जसपा ४५ सिटसहित संसद् प्रवेश गर्नेछ : उपेन्द्र यादव [अन्तर्वार्ता]

हिमाल प्रेस २३ कार्तिक २०७९ ११:३०
जसपा ४५ सिटसहित संसद् प्रवेश गर्नेछ : उपेन्द्र यादव [अन्तर्वार्ता]

मधेश आन्दोलनपछि राजनीतिमा उदाएर उपप्रधानमन्त्रीसमेत भइसकेका उपेन्द्र यादव यतिबेला जनता समाजवादी पार्टी (जसपा) नेपालको साख बचाउन सक्रिय छन्। पार्टीले प्रतिनिधिसभा सदस्यका लागि ८१ सिटमा उम्मेदवारी दिएको छ। मधेशका जनताको आवाज बुलन्द पार्न आफ्नो दलले बढीभन्दा बढी सिटमा जित्नैपर्ने उनको दाबी छ। सिट बाँडफाँटमा भागबण्डा नमिलेपछि सत्ता गठबन्धनलाई घुर्की देखाएर एक्लै निर्वाचनमा जाने तयारी गरेका यादव पछि एमालेसँग तालमेल गर्न पुगेका छन्। सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका यादवलाई आफूले फेरि चुनाव जित्ने विश्वास छ। यादवसँग आसन्न निर्वाचनको सेरोफेरोमा रहेर हिमालप्रेसले गरेको कुराकानी :

सत्ता गठबन्धनबाट अलग भएर विपक्षीसँग तालमेल गरी निर्वाचन लड्दा कस्तो अनुभूति भइरहेको छ?

आरम्भमा गल्ती गरेँ जस्तो लागेको थियो। अहिले विश्लेषण गर्दा जे गरे ठिक गरेँ भन्ने लागेको छ। सत्ता गठबन्धनमा भन्दा हामीलाई बढी नै सहज अनुभूति भइरहेको छ। सत्ता गठबन्धनका नेताहरूलाई प्राथमिकतामा दिँदा उहाँहरूले साह्रै हेप्नुभयो। त्यसपछि एक्लै चुनाव लड्ने निर्णयमा पुगेका थियौँ। प्रमुख प्रतिपक्ष एमालेको साथ पाएपछि हामीलाई सजिलो भयो। हाम्रो साथले उहाँहरू पनि थप उत्साहित हुनुभएको छ। जसले गर्दा अर्काे गठबन्धन बन्यो। यही गठबन्धन निर्वाचन जितेर आगामी पाँच वर्ष सत्तामा रहन्छ। मुलुकको मुहार फेर्नेछ।

सत्ता गठबन्धन छाड्दा हामीलाई केही फाइदा भएको छ। पार्टीका थप साथीहरूलाई व्यवस्थापन गर्न सफल भएका छौँ। सोही कारण प्रतिनिधिसभामा ८१ स्थानमा उम्मेदवारी दिन पायौँ। प्रदेशसभा सदस्यका लागि हामीले १ सय ४५ स्थानमा उम्मेदवारी दिएका छौँ। यसबाट संसद्‍मा हाम्रो जबरजस्त उपस्थिति हुने स्पष्ट छ। हामीले तयारी पनि त्यहीअनुरुपको गरिरहेका छौँ।

तपाईंमाथि शेरबहादुर देउवालाई धोका दिएर केपी ओलीतिर लागेको आरोप पनि छ नि?

हामीलाई देउवाले आवश्यक पर्दा उपयोग गर्नुभयो अनि आफू माथि परेपछि ङ्याक्न थाल्नुभयो। उहाँ प्रधानमन्त्री बन्ने सम्भावना थियो त? कसले बनाएको प्रधानमन्त्री? शेरबहादुर देउवालाई त हामीले प्रधानमन्त्री बनाएका हौँ। उहाँको हैसियत के थियो र? प्रचण्डजी र मैले नै उहाँलाई प्रधानमन्त्री बन्न आग्रह गरेका हौँ।

तर पछि उहाँले के गर्नुभयो त्यो भनिरहनु पर्दैन। हामी तराईवासी त मानिस नै होइन, केही पनि जान्दैन झैँ गर्ने अनि सिटमा पनि ङ्याक्ने। देउवा भगवान् हुन् पूजा गरेर बसिरहनलाई? हामी खुम्चिएर पनि सत्ता गठबन्धनसँग सहकार्य गर्ने प्रयासमा थियौँ। तर हाम्रा लागि सत्ता गठबन्धनले ढोका लगाएपछि एक्लै मैदानमा उत्रिन हिँडेका थियौँ।

प्रदेशसभा बलियो बनाउँदै केन्द्रलाई नीतिगत जिम्मेवारी मात्र दिनुपर्छ। अहिले नाम मात्रको प्रदेश छ। सोही कारण विभिन्न प्रश्न उठिरहेका छन्। त्यसलाई प्रभावकारी बनाउन प्रदेशको भूमिका बढाउनुपर्छ।

त्यही बेला केपी शर्मा ओलीले सहकार्य गर्न प्रस्ताव गर्नुभयो। हामी पनि सहकार्यमा जुट्यौँ। तर अहिले एक प्रकारको हल्ला फिँजाइएको छ- ओलीले बोकेर मात्र के गर्नु? यादवलाई चुनाव हराउन लागिएको छ भनेर। तर यी सबै मिथ्या आरोप हुन्। उपेन्द्र यादवले चुनाव जितेर आउनेमा ढुक्क हुनुहोस्। हामी कम्तीमा पनि प्रत्यक्षमा २० र समानुपातिकमा २५ सिट जितेर ४५ सिटसहित संसद् प्रवेश गर्नेछौँ।

जसपालाई पहाडी समुदायसँग जोड्ने एउटा प्रमुख धार त बाहिरिएको छ। यसलाई कसरी लिनुभएको छ?

हो, पक्कै डा. बाबुराम भट्टराईले छाडेको विषय उप्काउन खोज्नुभयो। भट्टराई यही पार्टीमा रहेर योजनाका साथ निर्वाचनमा अघि बढ्नुभएको भए उहाँलाई पनि फाइदा हुने थियो। अब उहाँलाई सहज छैन। तर मानिसलाई जसपा विभाजन भयो भन्ने लागेको छ। पार्टी विभाजन भएको छैन। डा. भट्टराई अर्को पार्टी खोल्छु भनेर हामीसँग बिदा भएर जानुभएको हो। उहाँले त निर्वाचन आफू नउठेर छोरीलाई मैदानमा उतार्नुभएको छ। आफ्नो निर्वाचन क्षेत्रमा प्रचण्डजीलाई लगेर उहाँलाई दंग पार्नुभएको छ। अब त उहाँको र हाम्रो बाटो फरक भइसकेको छ। त्यसैले पार्टीमा कुनै असर गर्ने छैन।

जसपा अब कस्तो दलका रूपमा रहन्छ त?

हाम्रो पार्टी राम्रो र बलियो शक्तिका रूपमा रहनेछ। अहिले त म केही भन्दिनँ। निर्वाचनको नतिजा हेर्नुस् न पछि। हामीले गरेको मेहनत र हामीलाई नागरिकले दिने विश्वास निर्वाचनपछि देखिन्छ। हामी अधिक स्थानमा निकै अगाडि छौँ। केही स्थानमा प्रतिस्पर्धी छौँ। केही स्थानमा कमजोर पनि छौँ होला। कमजोर रहेको स्थानमा ध्यान दिइरहेका छौँ। आफूले मात्र जितेर पनि भएन। साथीहरू लिएर जानुपर्छ। अनि न हाम्रो एजेन्डा स्पष्ट पार्न सहज हुन्छ। एमाले र हाम्रो गठबन्धनको सरकार बन्छ नै। जुन अहिलेको आवश्यकता पनि हो।

एमालेसँग वैचारिक एकता गर्ने पो हो कि?

सत्ता गठबन्धनका रहेका दलहरू मधेशमाथि सधैँ जालझेल गर्दै आएका छन्। कांग्रेसले आफूलाई मधेशको मसिया ठानेर हामीमाथि षड्यन्त्र गर्दै आएको छ। सिट बाँडफाँटका बेला पनि त्यस्तै व्यवहार गरेपछि हामीले छोडेर हिँडेका हौँ। दर्शन र भिजन मन परेर एमालेसँग सहकार्य गरेका होइनौँ। यो चुनावी तालमेल मात्रै हो। यहाँ त एकले अर्काको जितका लागि सहकार्य गरिएको हो। एमालेको आफ्नै दर्शन छ, हाम्रो आफ्नै। हामीले उहाँहरूका विचार स्वीकार गरेका होइनौँ।

चुनाव प्रचारका क्रममा मतदाताको घरदैलोमा उपेन्द्र यादव।

कांग्रेस र एमालेले मिलेर सरकार बनाएकै हुन्। माओवादी एमाले पार्टीभित्रै छिरिसकेको दल हो। यसैले चुनावी तालमेललाई यो वा त्यो भन्न मिल्दैन। हामीलाई कांग्रेसले निकै असजिलो पारेको थियो। माओवादी भए पुग्छ भन्ने शैलीमा कांग्रेस अघि बढ्दाको परिणाम निर्वाचनले देखाउँछ। निर्वाचनपछि सरकार बनाउने समयमा देखिन्छ देउवाको बठ्याइँ।

तपाईं त कम्युनिस्ट पार्टीलाई कमजोर बनाएर समाजवादीको अर्को धार बनाउने रणनीतिमा हुनुहुन्छ रे नि?

हामी स्वयं समाजवादी पार्टी हौँ। त्यसैले अर्को समाजवादी बनाउने भन्ने त हुँदैन। यो त हामीले सुनेका पनि छैनौँ। नेकपा (समाजवादी केन्द्र) राखेर मात्र जनतालाई आकर्षण गर्न सकिँदैन। समानुपातिक प्रतिनिधित्वसहितको विषय लिएर पनि काम हुन सकेको छैन। चुनावी तालमेल र गठबन्धन फरक कुरा हुन्। अर्को प्रकारको मोर्चाबारे छलफल भएको छैन। पार्टीलाई उचित लाग्यो भने त्यसमा सहभागी हुन सकिन्छ। केही कम्युनिस्ट पार्टी मिलेर समाजवादी नाम राख्दैमा समाजवादी भइन्न।

जसपाले हिमाल, पहाड र तराई सबैतिर नेतृत्व गर्न सक्छ?

हामी राष्ट्रिय पार्टी हौँ। समाज सुधारका लागि हिँडेका हामीले पार्टीको गजबको सञ्जाल बनाएका छौँ। प्रचण्डसँग मेरो यही विषयमा विवाद हुन्थ्यो। तराईवासीले मात्र खेतीकिसानी गर्ने हो र? त्यसमा ध्यान दिएर नियाल्दा हिमाली भेगमा बस्नेसँग पनि सहकार्य हुनेछ। हामी हिमाल र पहाड सबै स्थानमा फैलिएका छौँ। हामीले सत्ता गठबन्धनसँग विगतमा जितेको स्थानबाहेक केही सिट बढी मागेका थियौँ। तर त्यो सिट नपाउने भएपछि सरक्क निस्केका हौँ। हामी हाम्रो वर्चस्व कायम राख्छौँ। सबैसँग सहकार्यको हात फैलाउनेछौँ।

तपाईंले चुनाव जित्ने आधार के-के छन्? 

मेरो त चिन्ता छैन। म सहजै जित्छु। यसमा कुनै शंका र भ्रम छैन। आमनागरिकले उपेन्द्र नै एकपटक फेरि संघीय संसद्मा पुग्नैपर्छ भनिरहेका छन्। यो मप्रति उहाँहरूको माया र सद्भाव हो। आफूले जित्ने निश्चित भएकाले म साथीहरूलाई पनि जिताउन लागिपरेको छु। आफ्नो क्षेत्रमा पनि पुगेको छु। गाउँगाउँमा भेला गराउने र प्रत्यक्ष भेटघाट गर्ने काम भइरहेका छन्। मैले गरेका विकास निर्माणको समीक्षा भइरहेको छ। जनताको घरदैलोमा पुगेर मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारले गरेको कामको फेहरिस्त प्रस्तुत गरिरहेका छौँ। यिनै हुन् मैले चुनाव जित्ने आधारहरू। यस्तै प्रदेशसभाको भूमिका बढाउनुपर्छ भनेर पनि हामीले जनतासँग मत मागिरहेको अवस्था छ।

प्रदेशसभा नरुचाइएको अवस्थामा प्रदेशको भूमिका बढाउनुपर्छ भन्नुको कारण के हो?

नरुचाउने भन्ने कुरा गलत हो। हुन त कतिपय अझै गणतन्त्र मानेका छैनन्। राजसंस्था आउँछ भन्ने पनि छन्। के ती सबै विषय सम्भव छ त? जनआन्दोलनको मुख्य माग प्रदेशसभा हो। त्यसैले प्रदेशसभा बलियो बनाउँदै केन्द्रलाई नीतिगत जिम्मेवारी मात्र दिनुपर्छ। अहिले नाम मात्रको प्रदेश छ। सोही कारण विभिन्न प्रश्न उठिरहेका छन्। त्यसलाई प्रभावकारी बनाउन प्रदेशको भूमिका बढाउनुपर्छ। मन्त्रीको संख्या घटाउने र जिम्मेवारी बढाउने काममा सरकार पनि लाग्न सक्छ। तर त्यस्तो भइरहेको छैन। देउवा सरकारले त यस्ता विषयमा सोच्न पनि भ्याएको छैन।

मधेश प्रदेशको सरकार यहाँहरूको पार्टीले नै बनाउने तयारी हो?

निश्चित रूपमा बनाउनेछौँ। प्रत्यक्षमा पहिलेभन्दा दोब्बर जित्छौँ। केही सिटमा पो तालमेल भएको छ। १४ जिल्लामा एमाले र जसपाबीच तालमेल छ। प्रदेशमा ३२ सिटमा सहयोग गर्ने कुरा छ। बाँकी स्थानमा आफ्नै बाहुबलले जितेर आएपछि हाम्रो पारा नै फरक हुनेछ। अनि हामीलाई पत्तासाप गर्छौं भन्नेहरू आफैं किनारा लाग्‍नेछन्।

अहिलेको संविधानबारे केही गुनासो छ कि?

हामी अपूर्ण संघीयता बनाउँदा यस्तो अवस्थामा आइपुगेका हौँ। हामी आन्दोलनमा रहेका बेला संविधान जारी भएको हो। संविधान मधेशको हितमा हुने गरी जारी गर्नपर्नेमा पहाडी समुदायलाई राजा बनाउने गरी आएको छ। शासकीय स्वरुपलाई संघीयताले नै बदल्ने हो। तर कांग्रेस र माओवादीका नेताहरूमा त्यस्तो सोच छैन। केही नेताहरू उल्टै संघीयता खारेज गरे हुन्छ भनिरहेका छन्। ती त गणतन्त्रविरोधी  हुन्। संघीयता नभए अमेरिका कताबाट विकसित हुन्थ्यो? स्विजरल्यान्ड कसरी शक्तिशाली मुलुकको सूचीमा पुग्थ्यो? एकात्मक सोच राख्नेहरु संघीयतालाई असफल बनाउन प्रयत्नशील छन्। संघीयता आउनुअघि नागरिक सम्पन्न थिए र अहिले संघीयताले नांगै पार्‍यो भन्नु?

प्रकाशित: २३ कार्तिक २०७९ ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =