मन्त्री हराएर संसद् छिर्नेहरू

केशव राना क्षेत्री ११ मंसिर २०७९ १२:३०
362
SHARES
मन्त्री हराएर संसद् छिर्नेहरू

काठमाडौँ- प्रतिनिधिसभाको प्रत्यक्षतर्फ हालसम्म ६ बहालवाला मन्त्रीले पराजय भोगेका छन्। पराजित हुनेमा गृहमन्त्री बालकृष्ण खाणदेखि राज्यमन्त्री उमेश श्रेष्ठसम्म छन्।

रुपन्देही ३ मा गृहमन्त्री खाणलाई हराउँदै दीपक बोहरा निर्वाचित भएका छन्। उनले ३६ हजार ६४८ मत ल्याउँदा खाणले ३४ हजार ४ मत ल्याए।

सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चा नेपालको समर्थन रहे पनि गृहमन्त्री खाणका लागि पञ्चायत पृष्ठभूमिका बोहरासामु केही चलेन। राप्रपाका बोहरालाई भने एमालेको समर्थन थियो।

राजनीतिमा अनुभवी बोहराको संसदीय यात्रा २०३६ सालपछि भएको हो। उनी दुई पटक राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए। २०७० सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका बोहरा पटकपटक मन्त्री भएका छन्।

२०३८ सालमा पर्यटन राज्यमन्त्री भएका उनी २०४३ सालमा पनि निर्माण तथा यातायात राज्यमन्त्री भएका थिए। यसपछि उनले आपूर्ति मन्त्री, स्वास्थ्यमन्त्री, श्रम तथा रोजगार मन्त्री, वन तथा भूसंरक्षणमन्त्रीको  जिम्मेवारी सम्हालिसकेका छन्।

घरदैलोका क्रममा मतदातासँग दोहोरो कुराकानी नगरे पनि बोहरालाई मतदाताले पत्याएका छन्। पोस्ट कोभिडका कारण समस्या देखिएपछि उनी चिकित्सकको सल्लाहमा ‘भ्वाइस रेस्ट’ मा छन्। उनले कुनै चुनावी सभामा सम्बोधन पनि गरेका थिएनन्।

प्रतिनिधिसभा सदस्यमा ऊर्जामन्त्री पम्फा भुसाल पनि पराजित भइन्। ललितपुर ३ बाट उम्मेदवार बनेकी उनलाई पनि गठबन्धनको साथ थियो।

कांग्रेस र एकीकृत समाजवादीको साथ पाए पनि उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले हराएकी हुन्। कार्की ३१ हजार १३६ मत ल्याएर विजयी भइन्। उनका प्रतिद्वन्द्वी एमालेका अमृत खड्काले १२ हजार ९६३ मत ल्याएका थिए भने मन्त्री भुसाल ८ हजार ७६९ मतका साथ तेस्रो स्थानमा खुम्चिनुपरेको छ।

भुसाल वर्षौँ राजनीतिमा संघर्ष गरेकी नेत्री हुन्। सशस्त्र युद्धमै केन्द्रीय भूमिकामा रहेकी उनले पटकपटक सत्ता र सिंहदरबारको यात्रा गरिसकेकी छन्।

कार्की पाटन अस्पतालमा चिकित्सक जनरल सर्जन छिन्। काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स तोसिमा नेपाल मेडिकल काउन्सिलको केन्द्रीय सदस्यमा पनि निर्वाचित भएकी थिइन्।

सामाजिक न्याय, स्वास्थ्य र भ्रष्टाचारविरुद्धका आन्दोलनमा सक्रिय उनले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीको अभियानमा पनि साथ दिँदै आएकी छन्।

काठमाडौँ क्षेत्र ८ मा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ पराजित भए। त्यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले मन्त्री श्रेष्ठलाई पराजित गरेका हुन्। विराजभक्तले १० हजार १०५ मत ल्याउँदा मन्त्री श्रेष्ठले ४ हजार १७७ मत मात्रै ल्याए।

विराजभक्त यसअघि साझा विवेकशील पार्टीका तर्फबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। वातावरण र सम्पदा संरक्षणमा विशेष जोड दिँदै आएका उनी प्रदेशसभामा सक्रिय सांसदका रूपमा चिनिन्थे।

मन्त्री श्रेष्ठले अघिल्लो चुनावमा नेपालीका कांग्रेसका नवीन्द्रराज जोशीलाई हराएका थिए। त्यति बेला पनि उनी वामगठबन्धनबाटै मैदानमा थिए। श्रेष्ठ खेलकुद पृष्ठभूमिबाट राजनीतिमा लागेका व्यक्तित्व हुन्। उनले दुई कार्यकाल राष्ट्रिय खेलकुद परिषद्मा सदस्य सचिवको जिम्मेवारी सम्हालेका छन्।

खेलकुदमन्त्री महेश्वर गहतराज अथकले पनि पराजयको सामना गर्नुपर्‍यो। बाँके क्षेत्र नं. १ मा एमालेका सूर्य ढकालले ५ हजार ३९४ मतान्तरले मन्त्री गहतराजलाई हराएका हुन्।

ढकालले २५ हजार २६ मत ल्याउँदा मन्त्री गहतराजले १९ हजार ६३२ मत ल्याए।

२०४३ सालदेखि राजनीतिक दलमा आबद्ध भएका अथक पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका व्यक्तित्व हुन्। माओवादी विद्रोहमा पनि सक्रिय सहभागी भएर योगदान दिएका उनी हाल पाटी स्थायी कमिटी सदस्य छन्।

२०४५ देखि राजनीतिमा सक्रिय सूर्य ढकाल पहिलोपटक संसद्मा निर्वाचित भएका हुन्। ढकालले पार्टी कमिटीतर्फ गाउँ कमिटी सचिव, जिल्ला सदस्य, क्षेत्रीय कमिटी संयोजक, इन्चार्ज, जिल्ला अध्यक्ष, प्रदेश कमिटी सचिवालय सदस्यसम्मको जिम्मेवारीमा रहेर काम गरेका छन्। ढकाल अहिले एमाले केन्द्रीय कमिटी सदस्यका साथै बाँके इन्चार्ज हुन्।

यस्तै बारा १ मा खानेपानीमन्त्री उमाकान्त चौधरी पराजित भएका छन्। उनलाई एमालेका अच्युतप्रसाद मैनालीले पराजित गरेका हुन्। नेपाली कांग्रेसका सहमहामन्त्री चौधरीसँग मैनालीले अघिल्लो चुनावको बदला लिएका हुन्।

मैनालीले ३९ हजार १९५ मत ल्याएर निर्वाचित भए। मन्त्री चौधरीले ३० हजार ५६ मत ल्याएका थिए। २०७४ सालको निर्वाचनमा चौधरीले मैनालीलाई सोही क्षेत्रबाट पराजित गरेका थिए। उक्त निर्वाचनमा चौधरी २४ हजार ४५० मतसहित निर्वाचित हुँदा मैनालीले २२ हजार ३० मत पाएका थिए।

२०७४ सालमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको जनसम्पर्क सल्लाहकार भएका काम गरेका थिए। २०३६ सालदेखि राजनीतिमा आबद्ध उनी ओलीका विश्वासिला पात्रमध्ये एक मानिन्छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठ चितवन क्षेत्र नं. २ बाट चुनाव लडेका थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फराकिलो मतान्तरले पराजित गरे।

लामिछानेले ४९ हजार २६४ मत ल्याउँदा राज्यमन्त्री श्रेष्ठले जम्मा १४ हजार ९८३ मत ल्याए। टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रूपमा पहिचान बनाएका लामिछानेकै अगुवाइमा गत असारमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको हो।

२०५० को दशकमा रेडियोमा कार्यक्रम प्रस्तोताका रूपमा सञ्चार क्षेत्रमा लागेका लामिछाने केही वर्ष अमेरिका बसेका थिए। स्वदेश फर्किएर टेलिभिजन कार्यक्रम प्रस्तोता भएका उनीसँग पार्टी संगठनमा काम गरेको अनुभव छैन।

जो मन्त्रीसँग हारे

निर्वाचनमा बहालवाला ६ मन्त्री भने निर्वाचित भएका छन्। विजयी हुनेमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, श्रममन्त्री शेरबहादुर कुँवर, उद्योगमन्त्री दीलेन्द्रप्रसाद बडू, सहरी विकासमन्त्री मेटमणि चौधरी, शिक्षामन्त्री देवेन्द्र पौडेल हुन्।

कांग्रेस सभापति देउवाले डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार सागर ढकाललाई हराएका हुन्। देउवाले २५ हजार ५३४ मत ल्याउँदा ढकालले १३ हजार ४२ मत ल्याएका थिए।

रुकुम पश्चिमबाट चुनाव लडेका अर्थमन्त्री शर्माले एमालेका नन्दराम देवकोटालाई पराजित गरेका हुन्। माओवादीका शर्माले ३९ हजार ५४९ मत ल्याउँदा देवकोटा १२ हजार ९६१ मतमा सीमित भएका छन्।

श्रममन्त्री कुँवरले अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेका झपटबहादुर बोहरालाई हराएका हुन्। नेकपा एकीकृत समाजवादीका कुँवरले १९ हजार ५३४ मत ल्याएका छन् भने बोहराले १५ हजार ४५ मत ल्याए।

उद्योगमन्त्री बडूले दार्चुलाबाट एमालेका गणेशसिंह ठगुन्नालाई दुई हजार १३४ मतले हराएका हुन्। कांग्रेसका बडूको २८ हजार ५१५ मत आएको छ भने ठगुन्नाको २६ हजार ३८१ मत छ।

सहरी विकासमन्त्री मेटमणि चौधरीले एमालेकी शान्ता चौधरीलाई पाँच हजार ८४ मतान्तरले हराएका छन्। एकीकृत समाजवादीबाट चुनाव लडेका मेटमणिले २६ हजार ५६३ मत ल्याएर चुनाव जित्दा शान्ताले २१ हजार ४७९ मत ल्याएकी छन्।

शिक्षामन्त्री देवेन्द्र पौडेलले एमालेकी मञ्जु शर्मालाई पराजित गरेका हुन्। बागलुङ–२ बाट माओवादीका पौडेलले २४ हजार ७७९ मत ल्याई विजयी हुँदा शर्माले २० हजार १८० मत ल्याएकी छन्।

जारी मतगणनामा दुई मन्त्रीले अग्रता लिइरहेका छन्। जारी मतगणनामा उदयपुर १ मा परराष्ट्रमन्त्री डा. नारायण खड्काले अग्रता लिइरहेका छन्। सुनसरी ४ मा भने सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले झिनो मतले अग्रता लिएका छन्।

प्रकाशित: ११ मंसिर २०७९ १२:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − five =