इतिहासमा निर्वाचन : १३

पहिलो निर्वाचनमा यस्ता थिए प्रहरीको जिम्मेवारी

हिमाल प्रेस २५ कार्तिक २०७९ ११:०२
पहिलो निर्वाचनमा यस्ता थिए प्रहरीको जिम्मेवारी चिफ इलेक्सन कमिसनर कर्नेल सुवर्णशमशेर जबरा

आगामी २०१५ साल फागुन ७ गते नेपालमा पहिलो आमनिर्वाचन सुरु हुने भएको छ। यो निर्वाचनको धेरै महत्त्व छ। यो निर्वाचनद्वारा हाम्रो देशमा प्रजातान्त्रिक शासनको जग बस्नेछ। त्यसकारण आगामी आमनिर्वाचनलाई सफल तुल्याउनु सबैको कर्तव्य हो। निर्वाचनको समयमा ठाउँठाउँमा गोलमाल र हुलदंगा हुन नदिई शान्तिपूर्ण तरिकाले निर्वाचन सुसम्पन्न गर्ने काममा पुलिस अफिसर जवानहरू विशेष जवाफदेही हुनेछन्।

देशमा व्यवस्थित ढंगबाट स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने अभिभारा निर्वाचन आयोगको हो। यो काममा निर्वाचन आयोगलाई सरकारी कर्मचारीको सहयोग र सहायताको आवश्यकता पर्छ। खास गरी निर्वाचन अवधिमा शान्तिपूर्ण व्यवस्था कायम राख्न, पुलिसको सहयोग र सहायता महत्त्वपूर्ण हुनेछ।

निर्वाचनको समयमा विभिन्न जिल्लामा विभिन्न निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक पार्टी तथा उम्मेदवार निर्वाचनमा विजयी हुन र आफ्नो प्रतिद्वन्द्वीलाई हराउन नानाथरी प्रचार गर्ने गर्छन्।

आआफ्नो दृष्टिकोण र सिद्धान्त जनतासामु आफ्नो ढंगले पेस गर्ने कोसिस गर्नेछन्। अनेक किसिमका वचन दिँदै आफ्नो क्षेत्रका जनतालाई प्रभावित गर्ने प्रयत्न गर्नेछन्।

आफ्नो प्रतिद्वन्द्वीविरुद्ध अनेकन प्रचार गर्न सक्दछन्। यस्तो अवस्थामा विभिन्न व्यक्ति र राजनीतिक पार्टीका कार्यकर्ताबीच रहेको मनभेदले उग्र रूप लिने सम्भावना रहन्छ। यस्तो परिस्थितिमा पुलिसको कर्तव्य निकै नाजुक किसिमको हुनेछ।

उम्मेदवार तथा विभिन्न राजनीतिक पार्टीबाट गरिने प्रचारबाट कुनै किसिमले पनि प्रभावित नभई धैर्य धारण गरी, आइपरेको परिस्थितिको सामना गर्नुपर्नेछ। निर्वाचनको काममा निष्पक्ष र स्वतन्त्र तरिकाले आफ्नो कर्तव्यपालन गर्नुपर्नेछ।

पुलिसले पनि निष्पक्ष र स्वतन्त्र रूपले निर्वाचनमा आफ्नो कर्तव्य पूरा गर्छ भन्ने विश्वास पनि सम्बन्धित सबै व्यक्ति तथा जनतामा हुनुपर्छ। त्यसकारण पुलिसले सतर्कतासाथ आफ्नो कर्तव्यपालन गर्नुपर्छ।

मतदानको समयमा एक–एक निर्वाचन क्षेत्रमा कैयौँ स्थानमा मतदान केन्द्र स्थापित गरिनेछ। हरेक मतदान केन्द्रमा हजारौँ मतदाता आफ्नो मत दिन आउनेछन्। त्यस स्थान वरिपरि पनि निर्वाचन लड्ने उम्मेदवार तथा राजनीतिक पार्टीका हजारौँ समर्थक र कार्यकर्ता जम्मा हुन सक्छन्। अनेक किसिमबाट प्रचार सुरु हुन सक्छ। विभिन्न किसिमका नारा लगाउने छन्।

निर्वाचनसम्बन्धी अपराध विभिन्न व्यक्तिबाट हुन सक्छ। यस्तो परिस्थितिमा पनि पुलिसले दक्षता, इमानदारी र निष्पक्षताका साथ काम गर्नुपर्छ। हरेक मत लिने स्थानमा करिब चार जवान पुलिसको मद्दतको आवश्यकता हुनेछ। ठाउँठाउँमा सम्भावित गोलमाल हुलदंगालाई काबुमा राख्न मुख्यमुख्य स्थानमा यथा समयमा पुलिसको बन्दोबस्त गर्नु छ। यस सम्बन्धमा पुलिस अधिकारीबाट अहिलेदेखि नै विचार भई आवश्यक प्रबन्धको लागि प्रयत्न भइरहनु अत्यन्त जरुरी छ।

निर्वाचन अवधिमा सारा जनताको ध्यान निर्वाचनतिर मात्रै केन्द्रित हुने र धेरैजसो मानिस निर्वाचनसम्बन्धी विभिन्न काममा नै लागिरहने हुनाले, यो मौका छोपी, समाज विद्रोही तत्व निकै सक्रिय हुने डर पनि रहन्छ। यी तत्वले कुनै किसिमको प्रोत्साहन पाउन नसकून र यस्ता व्यक्तिबाट कुनै किसिमको अपराध भएमा त्यसको दमन तुरुन्तै हुन सकोस् भन्ने प्रबन्धबारे पनि पुलिस अधिकारीबाट उचित बन्दोबस्त हुनुपर्छ।

पुलिस कर्मचारीले निर्वाचनको समयमा पालन गर्नुपर्ने केही कर्तव्य माथि उल्लेख गरिएका छन्। निर्वाचनमा पुलिसबाट यी कर्तव्यको पूरा पालना हुनेछ भन्ने कुराको भरोसा निर्वाचन आयोगले लिएको छ।

पुलिस कर्मचारीको सहयोग र सहायताबाट हाम्रो देशको पहिलो आमनिर्वाचन शान्तिपूर्ण स्वच्छ वातावरणमा निष्पक्ष र स्वतन्त्र रूपले हुनेछ भन्ने कुराको मलाई पूरा विश्वास छ।

(२०१५ साल असार अन्तिम साता रेडियो नेपालको साप्ताहिक निर्वाचन कार्यक्रममा चिफ इलेक्सन कमिस्नर कर्नेल सुवर्णशमशेर जबराको वक्तव्य त्यतिबेला निर्वाचन कमिसनले प्रकाशित गर्ने पाक्षिक पत्रिका निर्वाचन सन्देश वर्ष–१, अंक–३ बाट साभार।)

प्रकाशित: २५ कार्तिक २०७९ ११:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =