विश्वकपमा अमेरिकाविरुद्ध इरान : अन्तर्राष्ट्रिय राजनीतिका कारण सधैँ पेचिलो

हिमाल प्रेस १३ मंसिर २०७९ १६:५५
24
SHARES
विश्वकपमा अमेरिकाविरुद्ध इरान : अन्तर्राष्ट्रिय राजनीतिका कारण सधैँ पेचिलो

काठमाडौँ- ‘म अन्तर्राष्ट्रिय राजनीतिको जानकार होइन, फुटबल प्रशिक्षक हो,’ अमेरिकी प्रशिक्षक ग्रेग बेरहाल्टेर इरानसँगको खेलअगाडि दिएको अभिव्यक्ति हो यो। तर यसो भनेर उनले छुटकारा पाउने स्थिति छैन। उनी राजनीतिक दहमा फसिसकेका छन्। यसको उदाहरण हो, इरानी पत्रकारहरूले उनीसामु तेर्साएका प्रश्न।

अमेरिका र इरान मंगबलार राति विश्वकप समूह चरणमा आमनेसामने हुँदैछन्। यही खेलको एक दिनअघि आयोजित पत्रकार सम्मेलनमा इरानी पत्रकारहरूले बेरहाल्टेरलाई अमेरिकामा हुने रंगभेद, खाडीमा अमेरिकी फौजको उपस्थिति लगायतका विषयमा प्रश्न सोधे। बेरहाल्टेरले प्रशिक्षकका रुपमा यसअघि सायदै यस्ता प्रश्नको सामना गर्नु परेको थियो।

हो, बेरहाल्टेरका लागि यो परिस्थिति नौलो हो। तर पूरै अकल्पनीय होइन। किनभने अमेरिका र इरानबीच सम्बन्ध नै यस्तै छ, जसले यस्ता प्रश्नलाई सामान्यकरण गर्न बाध्य बनाउँछ। विश्वकपमा यी दुई टिमबीचको खेलमा राजनीतिक रंग मिसिन्छ नै।

उसो त विश्वकपमा अमेरिका र इरान भिड्न लागेको यो पहिलो पटक होइन। सन् १९९८ मा पनि यी दुई टिम आमनेसाने भएका थिए। त्यसबेला पनि खेललाई राजनीतिले छायाँमा पारेकै हो।

यसपालि इरान केही हदसम्म अप्ठ्यारो स्थिसतमा छ। यसको कारण त्यहाँको घरेलु राजनीति हो। प्रहरी थुनामा रहेकै बेला २२ वर्षीय मासा अमिनीको मृत्यु भएपछि इरानभर आन्दोलन चर्किएको छ। सुरुमा हिजाब सम्बन्धी विषयलाई लिएर सुरु भएको आन्दोलनले राजनीतिक व्यवस्था परिवर्तनको मागलाई नारा बनाएको छ।

आन्दोलन दबाउने नाममा इरानी सुरक्षा फौजले बल प्रयोग गरिरहेको बताइँदैछ। अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरूका अनुसार हालसम्म चार सय ५० आन्दोलनकारीले ज्यान गुमाइसकेका छन्। अनि १८ हजारभन्दा बढीलाई गिरफ्तार गरिएको छ।

आन्दोलनको रापले विश्वकप खेलिरहेको इरानी टिमलाई पनि छाडेको छैन। समूह चरणको पहिलो खेलअघि इरानी खेलाडीले राष्ट्रिय गान नै गाएनन्। आन्दोलनकारीलाई समर्थन गर्न खेलाडीले यसो गरेको बताइन्छ। इरानी समर्थक अमिनीको नाम अंकित टिसर्ट लिएर रंगशालामा पुग्ने गरेका छन्। ती समर्थकले बोकेका टिसर्ट रंगशालाका सुरक्षा गार्डले खोस्ने प्रयास गर्छन्। इरानसँग विश्वकप आयोजक कतारको सम्बन्ध राम्रो भएकाले सुरक्षा गार्डको नजरमा इरानी समर्थक पर्ने गरेका हुन्।

उता अमेरिकी सरकारले प्रष्ट रुपमै इरानी आन्दोलनकारीलाई आफ्नो समर्थन रहेको बताएको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले नागरिक आन्दोलनमाथि बल प्रयोग नगर्न इरानलाई आव्हान गरेका छन्। अमेरिकी सरकार इरानी आन्दोलनबारे बारम्बार बोलिरहे पनि विश्वकप खेलिरहेको उसको टिमबाट भने केही धारणा बाहिर आएको थिएन।

तर यो मौनता शनिबार राति तोडिएको छ। अमेरिकी फुटबल संघले ‘इस्लामिक संकेत’ बिनाको इरानी झण्डा सामाजिक सञ्जालमा ‘पोस्ट’ गरेको छ। अमेरिकी खेलाडीले भने यसबारे आफूहरुलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन्। प्रशिक्षक बेरहेल्टरले भने माफी मागेका छन्।

इरानी राजनीतिमा अमेरिका र बेलायतले २० औँ शताब्दीमा हस्तक्षेप गरेका थिए। यी दुई देशकै सहयोगमा सन् १९५३ मा मोहम्मद मोसादेगको निर्वाचित सरकारलाई अपदस्थ गरिएको थियो। त्यसका लागि अमेरिका र बेलायत एक ठाउँमा उभिएका थिए। प्रधानमन्त्री रहेका मोसादेगले इरानको तेल उद्योगलाई राष्ट्रियकरण गर्ने निर्णय गरेपछि बेलायत आक्रोशित बनेको थियो। किनभने इरानका सबैजसो तेल खानीमा बेलायतको नियन्त्रणमा थियो। मोसादेगको निर्णयले बेलायतलाई घाटा हुने भएपछि उसले अमेरिकाको सहयोगमा इरानको निर्वाचित सरकार ढालिदियो।

मोसादेगलाई हटाएर राजा मोहम्मद रेजा पाहल्भीलाई बलियो बनाएका अमेरिका र बेलायत खाडीको राजनीतिमा साउदी अरबको कित्तामा उभिन थाले। सन् १९७८–७९ को इस्लामिक आन्दोलनले इरानमा राजनीतिक परिवर्तन ल्यायो। अब इरानको सत्ता धार्मिक नेताहरूको हातमा पुग्यो। त्यसपछि त इरान अमेरिका र बेलायतका लागि दुश्मनमा परिणत हुने नै भयो। इरानलाई तह लगाउन अमेरिकाले लामो समय इराकी राष्ट्रपति सद्दाम हुसेनलाई प्रयोग ग¥यो। वर्षौसम्म सद्दामलाई हतियार र आर्थिक सहयोग उपलब्ध गरायो। इरानसँगको युद्धमा अमेरिकाले इराकलाई सहयोग गरिरह्यो।

अमेरिकामा रिपब्लिकन वा डेमोक्र्याट, जुन पार्टीबाट राष्ट्रपति बने पनि इरान दुश्मनको सूचीबाट हटेन। बाराक ओबामाको पालामा अमेरिका र इरानबीच सम्बन्ध सुधारका प्रयास नभएको होइन। तर डोनाल्ट ट्रम्पले ती सबै प्रयासलाई खारेज गरिदिए। यति लामो समयदेखिको राजनीतिक तित्तताबारे अमेरिकी प्रशिक्षक बेरहाल्टेरलाइ जानकारी गराइएकै होला।

सन् १९९८ मा फ्रान्सेली सहर लियाेनमा भएको त्यो खेल इरानले २–१ ले जितेको थियो। त्यसबेला ‘मदर अफ अल गेम्स’ भनिएको त्यो खेलका लागि सुरक्षा व्यवस्था असाध्यै कडा बनाइएको थियो। कतिसम्म भने दुई टिमका खेलाडीलाई एकआपसमा हात मिलाउन समेत दिइएकाे थिएन। तर इरानीले खेलाडीले अमेरिकी टिमका सबैलाई फूल उपहार दिएर अभिवादन गरेका थिए।

त्यो खेल सौहार्दपूर्ण वातावरणमा सकियो। कुनै अकल्पनीय घटना घटेन। दुई वर्षपछि यी दुई टिमबीच मैत्रीपूर्ण खेल आयोजना गरियो। अमेरिकी भूमिमा भएको त्यो खेलपछि घरेलु टिमका खेलाडी जेफ एगुसले भनेका थिए, ‘राजनीतिज्ञले २० वर्षमा गर्न नसकेको काम हामी खेलाडीले ९० मिनेटमा गर्‍यौँ।’

बेरहाल्टेर विश्वकप १९९८ को खेल हेर्न रंगशाला पुगेका थिएनन्। किनभने उनलाई त्यतिबेला एक टेलिभिजनमा विश्लेषक बनाइएको थियो। मंगलबार उनले त्यो खेल सम्झिए। ‘त्यो खेल अहिलेसम्म बिर्सिएको छैन। इरान त्यो खेल जसरी भए पनि जित्न चाहन्थ्यो। उसले त्यसैगरी खेल्यो, जित्यो। हामी यसपालि त्यतिबेलाको इरानले जस्तै खेल्न चाहन्छौँ,’ बेरहाल्टेरले भने।

द गार्डियनबाट

प्रकाशित: १३ मंसिर २०७९ १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 19 =