छाडेको पार्टीको ‘लौरो’ टेकेर सांसद बनेका अशोक राई

हिमाल प्रेस १३ मंसिर २०७९ ९:३९
20
SHARES
छाडेको पार्टीको ‘लौरो’ टेकेर सांसद बनेका अशोक राई

काठमाडौँ- २०६९ सालमा तत्कालीन एमाले उपाध्यक्ष अशोक राईले अनेक आरोप लगाउँदै पार्टी छाडे। मुख्यतः संघीयताका बारेमा उनको विमति थियो।

एकल पहिचानका आधारमा राज्य पुनर्संरचना हुनुपर्ने उनको मागलाई तत्कालीन नेतृत्वले चासै दिएन। पार्टी नेतृत्वसँग मुर्मुरिएका उनले जनजाति र मधेश केन्द्रित नेता समेटेर संघीय समाजवादी पार्टी गठन गरे। तर, नयाँ पार्टीले राजनीतिक उपलब्धि भने केही हासिल गर्न सकेन।

बरु नेकपा एमाले दोस्रो संविधानको निर्वाचनमा दोस्रो भएर उदायो। त्यही बेला अशोकलाई उनकै पार्टीका नेताले धोका दिए। कोही एमालेमा फर्किए भने कोही माओवादीमा गए।

उनलाई पनि लाग्यो अब आफ्नो नेतृत्वमा पार्टी अघि बढ्दैन। त्यही देखेर उनी उपेन्द्र यादवको मधेशी जनअधिकार फोरमसँग मिसिए। तर पनि उनले निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन सकेनन् । त्यसयताका सबै चुनाव अशोकले हारे।

उनले जितेको चुनावको इतिहास हेर्न २०५१ सालमा पुग्नुपर्छ। त्यसबेला उनी खोटाङबाट जितेका थिए। पछि उदयपुर झरेर चुनाव लडे तर जितेनन्।

अशोकले २०५६ मा उदयपुर, २०६४ मा सुनसरी–१ बाट चुनाव लडे। तर, जित निकाल्न सकेनन्। २०७० को चुनावमा भने उनले एमाले छाडिसकेका थिए।

संघीय समाजवादी पार्टीबाट प्रत्यक्ष चुनाव नजितिने देखेपछि उनी समानुपातिकमा बसे र सभासद् बने। त्यसपछि २०७४ को प्रतिनिधिसभामा कांग्रेसको समर्थनमा चुनाव लडे। तर, विजयी बन्न सकेनन्।

यसपटक पनि उनी सुनसरी १ बाट चुनाव लडे। तर, यसपालि उनलाई एमालेको साथ थियो। एमाले त्यही पार्टी हो, जुन उनले २०६९ मै अनेक आरोप लगाउँदै छाडेका थिए। अहिले त्यही पार्टीको ‘लौरो’ टेकेर उनी सांसद चुनिए।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई ४५३ मतले पछि पार्दै निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत पाए। सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत पाए।

‘नथाक्ने योद्धा’

अशोकलाई उनका शुभेच्छुकहरू ‘नथाक्ने योद्धा’ र ‘एजेन्डा केन्द्रित नेता’ भनेर सम्झिन्छन्। उनलाई हेर्दा यस्तै लाग्छ, उनी पराजित भए पनि चुनावमा भिड्न छाड्दैनन्। सानो पार्टीमा हुँदा होस् वा ठूलो, हारसँग उनी डराउँदैनन्। संघीयतासम्बन्धी एजेन्डाबाट उनी टसमस भएका छैनन्। आफू कमजोर हुँदा पनि उनले एजेन्डाका लागि कहिल्यै सौदाबाजी नगरेको एमालेकै नेता कार्यकर्ताहरू बताउँछन्।

‘उहाँ एजेन्डामा दृढ राजनीतिज्ञ हो। आफ्ना एजेन्डा प्रष्ट राख्न सक्नु हुन्छ,’ एमाले नेता हेमराज राई भन्छन्, ‘सालिन नेता हो। सैद्धान्तिक राजनीतिमा अब्बल हुनुहुन्छ, अशोक दाइ।’ एजेन्डाकै लागि उनले एमाले छाडेका थिए, जतिबेला उनी भारी मतले उपाध्यक्षमा चुनिएका थिए।

उपाध्यक्ष जितेका अन्य दुई नेताहरू वामदेव गौतम र विद्या भण्डारीले समान ८६५ मत ल्याउँदा अशोकले ११ सय ९९ मत ल्याएका थिए। तर उनले सो कार्यकाल पूरा गर्न सकेनन्। यसपल्ट भने अशोकका लागि ‘भाग्य’ खुलेझैँ भयो।

बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा)मा रहँदा संघीय परिषद् अध्यक्ष थिए। उनले पार्टी छाड्दा सोही पदमा अशोक उक्लिए। उपेन्द्रसँग एकता गरेर उनी अध्यक्ष बनेका थिएनन्।

यता संसदीय राजनीतिमा पनि अशोकले पासा पल्टाए। एमालेको साथमा उनी उम्मेदवार बने। तर चुनाव जित्न सहज भने थिएन। एमालेभित्रकै असन्तुष्टि सतहमा देखिएको थियो। एमाले नेता मनोज मेन्याङ्बोले बागी उम्मेदवारी दिए।

धेरैलाई यसपटक पनि अशोकले हार्छन् भन्ने लागेको थियो। त्यसमाथि त्यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले टक्कर दिइन्। मत गणना हुञ्जेल पनि गोमा र अशोकको टक्कर परिरह्यो। अन्ततः अशोकले बाजी मारे।

अशोक २०५१ सालपछि पहिलो पटक जनताबाट चुनिएका छन्। ‘म यही भेगको मान्छे हुँ। म यही क्षेत्रको विकासमा खटिन्छु,’ जितपछि अशोकले भने, ‘धरानमा खानेपानी अभाव छ। त्यो परिपूर्ति गर्न लाग्ने छु।’

प्रकाशित: १३ मंसिर २०७९ ९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =