प्रत्यक्षमा ८ महिला निर्वाचित, नयाँ दलबाटै ३ जना

सुस्मिता बजगाईं १३ मंसिर २०७९ १२:५८
78
SHARES
प्रत्यक्षमा ८ महिला निर्वाचित, नयाँ दलबाटै ३ जना

काठमाडौँ- मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकोे मतगणना अन्तिम चरणमा पुगेको छ। हालसम्म प्रतिनिधिसभातर्फ १५९ र प्रदेशसभातर्फ ३१५ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। यो मतपरिणाम हेर्दा हालसम्म निर्वाचित महिलाको संख्या भने न्यून छ।

प्रतिनिधिसभातर्फ ८ क्षेत्रमा मात्र महिला उम्मेदवार निर्वाचित भएका छन्। प्रदेशसभातर्फ १५ क्षेत्रमा महिलाले जितेका छन्।

प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट ल्याएको छ, जसमा दुई महिलाले जित हात पारेका छन्। काठमाडौँ २ मा सोबिता गौतम र ललितपुर ३ बाट डा. तोसिमा कार्की निर्वाचित भइन्।

यस्तै नेपाली कांग्रेसले ५३ सिट जितेको छ, जसमध्ये एकजना महिला मात्र निर्वाचित भएकी छन्। तेह्रथुम क्षेत्र नम्बर १ बाट सीता गुरुङ निर्वाचित भएकी हुन्।

अहिलेसम्म सबैभन्दा धेरै एमालेबाट तीन जना महिलाले जितेका छन्। ती हुन् जुलिकुमारी महतो, विद्या भट्टराई र ज्वालाकुमारी साह। एमालेले अहिलेसम्म ४२ सिट जितेको छ।  सुनसरी ३ मा एमालेकी भगवती चोधरीले अग्रता लिइरहेकी छन्।

माओवादीले हालसम्म १७ सिट जितेको छ। निर्वाचित हुनेमध्ये एक जना महिला मात्रै छिन्। दाङ क्षेत्र नम्बर २ बाट रेखा शर्मा विजयी भएकी हुन्।

नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ। पार्टीकी अध्यक्ष रञ्जिता चौधरी विजयी भएकी छन्।

सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी उम्मेदवारी भगवती चौधरीले अग्रता लिएकी छन्। उनी नेपाली कांग्रेसका विजयकुमार गच्छदारभन्दा ६ हजार मतले अगाडि छिन्। अहिलेसम्म चौधरीको ३६ हजार ९३६ मत ल्याएकी छन् भने गच्छदारले ३० हजार ६०१ मत ल्याएका छन्। मतान्तर हेर्दा चौधरीले जित्ने सम्भावना प्रवल छ।

हालसम्मको मतपरिणाम हेर्ने हो भने महिलाको संख्या ज्यादै न्यून हो। प्रमुख दलले नै महिलालाई समानुपातिकतर्फ टिकट दिने भन्दै प्रत्यक्षतर्फ टिकट दिन आनाकानी गरेपछि महिला उम्मेदवार धेरै ठाउँमा उठ्न पाएनन्। उठेका पनि कतिपयले जित हासिल गर्न सकेनन्।

प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १२ जना महिलालाई उम्मेदवार बनाएको थियो। एमालेले ११, माओवादीले ८, जसपाले ७, कांग्रेसले ५, नेकपा एस र जनमोर्चाले एक/एक जना महिलालाई उम्मेदवार बनाएका थिए।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रतिनिधिसभा सदस्यका लागि १६५ सिटमा राजनीतिक दल र स्वतन्त्र गरी कुल २ हजार ४१२ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये महिला २२५ थिए।

यस्तै प्रदेशसभातर्फ ३३० सिटका लागि कुल ३ हजार २२४ जनाले उम्मेदवारी दिएकोमा २८० जना महिला चुनावी मैदानमा उत्रिएको आयोगको विवरणमा उल्लेख छ।

राजनीतिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ५०५ जना महिलाको उम्मेदवारी परेको थियो।

कसले कहाँ जिते?

प्रतिनिधिसभातर्फ

सोबिता गौतम

प्रतिनिधिसभातर्फ काठमाडौँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम १५ हजार २२९ मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५५५ मत ल्याए।

 तोसिमा कार्की

ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ३१ हजार १३६ मत ल्याएर विजयी भइन्। कार्कीका प्रतिद्वन्द्वी एमालेका अमृत खड्काले १२ हजार १६३ मत ल्याए।

 जुलिकुमारी महतो (महासेठ)

धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेकी नेत्री जुलीकुमारी महतो निर्वाचित भएकी छन्। महतोले ३३ हजार ३५५ मत प्राप्त गरेकी छन्। उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाले २३ हजार ६८६ मत ल्याएर पराजित भए।

 विद्या भट्टराई

कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन्। निर्वाचन आयोगका अनुसार भट्टराईले १६ हजार ९९८ मत पाएर विजयी भएकी हु्न। उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले १२ हजार ४९५ मत पाएका छन्।

 ज्वालाकुमारी साह

बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी ज्वालाकुमारी साह निर्वाचित भएकी छन्। एमाले पोलिटब्युरो सदस्यसमेत रहेकी साहले २० हजार २५१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका तर्फबाट रामबाबुकुमार यादवले १७ हजार २६९ मत प्राप्त गरेका छन्।

 रञ्जिता श्रेष्ठ

कैलाली क्षेत्र नं १ को प्रतिनिधिमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट रञ्जिता श्रेष्ठ चौधरी विजयी भएकी छन्। उनले ३० हजार ४०४ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत ल्याए।

 सीता गुरुङ

तेह्रथुम क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसको तर्फबाट सीता गुरुङ निर्वाचित भएकी छन्। उनले १९ हजार ७०७ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुब्बाले १८ हजार ६२३ पाए।

 रेखा शर्मा

दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले २६ हजार ८८० मत ल्याएर विजयी भएकी छन। उनले नेकपा एमालेका शंकर पोखरेललाई हराएकी हुन्। पोखरेलले २६ हजार ६८१ मत ल्याएका छन्।

 प्रदेशसभातर्फ

महोत्तरी–३ (ख) रानीकुमारी तिवारी

महोत्तरी क्षेत्र नं ३ को ख मा लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट रानीकुमारी तिवारी निर्वाचित भएकी छन्। उनले ६ हजार ४१४ मत ल्याएर प्रदेशसभातर्फ विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार उज्ज्वलकुमार झाले ५ हजार ४८९ मत ल्याए।

 महोत्तरी–१ (क) शारदादेवी थापा

महोत्तरी १ (क) मा नेकपा एकालेका तर्फबाट शारदादेवी थापा विजयी भएकी छन्। थापाले ८ हजार ३०४ मत ल्याएर निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका पिताम्बर महतोले ७ हजार ५८५ मत प्राप्त गरे।

 स्याङजा–१ (क) सीताकुमारी सुन्दास

स्याङ्जा १ (क) मा नेकपा एमालेका उम्मेदवार सीताकुमारी सुन्दास निर्वाचित भएकी छन्। उनले १४ हजार ६९० मत ल्याएर निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार अमृत थापाले १३ हजार २६६ मत प्राप्त गरे।

 महोत्तरी–२ (ख) सुरिताकुमारी साह

महोत्तरी २ (ख) मा स्वतन्त्र उम्मेदवार सुरिताकुमारी साह विजयी भएकी छन्। उनले ८ हजार ५६८ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नागेश्वर यादवले ६ हजार २०२ मत पाए।

 झापा–१ (ख) सबिना बजगाईं

झापा १ (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सबिना बजगार्इंले १३ हजार ६१२ मतले निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार श्यामवीर लिम्बुले १२ हजार २२५ मत ल्याए।

सर्लाही–१ (ख) वेची लुङ्गेली

सर्लाही १ (ख) मा नेकपा (एस)की वेची लुङेली निर्वाचित भएकी छन्। उनले १३ हजार ६७७ मत ल्याएर निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शान्तिकुमारी लामाले ६ हजार ९१३ मत प्राप्त गरे।

काठमाडौँ–१० (ख) रमा आले मगर

काठमाडौँ १० (ख)मा नेकपा एसकी रमा आले मगरले ५ हजार ८१८ मत ल्याएर निर्वााित भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामशरण आले मगरले ५ हजार १८८ मत ल्याए।

 इलाम–१ (क) खिनु लङवा (लिम्बु)

इलाम १ (क) मा नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट खिनु लङवा (लिम्बु) निर्वाचित भएकी छन्। उनले १३ हजार ३७१ मत ल्याएर निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार शोभा पराजुलीले ११ हजार ३९५ मत प्राप्त गरिन्।

 नुवाकोट–१ (क) राधिका तामाङ

नुवाकोट १ (क)मा नेकपा माओवादीको तर्फबाट राधिका तामाङ निर्वाचित भएकी छन्। उनले १६ हजार १६९ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सुशीलकुमार खड्काले ११ हजार ३५० मत ल्याए।

 मकवानपुर–२ (ख) कुमारी मुक्तान

मकवानपुर २ (ख) बाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार कुमारी मुक्तान विजयी भएकी छन्। उनले नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद ढकाललाई पराजित गरेकी छन्। मुक्तानले १९ हजार ९०६ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी ढकालले १९ हजार ५५१ मत ल्याए।

 बाँके–१ (क) कृष्णा केसी

बाँके १ (क) मा माओवादी केन्द्रकी कृष्णा केसी विजय भएकी छन्। उनले ९ हजार १०३ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीले ७ हजार ९६६ मत प्राप्त गरे।

सिन्धुपाल्चोक–१ (क) मसिना खड्का भण्डारी

सिन्धुपाल्चोकको १ (क) मा नेपाली कांग्रेसको उम्मेदवार मसिना खड्का (भण्डारी) विजयी भएकी छन्। खड्काले १४ हजार ६६७ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार युद्धविक्रम तामाङले १३ हजार ४९० मत ल्याए।

काठमाडौँ–६ (क) हरिप्रभा खड्की

काठमाडौँ ६ (क) मा कांग्रेसकी हरिप्रभा खड्गी विजयी भएकी छन्। खड्गीले ४ हजार ३६१ हजार मत ल्याएर एमालेका निरेशलाल सिंह महर्जनलाई पछि पारेकी हुन्। महर्जनले ३ हजार ९३६ मत ल्याई पराजित भए।

नवलपरासी पूर्व–२ (क) पदमा जिसी श्रेष्ठ

नवलपरासी पूर्वको क्षेत्र नं २ क मा नेपाली कांग्रेसकी पदमा जिसी श्रेष्ठले १९ हजार ३७८ ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सौगमकुमार सिरपालीले १४ हजार ७४३ मत ल्याएका छन्।

प्रकाशित: १३ मंसिर २०७९ १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =