सन्दर्भ : १०८ औँ गणेशमान सिंह जन्मजयन्ती

जब ‘तँ’ भनेको अपराधमा गणेशमानले पाँच सय कोर्रा सहनुपर्‍यो

हिमाल प्रेस २४ कार्तिक २०७९ १०:५९
8
SHARES
जब ‘तँ’ भनेको अपराधमा गणेशमानले पाँच सय कोर्रा सहनुपर्‍यो

राष्ट्रको इतिहासमा कहिलेकाहीँ यस्तो शुभ घडी आउँछ, यस्तो सुदिन फर्किन्छ कि जीर्णशीर्ण भएको प्राचीन व्यवस्था बदलिन्छ र नयाँ अध्यायको सुरुवात हुन्छ। यसै अध्याय रच्नलाई युग पुरुषहरू जन्मन्छन्, प्राचीन व्यवस्थासँग जुध्छन् र जनतालाई दासत्व, दमन र शोषणबाट मुक्त गरेर नयाँ समाज निर्माणमा पथ प्रदर्शन गर्दछन्। गणेशमानजी, यस्तै हाम्रो राष्ट्रिय इतिहासको एक महापुरुष हुनुहुन्छ। उहाँले देशको सामन्ती परम्परालाई बदलेर नयाँ प्रजातान्त्रिक व्यवस्था ल्याउन राणा शासनसँग जुन संघर्ष गर्नुभो, त्यो कहानी हाम्रो समाजको एक अंग भएर प्रेरणाको मूलस्रोत भइरहेछ। जबसम्म देशमा जिउँदा मानिस रहन्छ, तबसम्म प्रजातान्त्रिक व्यवस्था यस देशमा बाँच्दछ, या जबसम्म यो देशको इतिहास लुप्त हुँदैन, तबसम्म गणेशमानजी आफ्नो बलिदानका आधारमा अमर हुनुहुन्छ।

त्यसैले उहाँको यो छोटकारी (संक्षिप्त) जीवनी हरेक देशवासी बन्धुहरूका निमित्त अत्यन्त महत्त्वको छ। यो आवश्यक छ कि यस्ता वीर महापुरुषको जीवनी पढेर या सुनेर हामीले देशको निमित्त त्यत्तिकै त्याग र तपस्या गर्न सिक्नुपर्दछ। देशलाई निर्माण गर्नुपर्दछ।

निरंकुश राणा शासन व्यवस्थालाई निर्मूल पार्न नेपाली मात्रले गरेको हरेक संघर्ष आन्दोलन र क्रान्तिमा गणेशमानजीको नाम सर्वप्रथम आउँछ र कुनै इतिहासकारले पनि त्यस क्रान्तिको इतिहास गणेशमानजीको जीवनी बिना लेख्न सक्तैन। यसरी गणेशमानजीको जीवनी र नेपालको संघर्षको इतिहास एउटै भएर गुथिएको छ। एक बिना आर्को अधुरो र अपुरो हुन्छ। यस्तो अमर व्यक्त हुनुहुन्छ श्री गणेशमानजी।

उहाँले आफ्नो जीवन यस राजनीतिक क्रान्तिमा बीस वर्षको उमेरदेखि नै चढाइदिनुभएको थियो। त्यसताका भारतमा पनि ब्रिटिस सरकारको विरुद्ध स्वतन्त्रता संग्राम चलिरहेको थियो। उपनिवेशवादी साम्राज्य व्यवस्थालाई हटाउन हरेक कोसिस र प्रयत्न भइरहेको थियो। त्यस संघर्षको लप्काले गणेशमानजीको जवान दिललाई सल्काइदियो र उहाँको अन्तरहृदयमा हाहाकार मच्चियो। आफ्नो देशमा रहेको दुव्र्यवस्था, अन्याय र दासताको विरुद्ध उहाँले त्यहीँबाट बिकूल फुक्नुभयो। उहाँको जीवनीले नयाँ मोड लियो। एउटा सम्पन्न परिवारमा हुर्केको गणेशमानजी, मृत्युसँग खेल्न, ज्यानको बाजी लगाएर क्रान्ति चेतमा ओर्लनुभयो, एउटा ठूलो सपना छातीमा बोकेर। यस्तो सपना, जसमा देशवासीहरू राणाशासनको दासताबाट सदा मुक्त हुनेछन्, प्रजातान्त्रिक व्यवस्था कायम गरेर गरिबीबाट पनि मुक्त हुनेछन् र प्रजातान्त्रिक व्यवस्था कायम गरेर गरिबीबाट पनि मुक्त पाउनेछन्, पूर्ण रूपले स्वतन्त्रता, आर्थिक समानता र भ्रातृतत्व फैलनेछ। यो थियो उहाँको सपना, यो थियो उहाँको दृढ संकल्प।

तर यस उद्देश्यलाई प्राप्ति गर्न, सानो छातीले सकिने थिएन, जसले ज्यान हत्केलामा राखेर बुद्धिमानीपूर्वक चल्न सकछ, त्यसैको मात्रै विजय सुनिश्चित छ। यसका लागि जनसमूहलाई सचेत र सफल तुल्याउनु थियो, सम्पूर्ण जनतालाई राणाशासन प्रणालीको विरुद्ध लड्न उक्साउनु थियो, क्रूरता र दमनसँग जुध्न तत्पर तुल्याउनु थियो। यो कुरा सम्भव छातीमा वीरता, मगजमा बुद्धि र हृदयमा विशालता भएको व्यक्तिबाट मात्रै हुन सक्थ्यो। त्यस्तो व्यक्ति गणेशमानजी हुनुहुन्थ्यो। जब सबै निदाउँथे, उहाँ जागा हुनुहुन्थ्यो। जब सबै साथी निराश हुन्थे, उहाँ मुस्कानले आश्वासन दिनुहुन्थ्यो। जब सबै त्रसित हुन्थे, उहाँ निर्भीकतापूर्वक अगाडि बढ्नुहुन्थ्यो। यो थियो गणेशमानको व्यक्तित्व।

१९९३ सालमा उहाँले सुरुवातको रूपमा विदेशका विभिन्न अखबारहरूमा आफ्नो देशको शासन व्यवस्था, जनताको दुर्गति र राणाशाहीको अत्याचारको विष्ययमा उहाँ र अरू साथीहरू मिली सारगर्भित विचारहरू पोखेर प्रचार गर्नुभयो र विदेशमा आफ्नो देशको जनताप्रति सहानुभूति खिच्न सक्नु भो।

१९९५ सालमा कलकत्ताबाट नेपाल फर्कनु भो र गुप्त रुपले राजनीतिक संस्था संस्थापन गरी संघर्ष गर्नको खातिर, बुद्धिजीवीहरूको संगठन ‘महावीर’ स्कुलसित सम्बन्ध स्थापित गर्नु भो। त्यसैताकादेखि नेपालमा उहाँको राजनीतिक कार्य प्रारम्भ भो। जागिर खानका लागि लाम लागेर दरबार, महल, ढोकाढोका चाकरी गर्न बसेका चाकरीबाज, बर्सेनि पजनी आउनेबित्तिकै खोसिएर भोकै मरुँला भन्ने डरले छटपटाइरहेका जागिरदार, १०/११ रुपैयाँमा ज्यान बेचिरहेका सिपाही एउटा राणाजी देख्नेबित्तिकै दब्ने साहुमहाजन, स्कुलकलेजमा पढाउँदा सरकारी विरोधी भाषण दियो भनेर पक्रला भन्ने डरले तर्सिरहेका प्रोफेसर तथा मास्टर, राणाशासन व्यवस्थाद्वारा कुल्चिएर झाडा रकम, बेठ बेगारी तिरी भोकै मरिरहेका किसान, लेख्न नपाएर छटपटाइरहेका लेखक र राणा स्तुति लेखेर जीविका गरिरहने केही कवि यो सब देखेर गणेशमानजी छटपटाउनुहुन्थ्यो र यिनै जनताको बीचमा गई प्रचार गरेर राणाविरोधी आन्दोलन गर्न तयारी गर्नुहुन्थ्यो।

त्यसपछि गुप्त रूपले नेपाल प्रजा परिषद्को त्यस बेलाको सदस्यता लिई राणाविरोधी प्रचारकार्यमा लाग्नुभो र लुकीलुकी पर्चाहरू छरेर जनतालाई सचेत गराउनुभो। सहिद गंगालाल, धर्मभक्त, दशरथ चन्द, टंकप्रसाद आचार्य उहाँका राजनीतिक मित्रहरू थिए। सिद्धिचरण, फत्तेबहादुर चिनियाँ, त्रिपुवर, गोठाले आदि लेखकगण उहाँका साथीहरू थिए। १९९७ सालको राणाशाहीको भयानक दमनको सिलसिलामा सहिद गंगालाल पक्रिएकै दिनमा उहाँ पनि समातिनुभो। राणाशासनको हरेक क्रूरतापूर्वक बर्बर अत्याचारलाई सहन गर्नुभो। कोर्राको सहस्र प्रहार, बुट जुत्ताको अमानुषिक आघात र शारीरिक कष्टलाई उहाँले झेल्नुभो। त्यसबखत सर्वस्व र आजीवन कारावासको दण्ड पाएर उहाँ कोठरीमा पर्नुभो। त्यसैबखत गंगालाल दशरथ चन्द आदि मृत्युदण्ड पाएर मारिनुभयो। सँगै बसेका त चार साथीहरूको त्यो गतले गर्दाखेरि कुन साथी त्यस्तो होला जो चैनसँग जेलमा थुनिएर बस्न सक्थ्यो? त्यसको बदला लिन कुन वीरको छातीमा आगो सल्कँदैनथ्यो? गणेशमानजी यसै जन्मभरलाई जेलमा बस्न राजी हुनुहुन्थेन कि हरबखत त्यसको प्रतिशोध लिन दाह्रा किटेर बसिरहनुभएको थियो। हररात ती सहिदहरूलाई सम्झेर आफ्नो नेल तोडी जेलबाट बाहिर निक्ली, यसको बदला लिने विचारमा तल्लीन हुनुहुन्थ्यो।

अकस्मात् पर्खाल नाघेर निस्कने उपाय उहाँका विचारमा उदय भयो। एक दिन अन्धकार रातमा दुई जना साथीहरू मिली भाग्ने निश्चय गर्नुभयो। गणेशमानजी चाहिँ त्यो ४०/५० फुट अग्लो पर्खाल नाघ्न सफल हुनुभयो, तर आर्को साथी कम्पाउन्डर चन्द्रमान डोरीमा चढ्दा चिप्लिएर भैँमा खुस्नुभो। त्यसपछि त्यो अन्धकार रातमा एक्लै गणेशमानजी सहासपूर्वक काठमाडौँ सहरभित्र पस्नुभो। एकजना साथीसँग भेटघाट गरी पश्चिम पहाडको बाटो लागेर जानुभो। उहाँको अगाडि एउटै लक्ष्य थियो, ‘स्वाधीनता’, उहाँको छातीमा एउटै कुरा सल्किरहेको थियो, ‘बदला’। सहिदको मृत्युको बदलामा जबसम्म देशलाई राणाशासनको बर्बर पन्जाबाट मुक्त गर्दिनँ, तबसम्म चैन लिने छैन भन्ने उहाँको दृढसंकल्प थियो। गोर्खाको बाटो गरेर उहाँ हिँड्नुभयो। कहिले पेटको भोकले सताउँथ्यो, कहिले तिर्खाले। कहिले वर्षाको पानीले, कहिले आँधी तूफानले। कहिले अन्धकारले। यस्तै थियो उहाँको यात्रा। अनकन्टार ठूलाठूला अजिंगर समानका पहाड, उकालो, ओह्रालो! भयानक भीर पथहीन जंगल, राणाहरूका सिआइडीहरूका आँखा जोगाई जोगाई उहाँले आफ्नो विकट यात्रा एक्लै काट्नुभयो, खोच्याउँदै लडखडाउँदै लड्दै, पड्दै, उठ्दै हिँड्दै। आखिर महिनौँ-महिनौँ दिनपछि बुटौलमा झर्नुभो। एक पुरानो साथीले उहाँलाई त्यहाँ मद्दत नगरेको भए सायद गणेशमानजीको भेद त्यहाँ खुल्थ्यो र मृत्युदण्ड पाएर सहिद हुनुहुन्थ्यो। तर देशको भाग्यले गर्दा उहाँ निर्विघ्नतापूर्वक त्यहाँबाट सजिलैसँग नौतनुवा पुग्नुभो।

नौतनवा पुग्दैमा एक क्रान्तिकारी महापुरुषको निमित्त यात्रा टुंगिएन। झन् आर्को जिम्मेवारीका साथै आर्को यात्राको प्रारम्भ भयो। के भारत भूमिमा फरार भएर बस्दैमा राणाशासनको अन्त हुन्छ? के आफ्नो रक्ष नै देशको सुरक्षा हो? एउटा वीरको निमित्त यो झन् ठूलो परीक्षा थियो। यहाँ बनारसमा आफ्ना केही मित्रहरू भेट्न जानुभयो। देवशंकरलालजीले उहाँलाई सम्पूर्ण रूपले आर्थिक मद्दतका साथै अनेक सल्लाह दिनुभयो। त्यसबाट उहाँ कलकत्ता भएर कालिङपोङ, दार्जिलिङ जानुभयो। आफ्नो महायात्राको वर्णन सुनाई त्यहाँका जनतालाई प्रभावित पार्न सक्नुभयो र यसरी त्यहाँका प्रवासी नेपालीहरूले उहाँलाई आर्थिक तथा नैतिक सहायता प्रदान गरे। महात्मा गान्धीसँगको भेटमा गान्धीजीले गुप्त रूपले केही दिन बस्ने सल्लाह दिनुभएको हुनाले उहाँलाई ‘कृष्णबहादुर प्रधान’ को उपनामले भारतमा बस्न कर लाग्यो। यसरी प्रवासी नेपालीहरूको एक संगठन गरी नेपालमा पुनः आन्दोलन चलाउने उहाँले निश्चय गर्नुभो। त्यसैबखत भारतीय जेलमा श्री विश्वेश्वरप्रसाद कोइराला आदि नेपालीहरू जो १९४२ ई.सं.को भारतीय आन्दोलनको सिलसिलामा जेल परेका थिए, छुट्नेबित्तिकै उहाँहरूसँग गणेशमानजीको कलकत्तामा भेट हुन्छ र त्यहाँ नै एउटा राजनीतिक पार्टी खोल्ने निश्चय हुन्छ। २५ जनवरी १९४७ ई.सं.मा ‘नेपाली राष्ट्रिय कांग्रेस’ को संस्थापन हुन्छ। गणेशमानजीको धेरै दिनदेखिको धोको केही मात्रामा पूरा हुन्छ र उहाँलाई यो दृढ विश्वास जस्तो हुन्छ कि अब नेपालमा परिवर्तन गर्न गाह्रो छैन। त्यस पार्टीको उहाँ प्राणजत्तिकै केन्द्र हुनुहुन्थ्यो। त्यसैले उहाँले ‘काठमाडौँ केन्द्र’ सँग निकट सम्बन्धित क्षेत्रहरूलाई आफ्नो राजनीतिक क्रियाकलापको मुख्य स्थल बनाउनुभो। उहाँको जिम्मामा बारा, पर्सा, रौतहट र काठमाडौँ परेको थियो। पार्टीको मेरुदण्डजस्तो गणेशमान रक्सौलमा हेडक्वार्टर बनाएर बसेको देख्ता एकातिर राणाशासकहरूका मुटुमा ढ्यांग्रो ठटाएझैँ भएको थियो, अर्कोतिर जनतामा हौसला, साहस र आन्दोलनको खातिर व्यग्रता पैदा भइरहेको थियो। प्रचार र संगठन कार्य जोडतोडले भइरहेको थियो। प्रत्येक नेपालीहरू पर्चाहरू बोकी काठमाडौँ आइपुग्थे र स्वाधीनताको बिकूल फुक्थे अनि गणेशमानजीको स्वरहरू काठमाडौँका हरेक गल्लीगल्लीमा हरेक घरघरमा गुँज्दथ्यो। गणेशमान राणाशाहीको निम्ति एउटा भयानक दुश्मनका रूपमा या विकराल दैत्यको रूपमा थियो, तर जनताको निम्ति ‘गणेशमान’ मुक्तिदायक मित्रका रूपमा स्नेही बन्धुका रूपमा थियो।

त्यसबखत राणाशाही जसरी भए पनि गणेशमानजीको अन्त्य चाहन्थ्यो। यसैले गणेशमानजीलाई समाउन हरेक किसिमको युक्तिहरू लगाइरहेको थियो। रक्सौलका बडेबडे मेजिस्ट्रेटहरूलाई लाखौँ रुपैयाँको घूस दिएर काम सम्पन्न गराउने कहिले चेष्टा गथ्र्यो, कहिले त्यहाँ पुलिसहरूलाई झुक्याएर समाई नेपाल सरकारलाई बुझाइदिने बन्दोबस्त गर्दथ्यो। कहिले रातमा नेपालका पुलिसहरूलाई पठाई हत्या गराउने कुचेष्टा गर्दथ्यो। थाहा थियो गणेशमानजीलाई उहाँको ज्यान लिन कति भोकाएका छन् राणाशाही भन्ने कुरा। यो पनि थाहा थियो कि अलिकति मात्र बेइमानीले उहाँको अन्त हुन सक्छ। तर निर्भीक, निडर योद्धालाई सधैँ मृत्युसँग जिस्किनु नै रमाइलो लाग्दो कुरा हुन्छ र त्यसैबाट नै प्रेरणा लिएर लक्ष्यसम्म पुग्ने साहस बटुल्दै जाने इरादा हुन्छ। त्यसबखत एकछाक खाएर भैँमा सुतेर प्रचार कार्य सम्पन्न गरिरहेको गणेशमानजीको अवस्था देख्दाखेरि हरेक नेपाली ज्यानको बाजी लगाउन तम्सन्थे। त्यस्तो बेला थियो त्यो।

विराटनगरमा आन्दोलन मच्चिन्छ। श्रमजीवीहरूमाथि गोलीको प्रहार हुन्छ। विश्वेश्वर आदि पक्रिएर पहाडको बाटो नेपाल पुर्‍याइन्छ र नेपालमा पनि उसै बखत आन्दोलन चालू हुन्छ। कैयौँ विद्याथीहरू समाइन्छन् र कैद पर्छन्। यी सबै कुराहरूले लक्ष्य नजिकिँदै जान्छ। त्यसैबखत झरोखाभित्र संगठन कार्य गर्न जाँदा राणा सरकारका सिपाहीहरूको र राजनीतिक कार्यकर्ताहरूको बीचमा गोली चल्दछ। राणा सरकारको कुचक्रले गर्दा, गणेशमानजीलाई भारतीय पुलिसहरूले ‘ज्यान मार्ने इरादा’ को भीषण आरोपमा समाएर नजिकैको जेल मोतीहारीमा लगिन्छ। राणा सरकार चाहन्थ्यो भारतले गणेशमानजीलाई ज्यानमारा भनेर नेपालमा सुम्पिदियोस् र त्यसपछि ‘मृत्युदण्ड’ दिएर गणेशमानजीको सजिलैसँग अन्त गरुँ, तर मुद्दा चल्दछ। यसै मुद्दाको सिलसिलामा उहाँका भारतीय कानुनी साथीहरूले उहाँलाई सल्लाह दिए कि आफूलाई भारतीय भनेर घोषित गर्नोस्, सजिलैसँग छुटाउन सकिन्छ हैन भने नेपालीलाई यस्तो ज्यानसम्बन्धी मुद्दामा, भारतीय सरकारले नेपाल सरकारलाई बुझाइदिनुपर्छ। तर यो कुरा उहाँलाई मञ्जुर भएन। उहाँले भन्नुभो, बरु म मारियूँ, यसमा मलाई कुनै दुःख छैन, मेरी आमा जतिसुकै कुरुप या गरिब किन नहुन् म आफ्नी आमालाई आमा नै भन्दछु र आफ्नो ज्यानै किन नजाओस्, म नेपाली हैन भन्न सक्तिनँ, केही दुःखफिक्री छैन।’ जेलमा उहाँहरूलाई ज्यानमारासरह थोत्रो खाना खुवाएर कष्टपूर्वक राखेका थिए। यसको विरोधस्वरूप चार दिन अनशन गर्नुभएकाले उहाँहरूलाई पछि अर्कैै ‘क’ दर्जामा राखियो। यसको एक महिना २२ दिनपछि श्री केदारमान व्यथित बाहेक अरु छुट्नुभयो। गणेशमानजीलाई खतम गर्न यस युक्तिमा पनि राणाहरू सफल भएनन्।

यसपछि १९५० सन्मा ‘नेपाली राष्ट्रिय कांग्रेस’ र ‘नेपाली डेमोक्रेटिक कांग्रेस’ दुवै पार्टीको ‘चाँडै नै नेपालमा क्रान्ति गर्ने’ भन्ने उद्देश्य लिएर मेल हुन्छ र त्यसपछि दुवै पार्टी विलीन भएर एउटै पार्टी बन्दछ। ‘नेपाली कांग्रेस’ जसको ‘चारोटा तारा’ भएको झन्डा प्रथमबार धरतीमा फहराउन थाल्छ। त्यसबखत कसलाई थाहा कि यो पार्टीले थोरै दिनमा नै सशस्त्र क्रान्ति गर्न मैदानमा ओर्लन्छ। त्यसबखत यो पनि कसलाई थाहा कि यसले नयाँ इतिहासको पाना रच्तछ र एक महान् जिम्मेवारीपूर्ण प्रजातान्त्रिक प्रणालीको ऐतिहासिक कदम उठाई देशमा त्यस व्यवस्थाको जग बसाल्दछ। यो कसैलाई थाहा थिएन, तर गणेशमानजीलाई थियो। त्यसबखत जब साथीहरू काठमाडौँभित्र गएर सशस्त्र क्रान्तिको भूमिका कसले तयार पार्ने? भन्ने विचार विमर्श गरिरहेका थिए। गणेशमानजीले बिस्तारै सोझै तर दृढ स्वरमा भन्नुभयो, ‘यो काम म गर्छु। म काठमाडौँमित्र पस्तछु र हिंसात्मक आन्दोलनका सुरुवात गर्ने संगठन गर्दछु। यसको जिम्मा मेरो भयो।’ तर कांग्रेसका साथीहरू चाहँदैनथे कि गणेशमानजीलाई पठाऊँ। उहाँलाई पहिले नै मृत्युदण्डको फैसला भइसकेको थियो। समातिनेबित्तिकै राणा सरकारले जिउँदै भुटिदिन्थे। तर गणेशमानजीको बानी यस्तो थियो कि बरु प्राण जाओस्, वचन नजाओस्। आफ्नो इरादाबाट उहाँ डगमगाउनु भएन। आखिर २००७ साल श्रावण महिनाको वर्षा ऋतुमा सीतामढीको बाटो गरी बनेपा भई उहाँ काठमाडौँ उत्रनुभयो। श्री तोरणशमशेर आदि सेनाका ठूलाठूला मानिसहरूलाई उहाँले आफ्नो पक्षमा लिनुभयो र अधिकांश काठमाडौँवासीहरूले उहाँलाई सहायता गर्ने वचन दिए। यसरी सशस्त्र क्रान्तिको नयाँ भूमिका तयार हुँदै थियो। फौजहरू राणाशाही विरोधी हुँदै थिए र हजारौँ जनता यसको उन्मूलनमा तत्पर थिएर तर अचानक राणाका सिआइडीले यो कुरा पत्तो पाए। श्री तोरणशमशेर लगायत कैयन् जना पक्रिए। तर पनि त्यसबखत गणेशमानजीलाई राणा सरकारले समाउन समर्थ भएन। तीन चार दिनसम्म गणेशमानजीले पशुपतिको जंगलमा बिताउनुभयो। सहरभरि आतंक र हाहाकार मच्चिएको थियो। राणा सरकारको खुंखार पन्जाले जनतालाई नंग्याउँदै थियो। यस वातावरणमा केही परिवर्तन नआई संगठन हुने नदेखेर गणेशमानजी केही दिनपछि फर्की आउने इरादानमा भारत जाने दाउले पुनः काठमाडौँबाट निस्कनुभयो। चितौनको जंगल पार गरी भारतीय सिमाना केही गजमात्र बाँकी छँदाखेरि उहाँ ठोडीमा एउटा पसलमा थकाइ मेट्न मात्र लाग्नुभएको थियो, अचानक गणेशमानजीलाई पुलिसले चिन्यो। त्यहीँ पक्रिनुभयो। वीरगन्जको बाटो उहाँलाई काठमाडौँ ल्याइयो। मोहनशमशेरको दरबार ‘सिंहदरबार’ मा उहाँ थुनिनुभयो र अमानुषिक अत्याचारको सिकार बन्नुभो। सयकडौँ कोर्राले अंगप्रत्यंग छियाछिया भयो, रगतको धारो छुट्यो। पानी माग्दा बुटजुत्ताको मुखमा प्रहार भो। मूच्र्छैमूच्र्छामा उहाँको अंगमा कति कोर्राहरू बस्र्यो, उहाँलाई थाहा थिएन। एकचोटि आफ्नो आत्मसम्मानको रक्षामा उहाँले हरिशमशेरलाई ‘तँ’ समेत सम्बोधन गर्नुपरेको थियो। त्यस ‘तँ’ को अपराधमा गणेशमानजीमाथि पाँच सय कोर्राको प्रचण्ड प्रहार भयो। यो थियो राणा शासन र शक्तिशाली राणाहरूको रूप।

गणेशमानजी लगायत जम्मा ११ जवानलाई मृत्युदण्ड दिन, लालमोहरको खातिर स्वर्गवासी श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम कहाँ फैसलापत्र लगिएको थियो। तर स्वर्गवासी त्रिभुवनबाट त्यसमा लालमोहर इन्कार हुन गयो। स्वर्गवासी श्री ५ त्रिभुवन सपरिवार भारतीय दूतावासमा शरण लिन सवारी भएकाले राजनीतिक वातावरण नै बदलियो र ‘नेपाली कांग्रेस’ ले सशस्त्र क्रान्ति पनि छेडिदिइहाल्यो। लडाइँ सुरु भयो। क्रान्ति मच्चियो। यदि यसरी घटनाको रूप नबदलिएको भए, त्यसबखत २००७ साल भाइटीकाको भोलिपल्ट गणेशमानजी गोली या डोरीबाट परलोक हिँडिसक्नुभएको हुन्थ्यो या क्रान्ति मात्र सफल भएको नभए, सायद कति जना युवकहरू जेलको जेलै सडिरहेका हुन्थे या मारिइसकेका हुन्थे।

गणेशमाजनीलाई राणा सरकारले पछि मार्ने हिम्मत गर्न सकेन किनकि जनताको बुलन्द आवाज उहाँको पछाडि थियो। त्यत्रो क्रान्ति मच्चिइरहेको थियो। उहाँको त्यत्रो बलिदानलाई लिएर, यसरी मारिँदामारिँदै दोस्रो जन्म लिएझैँ गणेशमान हाम्रो बीचमा अझ जीवितै हुनुहुन्छ। यसरी जीवित देख्न पाउनु नेपालीको अहोभाग्य हो।

क्रान्तिपश्चात् सम्झौतापछि गणेशमानजीलाई आखिरमा राणा सरकारले छोड्नुपर्‍यो- बहुतै वीरतासाथ। फागुन ४ गते २००७ सालमा उहाँ फेरि मुक्त भएकार जनताको माझमा आउनुभयो।

यो हो उहाँको संक्षिप्त जीवनी। कष्ट र जलन, पीडा र तपनबाट उहाँको जीवनी खरा भएर उत्रेको छ, संसारका सम्पूर्ण परीक्षाबाट उत्तीर्ण हुने व्यक्तिहरू कमै हुन्छन्। त्यसमा पनि विशिष्टता लिएर उत्रने व्यक्ति त झन् कम हुन्छ- गणेशमानजी त्यस्तै एक व्यक्ति हुनुहुन्छ। नेपालीको वीरपुरुषहरूका पंक्तिमा एउटा महान् पुरुषार्थवान् वीरका रूपमा।

यही व्यक्ति, गणेशमानजी आज २०१५ साल फागुन ७ गते भएको चुनावमा एक नम्बर क्षेत्रबाट नेपाली कांग्रेसको टिकटले उम्मेदवारका रूपमा खडा हुनुभएर आज उहाँलाई काठमाडौँका नागरिकहरूले आफ्ना विजयी जनप्रतिनिधि रूपमा चुनेर पठाएका छन्।

[‘काठमाडौँका हाम्रा विजयी जनप्रतिनिधि श्री गणेशमान सिंहको संक्षिप्त जीवनी’ शीर्षकमा प्रकाशित यो सामग्री २०१५ फागुनको ‘जनचेतना’ पाक्षिकबाट साभार गरिएको हो।]

प्रकाशित: २४ कार्तिक २०७९ १०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =