इतिहासमा चुनाव : १५

अन्तर्राष्ट्रिय छापामा छाएका पहिलो संसदका दुई महिला

सन्तोष खडेरी २८ कार्तिक २०७९ ११:१२
अन्तर्राष्ट्रिय छापामा छाएका पहिलो संसदका दुई महिला

२०१५ सालमा सम्पन्न पहिलो आमनिर्वाचनमा प्रतिनिधिसभातर्फ एकजना महिला द्वारिकाचन्द ठकुरानीले डडेल्धुराबाट निर्वाचनमा जित हासिल गरेकी थिइन्। त्यस्तै माथिल्लो सभा महासभामा राजाले १८ जना सदस्य मनोनीत गर्दा त्यसमा एकजना महिला कमल राणा परेकी थिइन्। यसरी मुलुकको पहिलो संसदको दुवै सदनमा एकएक जना महिलाको प्रतिनिधित्व भएको थियो।

निर्वाचित भएर प्रतिनिधिसभामा पुगेकी द्वारिका र मनोनीत भएर महासभामा पुगेकी कमल दुवैले अर्को एउटा एउटा महत्त्वपूर्ण जिम्मेवारीसमेत पाएका थिए।

प्रतिनिधिसभा सदस्य ठकुरानीले २०१६ साल जेठ १३ गतेका दिन नेपाली कांग्रेस पार्टीका अध्यक्ष बिपी कोइरालाको नेतृत्वमा गठन भएको मन्त्रिमण्डलमा उपमन्त्रीका रुपमा शपथ लिएकी थिइन्। प्रधानमन्त्रीसहित ८ मन्त्री र ११ जना उपमन्त्री गरी १९ सदस्यीय मन्त्रिमण्डलमा कार्यविभाजन हुँदा उनलाई स्थानीय र स्वायत्त शासन मन्त्रालयको जिम्मेवारी मिलेको थियो। नेपालमा पहिलो जननिर्वाचित सरकारको गठन हुँदा त्यसप्रति अन्तर्राष्ट्रिय जगतको चासो थियो। निर्वाचनको समयदेखि नै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले निर्वाचनसम्बन्धी खबरहरु सम्प्रेषण गरिरहेका थिए। निर्वाचनमा दुईतिहाई बहुमत प्राप्त नेपाली कांग्रेसको नेतृत्वमा पहिलो जननिर्वाचित सरकार गठन हुँदा पनि विदेशी सञ्चारमाध्यले समाचार सम्प्रेषण गरेका थिए।

बेलायतको लन्डनबाट प्रकाशित हुने एउटा अखबारले ‘महिला पनि सरकारमा सामेल (वुमन जोइन्स गभर्नमेन्ट) शीर्षकमा खबर सम्प्रेषण गरेको थियो। डेली टेलिग्राफ एन्ड मर्निङ पोस्टको २१- मे – १९५९ बिहीबारको अंकमा प्रकाशित उक्त समाचारमा उल्लेख थियो – पहिलोपटक नेपालमा महिला मन्त्री र उनी हुन् श्रीमती द्वारिका चन्द। प्रथम निर्वाचनबाट संसदमा फर्किएकी एकमात्र महिला उनी ११ जना उपमन्त्रीहरुमध्ये एक हुन्। (डेली टेलिग्राफ एन्ड मर्निङ पोस्टको २१- मे – १९५९, लन्डन)

द्वारिकाचन्द ठकुरानीको जन्म १९७४ मंसिर १४ गते पिता वामदेव पन्त र माता राधादेवी पन्तको कोखबाट डोटी जिल्लाको सिलगढीमा भएको थियो। उनी सानै छँदा उनको पिताको निधन भएको थियो। उनको बाल्यकाल सिलगढीमा नै बितेको थियो। १७ वर्षको उमेरमा उनको विवाह डडेल्धुरा तल्लो सोराड प्रगन्नाका उद्धवबहादुर चन्दसँग भएको थियो। उद्धवसँगको उनको अन्तरजातीय विवाह थियो। त्यसो त उनको माता र पिताको समेत अन्तरजातीय विवाह भएको थियो। बिहेपछि उनीहरुको बसाइ काठमाडौँमा हुँदा २००७ सालअगाडि नै उनीहरू नेपाली कांग्रेससँग जोडिएका थिए। १७ वर्षको उमेरमा विवाह भएकी द्वारिकाको श्रीमानसँगको साथ अर्को १७-१८ वर्षसम्म मात्र रह्यो। २०१० साल कात्तिक १० गते पति उद्धवबहादुर चन्दको निधन भयो। द्वारिकाको कोखबाट केही महिनापछि जन्मिएका छोरोको पनि चाँडै निधन भएको थियो। एकैपटक पतिवियोग र पुत्रवियोग परे  पनि उनले हार मानिनन् र संघर्ष गर्दै अगाडि बढिन्। द्वारिका दम्पतीले डडेल्धुरा जिल्लामा शिक्षाको महत्त्व बुझेर त्यसमा केही गर्ने अठोटका साथ मणिलेख हाइस्कुलको स्थापना गरेका थिए। पति जीवित छँदा सामाजिक गतिविधिमा संलग्न उनी पतिको निधनपछि उक्त स्कुलका लागि चन्दा संकलन गर्न २०१३ सालमा उनी बम्बईसमेत पुगेकी थिइन्। (स्वास्नीमान्छे त्रैमसिक वर्ष-०२, अंक-०१, २०१६)

नेपाली कांग्रेस पार्टीमा उनको संलग्नता त धेरै पहिलेदेखि  थियो। उनले राजनीति र सामाजिक गतिविधि पनि सँगसँगै अगाडि बढाइरहेकी थिइन्। मुलुकमा पहिलोपटक सम्पन्न हुन लागेको पहिलो आमनिर्वाचनमा एकल महिला उम्मेदवारका रुपमा नेपाली कांग्रेसबाट क्षेत्र नम्बर ६६ डडेल्धुराबाट उनले उम्मेदवारी दिएकी थिइन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी संयुक्त प्रजा पार्टी (पूर्वप्रधानमन्त्री डा. केआई सिंहको पार्टी) का उम्मेदवार लक्ष्मीदत्त भट्टलाई २०६४ मतको फराकिलो मतान्तरले पराजित गरेकी थिइन्। खसेको ८,१४४ मतमध्ये द्वारिकादेवीले ३,९०३ मत प्राप्त गरेकी थिइन्। यसरी उनले नेपालको पहिलो निर्वाचित महिला सांसद र पहिलो महिला मन्त्री भएर इतिहास रचेकी थिइन्। (द्वारिकादेवीको समग्र व्यक्तिगत एवं राजनीतिक जीवनबारे लेखक एवं अध्येता रतन भण्डारीको द्वारिकादेवी ठकुरानी : नेपालकी पहिलो महिला मन्त्री शोधमूलक कृति छिट्टै बजारमा आउँदैछ।)

माथिल्लो सभा महासभा सदस्यमा मनोनीत एकल महिला सदस्य कमल राणाले पनि महासभाको उपाध्यक्ष जस्तो महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गरेकी थिइन्। ३६ सदस्यीय माथिल्लो सभा १८ जना प्रतिनिधिसभाबाट निर्वाचित हुने र १८ जना राजाले मनोनयन गर्ने व्यवस्था थियो।

२०१६ साल असार २९ मा राजाले १८ जना सदस्य मनोनयन गर्दा त्यसमा एकजना महिना कमल राणा पनि परेकी थिइन्। महासभाको पहिलो बैठक सोही साउन ४ गते बसेको थियो। साउन ५ गतेको दोस्राे बैठकमा राजाले मनोनीत गरेका संयुक्त प्रजातान्त्रिक पार्टीबाट मन्त्री भइसकेका महासभा सदस्य डम्बरबहादुर सिंह अध्यक्ष चुनिएका थिए।

साउन ६ गते महासभाको उपाध्यक्षका लागि निर्वाचन भएको थियो। महासभा सदस्य दिलबहादुर श्रेष्ठले सदस्य कमल राणालाई सभाको उपाध्यक्ष चुनियोस् भनी प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्तावलाई अर्का सदस्य मणिहर्षले समर्थन गरेका थिए। त्यसै गरी बोधप्रसाद उपाध्यायले दिलीपकुमार शाहीलाई उपाध्यक्ष चुनियोस् भनी गरेको प्रस्तावलाई बृजनन्दन बर्माले समर्थन गरेका थिए। यसरी महासभाको उपाध्यक्ष पदका लागि कमल राणा र दिलबहादुर शाहीका बीचमा प्रतिस्पर्धा भएको थियो।

दुवैले बराबर १७-१७ मत पाएपछि महासभा अध्यक्ष दिलबहादुर श्रेष्ठले निर्णायक मत कमल राणालाई प्रदान गरे। अनि उनी उपाध्यक्ष चुनिएकी थिइन्। (संसदीय विवरण पुस्तिका, प्रतिनिधिसभा/महासभा २०१६-१६, संघीय संसद सचिवालय-२०७७)

माथिल्लो सदन महासभाको सदस्यमा एकमात्र महिलाका रुपमा मनोनीत राणा महासभा उपाध्यक्षमा निर्वाचित भएपछि त्यो खबरलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समेत महत्त्वका साथ सम्प्रेषण गरेका थिए। बेलायतको बर्मिंघमबाट प्रकाशित हुने ‘दी बर्मिंघम मेल’ को २२ जुलाई १९५९ को अंकमा कमल राणा महासभा उपाध्यक्षमा निर्वाचित भएको खबर छापिएको थियो। जसमा उल्लेख थियो- नेपालको माथिल्लो सदनले नेपाल सरकारमा एक मात्र महिला महासभा सदस्य श्रीमती कमल राणालाई उपाध्यक्षमा निर्वाचित गरेको छ। (दी बर्मिंघम मेल २२ जुलाई १९५९)

कमल राणा अहिलेको स्याङ्जा जिल्लामा पर्ने भीरकोटका राजा तारकबहादुर शाह र रानी मदनदिव्येश्वरी शाहको दोस्रो सन्तानका रुपमा १९८५ सालमा पाल्पाको तानसेनमा जन्मिएकी थिइन्। उनी लेखक, प्राध्यापक, कूटनीतिज्ञ, राजनीतिज्ञ एवं मानवअधिकारकर्मी स्व. हृषीकेश शाहकी बहिनी हुन्। उनको विवाह राणा प्रधानमन्त्री जुद्धशमशेरका छोरा मीनशमशेरसँग भएको थियो। उनी टेबल टेनिसकी राष्ट्रिय खेलाडीसमेत थिइन्। ०१६ साल वैशाखमा उनी अन्तर्राष्ट्रिय खेल खेल्न चीन पुगेकी थिइन्। यसरी उनी अन्तर्राष्ट्रिय खेल खेल्ने नेपालको पहिलो महिला समेत हुन्। उनले दार्जिलिङमा पढेकी थिइन्। अहिले ९४ जीवनको ९४ औँ वसन्तमा हिँडिरहेकी राणा विशालनगरमा बस्छिन्।

इतिहासमा निर्वाचन : १४ पहिलो चुनावमा महिलाका मुद्दा र प्रतिनिधित्व

प्रकाशित: २८ कार्तिक २०७९ ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast