साउदीमा विवेक दाहालको मृत्युदण्डपछि उदांगिएको नेपाली कूटनीति

डा. सुधीरकुमार झा २५ कार्तिक २०७९ ११:२५
2
SHARE
साउदीमा विवेक दाहालको मृत्युदण्डपछि उदांगिएको नेपाली कूटनीति

१५ वर्षदेखि जेलजीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई साउदी अरब सरकारले गत साता मृत्युदण्डको सजाय कार्यान्वयनमा ल्यायो। नेपाल सरकारले क्षमादानका लागि पटकपटक पहल गरेको भनिए पनि त्यसले सकारात्मक परिणाम ल्याउन सकेन। गम्भीर कुरा त नेपाल सरकारलाई जानकारी नदिईकन मृत्युदण्ड कार्यान्वयन गर्दा नेपालले त्यसको कूटनीतिक प्रतिवाद गर्न नसक्नु हो।

साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदीले मृत्युदण्डको दुई दिनपछि आफूले खबर पाएको समाचार पढ्दा मन कुँडियो। तर पनि नेपाल सरकारले त्यस विषयमा बोल्न सकेन। हाम्रो कूटनीतिक धरातल कति कमजोर छ भन्ने यही घटनाबाट पुष्टि हुन्छ।

दाहाललाई सन् २००७ को फेब्रुअरीमा आफ्नै साथी राजेन्द्र विष्टको हत्या गरेको अभियोगमा मृत्युदण्ड दिइएको हो। दाहालको आक्रमणबाट एक सुडानी नागरिक आँखामा गम्भीर चोट लागेर घाइते भएका थिए। अदालतबाट दोषी ठहर भएर मृत्युदण्डको सजाय तोकिएपछि दाहाल जेलमा रहँदै आएका थिए।

विष्टको परिवारले दाहाललाई ब्लडमनीबापत रकम दिएको भन्दै सन् २०११ मा नेपाली दूतावासले जुबेलको अदालतमा आममाफी दिन निवेदन दिएको थियो। उपचारपछि माफी नदिई स्वदेश फर्केका सुडानी नागरिक सम्पर्कविहीन भए। विष्ट परिवारबाट माफी भए पनि सुडानी नागरिक र अदालतबाट दाहाललाई माफी भएन। उनी जेलमा रहे। त्यसैले उनलाई झुन्ड्याएर मृत्युदण्ड दिइयो।

गल्ती गर्नेले सजाय पाउनुपर्छ। तर त्यसको जानकारी नेपाल सरकारलाई गराउन साउदीले आवश्यक ठानेन। सजायको दुई दिनपछि बल्ल जानकारी दियो। यो नेपाली कूटनीतिको कालो दाग हो। हुन त यसअघि पनि यस्ता घटना नभएका होइनन्।

हामी मित्रराष्ट्रमा भएका कुनै घटनाबारे हतार गरेर वक्तव्य जारी गर्छौँ। तर आफ्नो विषयमा निकै कमजोर रहेको अनुभूति कहिल्यै गर्दैनौँ। प्रतिक्रिया छिट्टै दिने र सतही कुरा गर्ने हाम्रो प्रवृत्ति छ। हुँदै नभएको विषयमा ठूला गफ दिने तर आफ्नै नागरिकको सुरक्षामा चुक्नु कूटनीतिक क्षेत्रमा संलग्नहरूको अक्षम्य कमजोरी हो।

दाहाललाई आममाफी दिन राष्ट्रपति तहबाटै अपिल गरिए पनि सुनुवाइ नहुनु भनेको साउदीसँग हाम्रो कूटनीति सम्बन्ध नभएसरह हो। यो घटनाले नेपालको कूटनीतिक प्रभाव शून्य देखिएको छ। यसमा राजनीतिक नियुक्ति लिएर गएका राजदूतलाई दोष दिने पनि छन्। वास्तविकता भने त्यस्तो होइन। यसबारे केही प्रश्न उठेका छन्, राजदूतमा राजनीति नियुक्ति भए पनि त्यसभन्दा तल्लो तहमा काम गर्ने त सबै परराष्ट्रका कर्मचारी होइनन्? अनि उनीहरू जिम्मेवार हुनु पर्दैन?

राजदूतले नेतृत्व गर्ने हो। हुन त राजनीतिक दलबाट नियुक्त भएर गएका राजदूतसरहको कूटनीतिक कौशल दूतावासका अधिकारीहरूसँग हुँदैन। तर पनि उनीहरू ‘करिअर’ कूटनीतिज्ञ हौँ भनेर घमण्ड गर्छन्। त्यही घमण्डको फलकै कारण हामी कूटनीतिक प्रभावको शून्यमा पुग्दै गरेका छौँ। परराष्ट्र मन्त्रालय बलियो बनाउनुपर्ने र थिंक ट्यांक प्रभावकारी बनाउनुपर्नेमा दूतावासको संख्या बढाएर विदेशमा डलर कमाउने ध्याउन्नमा लाग्दा समस्या आएको हो।

मन्त्रालयबाट खटिएका राजदूत योग्य तर राजनीतिक नियुक्ति पाएका राजदूतचाहिँ गलत भन्ने भाष्य परराष्ट्रका अधिकारीहरूले विगतदेखि बाहिर ल्याइरहेका छन्। सोही कारण परराष्ट्र मन्त्रालय यतिबेला नेपालकै निकम्मा मन्त्रालयको सूचीमा छ।

हाम्रै बराबर जनसंख्या भएको साउदी अरब अधिराज्य अरबी प्रायद्वीपको सबैभन्दा ठूलो मुलुक हो। साउदीले आफूलाई खाडीको किङ सम्झन्छ। साउदीको जोर्डन, इजिप्ट, इराक, कुवेत, बहराइन, कतार र संयुक्त अरब इमिरेट्ससँग मात्र होइन ओमन र यमनसँग पनि सीमा जोडिएको छ। यस देशमा पर्सियन अर्थात् अरबको खाडी र लाल सागर छ। यसलाई मरुभूमिको देश भनिन्छ। पेट्रोलियम पदार्थ र धार्मिक पर्यटन यो मुलकुको मुख्य आर्थिक स्रोत हुन्। नेपाल र साउदीबीच पुरानै सम्बन्ध छ। तर पनि यस्तो मुलुकसँग नेपाल चुपचाप रहनुपरेको छ। खाडीकै कारण इजरायलसँग पनि नेपाल समदूरीमा छ। यसैले नेपालको कूटनीतिलाई व्यवस्थित गरेर लैजान आवश्ययक छ।

कुनै पनि दूतावासको नेतृत्व राजदूतले गर्ने हो। चाहे परराष्ट्र मन्त्रालयबाट गएका हुन् वा बाहिरबाट नियुक्ति लिएका हुन्। उनीहरूको मातहतमा परराष्ट्रकै अधिकारी हुन्छन्। दूतावास हेर्ने महाशाखा हुन्छ। त्यहाँ परराष्ट्रका सहसचिव प्रमुख हुन्छन्। अनि त्यो दायित्व परराष्ट्र अधिकारीले लिनु पर्दैन? राजदूतले यसो र उसो गरे भनेर छुट पाइन्छ? मन्त्रालयबाट खटिएका राजदूत योग्य तर राजनीतिक नियुक्ति पाएका राजदूतचाहिँ गलत भन्ने भाष्य परराष्ट्रका अधिकारीहरूले विगतदेखि बाहिर ल्याइरहेका छन्। सोही कारण परराष्ट्र मन्त्रालय यतिबेला नेपालकै निकम्मा मन्त्रालयको सूचीमा छ।

परराष्ट्र सेवा निजामतीका अन्य सेवाभन्दा प्रतिष्ठित मानिन्छ। राजदूत हुन पाइने आसमा परराष्ट्र सेवामा जागिर सुरु गरेका युवा यतिबेला मन्त्रालयका उच्च अधिकारीहरूको कार्यशैली देखेर निराश छन्। नेपालको कुरा राम्ररी राख्न नसक्ने र लेखपढ पनि धेरै नभएका व्यक्तिहरू राजदूत भएर कार्यकाल सक्दैछन्। केही राजदूत हुन खोज्दैछन्। सायद आगामी निर्वाचनपछि बन्ने सरकारले निर्णय लेला। राजदूत हुने व्यक्ति परराष्ट्र सेवाबाट होस् या बाहिरबाट होस् कूटनीतिक मामिलामा काबिल हुनैपर्छ। भरत पौड्याल परराष्ट्र सचिव हुँदै गर्दा धेरैले आस गरेका थिए भने नारायण खड्का परराष्ट्रमन्त्री भएपछि आशा दोब्बर भएको थियो। यद्यपि अहिले आउँदा ती आशा पूरै निराशामा बदलिए।

छिमेकसँग सम्बन्धलाई स्थिरता दिन नसक्नु, उत्तरको सीमा खोलेर आउजाउ सहज बनाउन नसक्नु, भैरहवा विमानस्थललाई भारतीय चासो स्पष्ट पारेर प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन नसक्नु, सीमामा भारतीयका कारण नेपाली बालकको निधन हुँदा सरकारले कुनै पहल गर्न नसक्नु फितलो कूटनीतिको नमुना हो। स्थानीय पहलमा काम हुने तर कूटनीतिक पहलमा केही नहुदा हाम्रो संयन्त्रप्रति असर परेको छ।

विदेशमा बस्ने राजदूतको जिम्मेवारी पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रममा सहभागी हुने र गैरआवासीय नेपालीसँग मिलेर कुनै सुनसान पार्कका बारेमा होहल्ला गर्ने मात्रै होइन। उनीहरू कामदारसँग अन्तरक्रिया गरेर परराष्ट्रमा प्रतिवेदन पठाउनु पर्दैन? रोजगारदाता कम्पनीको भ्रमण गरेर आफ्ना निकटस्थलाई मात्रै कोटा देऊ भन्ने जिम्मेवारी हो उनीहरूको? अनि कतिपय अरब मुलुकका राजदूतहरू युरोप, अमेरिकातिर नेपाली नेताहरू जाँदा सकेसम्म आफ्नोमा ट्रान्जिट पारेर चाकडी गर्न व्यस्त हुने गरेका छन्।

युरोपको आकाशमा नेपाली जहाज बन्द छ। राजदूत रेस्टुरेन्ट उद्घाटन गरेर हिँडेका हुन्छन्। आकाश खुलाउन पहल गर्ने र सम्पर्कसूत्र बढाउने काममा राजदूतलाई फुर्सद हुँदैन। तीन पटक राजदूत भएका र राष्ट्रसंघको माथिल्लो ओहोदामा रहेका व्यक्ति पनि नेपालबारे आफ्नो धारणा स्पष्ट राख्न असफल देखिन्छन्। पुराना मुद्दा सल्टाउन सकेका छैनन्।

केही राजदूत सक्रिय पनि छन्। पाकिस्तानस्थित नेपाली राजदूत सक्रिय देख्छु। डीसी र न्यूयोर्कको राजदूतको काम गराई पनि राम्रो लाग्दैछ। भारतमा रहेका नेपाली राजदूत पनि सक्रिय देखिन्छन्। राजनीतिक नियुक्तिमा गएकाहरू प्रायः सबै सक्रिय नै हुन्छन्। करिअर राजदूतको दाँजोमा बाहिरबाट गएका बढी सक्रिय छन्। त्यसो त राजनीतिक नियुक्ति पाएका सबै राम्रा छन् भन्न खोजिएको होइन।

परराष्ट्रबाट गएका राजदूतहरू कूटनीतिमा दक्ष र निपुण हुनुपर्ने हो। तर, विवादमा परिन्छ भनेर काम नै नगरी बस्ने गरेका हुन्छन्। राजदूत सक्रिय पद हो भन्ने जान्दा जान्दै पनि आराम गर्ने अवसरका पाएकाे ठान्छन् परराष्ट्र अधिकारीहरू। परराष्ट्र सेवा करिअर कूटनीतिको शैलीमा अघि नबढेका कारण त्यसो हुन नसकेको हो। अधिकृतमा प्रवेश गरेको २४ वर्षे ठिटो ३० वर्ष नपुग्दै सहसचिव हुन पुगेको छ। त्यो दोष परराष्ट्रको होइन। हामीले प्रणाली नै त्यस्तो बनायौँ। खरिदारबाट प्रवेश गरेर मुख्य सचिव बनेका प्रशासक नेपालमा मात्रै होलान्। अन्यत्र नन ग्याजडेटहरू ग्याजडेट भएपछि बिदा हुन्छन्। परराष्ट्र सेवामा ब्याच प्रणाली भन्ने हुन्छ। तर हाम्रोमा त्यस्तो अभ्यास नै छैन।

विदेशमा नेपालका ३० दूतावास, ३ राष्ट्रसंघीय स्थायी नियोग र ७ महावाणिज्य दूतावास छन्। अधिकांशले कुनै घटनामा सामान्य विज्ञप्ति निकाल्ने बाहेक खासै हो यो दूतावासले यस्तो काम गरेको छ भनेर कैयन् वर्षदेखि पढ्न पाइएको छैन। हो, कूटनीति एउटा लामो अभ्यास हो। तर त्यो भन्दैमा केही न केही त नतिजा देखिनुपर्ने होइन र?

नेपाली दूतावास रहेको मुलकुको विदेश मन्त्रालय वा राजनीतिकस्तरमा गरेका छलफल, लगानीसम्बन्धी कार्य, आर्थिक कूटनीतिमा अवलम्बन गरिएका कार्य बाहिर आएको जानकारी नै छैन। दूतावास भनेको महाशाखाअन्तर्गत रहेर त्यहाँको निर्देशनमा काम गर्ने कूटनीति संयन्त्र हो। तर वरिष्ठहरू राजदूत भएर जान्छन्। महाशाखामा कनिष्ठ हुन्छन्। कनिष्ठले भनेको किन मान्ने भन्ने भ्रम र अहं उनीहरूमा हुन्छ।

यसबाट प्रस्ट हुन्छ जसले जहाँ जे गरे पनि हुने भन्ने शैलीमा कूटनीति चलेको छ। परराष्ट्रबाट न कमीकमजोरी औँल्याउने काम हुन्छ न त राम्रो गर्‍यौ भनेर प्रोत्साहन हुन्छ। त्यसैले कतिपय राजदूत आफैँ अन्योलमा परिरहेका हुन्छन्।

अर्को कुरा कुनै पनि मुलुकमा दूतावास खोलेपछि नियमित बिजनेस दिन सक्नुपर्छ। दूसावास खोल्दैमा कूटनीतिक सम्बन्ध राम्रो हुने पनि होइन। राष्ट्रसंघीय नियोगहरू न्यूयोर्क र जेनेभा, छिमेकी मुलुकद्वय भारत र चीन, अनि अमेरिका, बेलायत, बेल्जियम (युरोपेली संघ हेर्ने), जापान, दक्षिण कोरिया, इजिप्ट (अफ्रिकासमेत हेर्ने), मलेसिया, साउदी अरेबिया, कता युनाइटेड अरब इमिरेट्स र सार्क सदस्य मुलुकबाहेक अन्यत्र दूतावासको औचित्य छैन। तर हामी अझै दूतावास खोल्ने प्रयासमा छौँ।

राजदूतहरूमा कूटनीति अब्बल बनाउने ध्याउन्न रहेको पाइँदैन। परराष्ट्रका अधिकारीहरू पनि आफन्त भेट्न र कुनै नेपालीको कार्यक्रममा सहभागी बन्न मात्र विदेश जाने गरेका छन्। उपस्थितिका लागि दूतावास खोल्ने चलन छ। कैयन् दूतावासमा राजदूत कामै नपाएर दिन कटाउनुपर्ने अवस्थामा छ। कूटनीतिक क्षेत्र सबल र समय सुहाउँदो बनाउने हो यस्ता विषयमा ध्यान दिनैपर्छ। अब पनि पुरानै शैलीको कूटनीतिमा रम्ने होइन, स्मार्ट कूटनीतिमा हामी जानै पर्छ।

(झाले टिम लिडरसिपमा काठमाडौँ विश्वविद्यालयबाट विद्यावारिधि उपाधि लिएका छन्।)

प्रकाशित: २५ कार्तिक २०७९ ११:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 11 =