इतिहासमा निर्वाचन : १२

अहिलेको मतदाता शिक्षा, उहिलेको निर्वाचन प्रदर्शन

सन्तोष खडेरी २४ कार्तिक २०७९ १०:५६
अहिलेको मतदाता शिक्षा, उहिलेको निर्वाचन प्रदर्शन

काठमाडौँ- आगामी मंसिर ४ मा हुने चुनावका लागि जसरी अहिले मतदाता शिक्षा दिइँदै छ, त्यसैगरी २०१५ सालमा सम्पन्न पहिलो आमनिर्वाचनमा पनि सर्वसाधारणलाई निर्वाचनबारे जानकारी गराइएको थियो।

उतिबेला आयोजना गर्ने सचेतना कार्यक्रमसहित निर्वाचनसम्बन्धी जानकारी र अभ्यासलाई निर्वाचन प्रदर्शन भनिन्थ्यो।

निर्वाचन आयोगको प्रचार विभागद्वारा २०१५ असार १ देखि नै ‘निर्वाचन सन्देश’ नामक पाक्षिक पत्रिका प्रकाशित गरियो।

२०१४ सालदेखि नै जिल्ला–जिल्लामा त्यस्ता निर्वाचन प्रदर्शन कार्यक्रम आयोजना गरिएका थिए।

जनतालाई मतदानको तरिका, निर्वाचनको महत्त्व बुझाउन निर्वाचन आयोगले २०१५ असार ११ मा सुन्दरीजलनजिकै नयाँपाटी भन्ने ठाउँमा निर्वाचन प्रदर्शन कार्यक्रम आयोजना गरेको थियो।

उक्त प्रदर्शन चिफ इलेक्सन कमिसनर कर्नेल सुवर्णशमशेरको निरीक्षणमा अन्य इलेक्सन कमिसनर तथा कमिसनका कर्मचारीबाट गराइएको थियो। जुन प्रदर्शनमा स्थानीयले उत्सुकतासाथ भाग लिएका थिए।

असार २८ मा निर्वाचन आयोगले चाबहिलको मित्रमण्डलको चौरमा त्यस्तै अर्को निर्वाचन प्रदर्शन कार्यक्रम आयोजना गरेको थियो। त्यहाँ पनि स्थानीयको सहभागिता उल्लेखनीय थियो। त्यसमा नवनियुक्त निर्वाचन अफिसरले समेत सहभागी भएर बडो चासोका साथ निर्वाचनको जानकारी लिएका थिए।

२०१५ असार २८ मा काठमाडौँ उपत्यका र चिसापानीमा गरी पाँचवटा ठाउँमा निर्वाचन प्रदर्शन कार्यक्रम भइसकेको थियो।

निर्वाचनको तयारीका लागि चिफ इलेक्सन कमिसनर कर्नेल सुवर्णशमशेर, इलेक्सन कमिसनरहरू प्रद्युम्नलाल राजभण्डारी र वज्रकान्त ठाकुरले समेत नेपालका विभिन्न क्षेत्रको भ्रमण गरेका थिए।

२०१५ साउनमा चिफ इलेक्सन कमिसनर सुवर्णशमशेरले विराटनगर, इलाम, धनकुटामा र कमिसनर राजभण्डारीले पोखरा, स्याङ्जा, तौलिहवा, पाल्पा, भैरहवामा र अर्का कमिसनर ठाकुरले चिसापानी, वीरगन्ज, रौतहट, सर्लाही, महोत्तरी, सप्तरी यात्रा गरेका थिए।

इलेक्सन कमिसनर प्रद्युम्नलाल राजभण्डारीको तौलिहवा भ्रमणका क्रममा साउन २५ मा त्यहाँ निर्वाचन प्रदर्शन गरिएको थियो। सरकारी कर्मचारी र स्थानीयलाई निर्वाचनको महत्त्व र मतदानको तरिका बुझाउन सो निर्वाचन प्रदर्शन आयोजना गरिएको थियो।

कमिसनर राजभण्डारीले उक्त निर्वाचन प्रदर्शनमा सहभागी भई सहयोग गरिदिन सबै राजनीतिक पार्टीका प्रतिनिधिलाई आमन्त्रण गरेका थिए। जिल्ला बडाहाकिम, अन्य सरकारी कर्मचारी, राजनीतिक पार्टीका कार्यकर्ता र धेरै जनताको उपस्थितिमा त्यहाँ निर्वाचन प्रदर्शन भएको थियो।

त्यही बेला मतदाता सूची प्रकाशित भएको थियो। त्यसबारे र सम्पूर्ण निर्वाचन प्रक्रिया साथसाथै मतदानसम्बन्धी सम्पूर्ण जानकारीसमेत प्रदान गरिएको थियो। भैरहवामा समेत त्यस्तै किसिमले निर्वाचन प्रदर्शन कार्यक्रम गरिएको थियो।

सोही भदौमा हेमगंगा मिडिल स्कुल, पूर्व २ नम्बर साँघुटार बजारमा निर्वाचनसम्बन्धी नाटक प्रदर्शन गरिएको थियो। निर्वाचन भनेको के हो? निर्वाचन कसरी हुन्छ? इत्यादि निर्वाचनसम्बन्धी विभिन्न कुरा दर्शाउने खालको नाटक त्यहाँ प्रदर्शन गरिएको थियो।

त्यसैगरी भदौमा बारा, पर्सा, रौतहट लगायतमा निर्वाचन प्रदर्शन भएको थियो। बाराको कलैयामा दिउँसो २ बजे सुरु भएको प्रदर्शन कार्यक्रम बेलुकी ७ बजेसम्म चलेको थियो। त्यहाँ पनि स्थानीय जनताको उत्साहपूर्ण सहभागिता थियो।

भदौ १३, १४ र १५ मा बागलुङका विभिन्न इलाकामा गाउँगाउँका प्रतिनिधिलाई एकत्रित गरी बागलुङ छोटी गौँडाद्वारा निर्वाचन प्रदर्शन कार्यक्रम गरिएको थियो।

त्यस क्रममा त्यहाँ नमुना मतदान गराएर चुनावको प्रदर्शन गरिएको थियो। त्यस नमुना चुनावमा स्थानीय महिलाहरूको समेत उल्लेख्य सहभागिता थियो।

भदौ २३ मा चिसापानी हेटौँडामा समेत बडाहाकिम लोकजंगजीको उपस्थितिमा निर्वाचन कार्यक्रम प्रदर्शन भएको थियो। भदौ २८ मा पूर्वी नेपालको इलाममा समेत बडाहाकिम सन्तवीरको उपस्थितिमा निर्वाचन प्रदर्शन गरिएको थियो।

त्यसैगरी सोही असोजमा धनकुटाको टुँडिखेल र शुक्रबारेहाटमा निर्वाचन प्रदर्शन कार्यक्रम भएको थियो। त्यहाँ निर्वाचन अफिसर युवराज पन्थीले सो कामको अगुवाइ गरेका थिए। कार्यक्रममा बडाहाकिमसमेत उपस्थित थिए। त्यसमा स्कुल–कलेजका शिक्षकसहित स्थानीयको समेत व्यापक सहभागिता थियो।

असोजमै पूर्व १ नम्बर काभ्रेको पनौतीमा निर्वाचन प्रदर्शन गरियो। पश्चिम ४ नम्बरमा पनि निर्वाचन प्रदर्शन भयो। त्यहाँ पनि निर्वाचन र मतदानसम्बन्धी विभिन्न जानकारी दिइएको थियो।

सप्तरी राजविराजमा पनि निर्वाचन प्रर्दशन भयो। पश्चिम २ नम्बर गोरखा १०४ नम्बर निर्वाचन क्षेत्रका २० ठाउँमा प्रदर्शन भएको थियो। त्यस्तै, जलेश्वर र पाल्पामा पनि त्यस्तै किसिमका निर्वाचन प्रदर्शन भएका थिए।

पूर्व १ नम्बरमा निर्वाचन नाटक प्रदर्शन गरिएको थियो। निर्वाचन कमिसनर रुद्रराज पाण्डेद्वारा लिखित नाटक त्यहाँ प्रदर्शन गरिएको थियो। बनेपामा बनेपाकै २७ गाउँका साथै भमरकोट, धुलिखेल, खडप, पनौती, मण्डल, काभ्रे, सांगार, नाला स्थान गरी करिब छ हजार मान्छे नाटक हेर्न जम्मा भएका थिए।

त्यस दिन शनिबार गोकर्णमा मेला लाग्ने हुँदा त्यहाँबाट फर्किएका अन्य मानिससमेत त्यहाँ थिए। आठ हजारभन्दा बढी मान्छेले त्यो नाटक हेरेका थिए। सल्यानमा समेत निर्वाचन प्रदर्शन भएको थियो।

सोही असोज २९ मा दाङ घोराहीमा निर्वाचन प्रदर्शन गरियो। दाङका जनताले निकै चाख देखाएका थिए। स्थानीय अड्डाका कर्मचारी र विद्यार्थीले पनि उक्त प्रदर्शनमा सहयोग गरेका थिए।

त्यस्तै कात्तिक १६ मा पश्चिम २ नम्बर गोर्खाको टुँडिखेलमा  निर्वाचन प्रदर्शन कार्यक्रम भएको थियो।

त्यही मंसिरमा पश्चिम ४ नम्बर नुवाकोटमा पनि आमनिर्वाचनबारे जानकारी दिन नाटक प्रदर्शन गरियो। नाटकको नाम ‘योग्य उम्मेदवार’ राखिएको थियो।

मंसिर २९ मा बाला चतुर्दशीको दिन स्थानीय हलेश्वर महादेवको स्थानमा, मंसिर १२ मा संखुवासभा खाँदबारीमा निर्वाचन प्रदर्शन भएको थियो। चिफ कमिसनर कर्नेल सुवर्णशमशेरले सप्तरी राजविराज, डोटी, डडेल्धुरालगायत ठाउँ भ्रमण गरेका थिए।

त्यसै पुस महिनाभर पूर्व १ नम्बरका विभिन्न स्थानमा निर्वाचन प्रदर्शन भए। पूर्व १ नम्बरका ८, ९ र १० नम्बर निर्वाचन क्षेत्रका ढुंगखर्क, दाप्चा, मंगलटारमा प्रदर्शन भएको थियो। त्यस्तै जुम्ला, इलाम, धनकुटालगायत अन्य स्थानमा पनि निर्वाचन प्रदर्शन भएको थियो।

प्रकाशित: २४ कार्तिक २०७९ १०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =