठबन्धनभित्र पाँचथरमा कांग्रेस सबैभन्दा ठूलो पार्टी हो। कांग्रेसकै मतले प्रदेशमा गठबन्धनले जित्दा संघमा कांग्रेसले हार्नुपरेको छ।

‘हामीभित्रकै असन्तुष्टिले हार भयो,’ कांग्रेसका एक जिल्लास्तरीय नेताले भने, ‘हाम्रै नेताका कारण विपक्षी नेताले जिते।’ पाँचथरका दुई प्रदेशमध्ये प्रदेश (ख)बाट माओवादी केन्द्रका इन्द्रबहादुर आङबोले जितेका छन्। उनले एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई हराएका हुन्।
आङ्बोले १५ हजार ६ सय ७२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेम्वाङले १२ हजार ६ सय ५ मत प्राप्त गरे। पाँचथरको प्रदेश ‘क’ मा नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगु निर्वाचित भए। उनले एमालेका राजकुमार भण्डारीलाई पराजित गरे।

समाजवादीका जवेगुले १६ हजार ८३७ मत प्राप्त गर्दा एमालेका भण्डारीले १६ हजार २०४ मत पाए। समानुपातिकतर्फ गठबन्धनभित्र कांग्रेसको १९ हजारर ८०८ मत ल्याएको छ भने माओवादी केन्द्रको १० हजार ६०७ मत, जनता समाजवादीको १७०९ मत र एकीकृत समाजवादीको २९२० मत पाएको छ।

प्रकाशित: १४ मंसिर २०७९ १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =